रणनीतिक सडकमै बजेट अभाव, ठेक्काको काम सुस्त

लुम्बिनी र गण्डकीका पाँच जिल्ला जोड्दै १० पालिका समेटेको सालझन्डी–सन्धिखर्क–ढोरपाटन सडकमा सधैं न्यून बजेट दिने गरिएको गुनासो छ।

भाद्र १९, २०८२

सन्तोष महतारा

Lack of budget on strategic roads, slow contract work

What you should know

गुल्मी — दुई प्रदेशका पाँच जिल्ला जोड्दै तराई र पहाडका १० पालिकालाई समेट्ने रणनीतिक महत्त्वको ‘सालझन्डी–सन्धिखर्क–ढोरपाटन’ सडक न्यून बजेट हुँदा अपेक्षाकृत प्रगति हुन सकेको छैन । योजना सम्पन्न गर्ने लक्ष्यअनुसार समय सकिन दुई वर्ष मात्रै बाँकी भए पनि बजेट ज्यादै न्यून विनियोजन हुँदा यसको प्रगति कछुवा गतिमा छ । 

लुम्बिनीको रूपन्देहीमा पाँच, पाल्पामा १७.७, अर्घाखाँचीमा ७३, गुल्मीमा ४० र गण्डकी प्रदेशको बागलुङमा ६१.५ गरी जम्मा १ सय ९७.२ किलोमिटर सडक कालोपत्र गर्ने गरी यो योजना आर्थिक वर्ष २०६६/६७ मा सुरु भएको थियो । यसअनुसार यस सडक खण्डमा हाल आठ वटा ठेक्कामार्फत काम भइरहेको सालझन्डी सन्धिखर्क ढोरपाटन सडक योजनाका योजना प्रमुख इन्जिनियर गागलबहादुर भण्डारीले बताए ।

रूपन्देहीको कञ्चनखोलादेखि पाल्पाको खुर्सानेसम्म १३.४४ किलोमिटर सडक निर्माणका लागि २०८० जेठ २० मा रमण/ओम/सुगम जेभीले २०८३ जेठ २५ मा काम सक्ने गरी निर्माणको जिम्मा लिएको छ । यसको भौतिक प्रगति ४१ प्रतिशत छ । यस क्षेत्रमा नाली, सब बेस, बेस र कल्भर्ट निर्माणका काम छन् । पाल्पाको खुर्सानेदेखि अर्घाखाँचीको पटौतीसम्म २२ किलोमिटर सडक निर्माणका लागि २०७९ पुस १७ मा थोदुङ/पिकेले २०८२ पुस १६ मा सक्ने गरी जिम्मा पाएको छ । यसको भौतिक प्रगति ६७ प्रतिशत छ । 

यस क्षेत्रमा नाली सब बेस, ढलान, कालोपत्र र कल्भर्ट निर्माणका काम छन् । अर्घाखाँचीको माटेदेखि भडारा र गुल्मीको पुर्कोटदहदेखि सिर्सेनीसम्म २६.२ किलोमिटर सडक निर्माणका लागि २०८० असार ८ मा बिरुवा पुष्पा जेभीले २०८३ असार ७ मा सक्ने गरी जिम्मा पाएको छ, जसको भौतिक प्रगति ५० प्रतिशत छ । यस क्षेत्रमा नाली, सब बेस, ढलान, कालोपत्र र कल्भर्ट निर्माणका काम छन् । 

गुल्मीको सिर्सेनीदेखि अर्खबाङ हुँदै गंगरेसम्म ८.३ किलोमिटर सडक निर्माणका लागि २०८१ कात्तिक ७ मा ब्राइट/हिमाल/एमएम जेभीले २०८४ कात्तिक ७ मा सक्ने गरी जिम्मा पाएको छ । यसको २५ प्रतिशत प्रगति भएको छ । यस क्षेत्रमा सडक चौडा, कल्भर्ट निर्माण र स्ट्रक्चर निर्माणका काम छन् । बागलुङको बुर्तिवाङदेखि फल्लेघरसम्म २२ किलोमिटर सडक निर्माणका लागि २०७८ कात्तिक ५ मा स्वच्छन्द/ओमबुद्ध जेभीले २०८१ वैशाख ४ मा सक्ने गरी जिम्मा पाएको थियो । 

२०८३ जेठ २५ सम्म म्याद थपिएको यस खण्डको प्रगति ६२ प्रतिशत छ । यस क्षेत्रमा स्ट्रक्चर निर्माणका काम छन् । गत आर्थिक वर्षमा यस क्षेत्रका तीन खण्डमा बहुवर्षीय ठेक्कामार्फत काम सुरु भएको योजना कार्यालयले जनाएको छ । यसमा अर्घाखाँचीको पटौतीदेखि बलेबाङ, गुल्मीको सिर्सेनीदेखि गंगरे र बागलुङको फल्लेघरदेखि देउराली छ । अन्य निकायमार्फत १४.७ किलोमिटर सडक निर्माणाधीन रहेको सालझन्डी सन्धिखर्क ढोरपाटन सडक योजनाका योजना प्रमुख इन्जिनियर गागलबहादुर भण्डारीले जनाए । त्यसबाहेक कार्यालयमार्फत १८२.५ किलोमिटर सडक छ । जसमा २२.५ किलोमिटर सडक मात्रै पक्की बनेको छ । 

यस खण्डमा ८१.०४ किलोमिटर सडक खण्डमा ठेक्का लागेको छ । अझै पनि ८३.४६ किलोमिटर सडक खण्डमा ठेक्का लगाउन बाँकी रहेको योजना प्रमुख भण्डारीले बताए । यस योजनाअन्तर्गत जम्मा ७ खण्डमा पुल बन्नुपर्नेमा ५ वटा पुल निर्माण भइसकेका छन् । आर्थिक वर्ष २०८१/८२ सम्म यस सडक खण्डको भौतिक प्रगति ३७ प्रतिशत छ । आर्थिक वर्ष २०८१/८२ मा ९२ करोड ९२ लाख सडक निर्माण र २ करोड ८० लाख क्षतिपूर्तिमा खर्च भएको छ । यसअनुसार यस वर्षका लागि ५ करोड ८६ लाख दायित्वका रूपमा छ ।

चालु आर्थिक वर्षमा पनि यसतर्फ जम्मा ३९ करोड १० लाख रुपैयाँ बजेट छ । यस योजनालाई पूर्ण रूपमा सक्न १२ अर्ब रुपैयाँ लाग्ने अनुमान भए पनि बजेट न्यून मात्रै विनियोजन हुने गरेको छ । हालसम्म चार अर्ब रुपैयाँको काम भएको छ । अझै आठ अर्ब रुपैयाँको काम बाँकी छ । यस्तै गतिमा बजेट विनियोजन भए योजना पूर्ण रूपमा सकिन २० वर्ष लाग्ने सालझन्डी सन्धिखर्क ढोरपाटन सडक योजनाका योजना प्रमुख इन्जिनियर गागलबहादुर भण्डारीले बताए । ‘बजेट यस्तै गतिमा विनियोजन भयो भने योजना सकिन २० वर्ष लाग्छ,’ उनले भने, ‘आवश्यकताअनुसार बजेट भए ६ वर्षमा सक्न सकिन्छ ।’ बजेट थप गर्न तीनै तहका सरकारबाट पहल आवश्यक रहेको उनले जनाए । 

ट्र्याक खोलेर छाडेको ठाउँमा पहिरो जाँदा सडक अवरुद्ध भइरहेकाले यसलाई समाधान गर्न योजना कार्यालयलाई मालिका गाउँपालिका उपाध्यक्ष उपेन्द्र अर्यालले आग्रह गरे । ठेक्का लागेका ठाउँमा काम तीव्र बनाउन लाग्नुपर्नेमा उनले जोड दिए । निरन्तरको पहलले मुख्य गरी पुर्कोटदह बजारसहितका घरलाई क्षतिपूर्ति दिलाउन सकिएको मदाने गाउँपालिका अध्यक्ष महेन्द्रबहादुर कुँवरको भनाइ छ ।

‘यस सडक खण्डबाट हाम्रा गाउँबस्तीले धेरै सपना पूरा हुने अपेक्षा गरेका छौं,’ उनले भने, ‘यसका प्रदेश र संघीय सरकार गम्भीर भएर काम तीव्र बनाउनुपर्छ ।’ आफ्ना क्षेत्रमा हुने समस्या समाधानका लागि पहल गर्ने उनले जनाए । यस सडक योजनाले लुम्बिनी प्रदेश र गण्डकी प्रदशका रूपन्देही, पाल्पा, अर्घाखाँची, गुल्मी र बागलुङलाई जोडेको छ । यसमा सैनामैना नगरपालिका, रैनादेवी छहरा गाउँपालिका, पाणिनी गाउँपालिका, सन्धिखर्क नगरपालिका, मालारानी गाउँपालिका, मदाने गाउँपालिका, मालिका गाउँपालिका, बडिगाड गाउँपालिका, निसीखोला गाउँपालिका र ढोरपाटन नगरपालिकालाई समेटेको छ ।

सन्तोष महतारा

Link copied successfully