दसैंको मुखमा दैनिक दर्जनौं कन्टेनर मालवस्तु आयात हुनुपर्नेमा तातोपानी भन्सार यतिबेला सुनसान जस्तै भएको छ ।
What you should know
काठमाडौँ — बाढीका कारण गत असार २४ गते रसुवागढी नाका पूर्ण रुपमा बन्द भएपछि चीनसँग स्थलमार्गबाट हुँदै आएको व्यापार तातोपानी ‘डाइभर्ट' भयो । अहिले चीनसँग जोडिएको उत्तरी नाकाबाट हुँदै आएको व्यापारका लागि तातोपानी मात्र विकल्प हो ।
तर अरनिको राजमार्गको तातोपानी नाका जोड्ने सडकको बाह्रबिसे-तातोपानी खण्डस्थित ‘इको’ भन्ने स्थानमा गएको पहिरोका कारण एक महिनामा चार दिन मात्र यातायात सञ्चालन भएको छ । उक्त पहिरो लिपिङ मितेरी पुलबाट करिब २ किमि काठमाडौंतर्फ र भन्सार हाताभन्दा चार किमि सीमातर्फ रहेको छ । सडकको अगुवाइमा यातायात खुलाउन दिनैपिच्छे डोजर चलाए पनि सम्भावन कम हुँदै गएको छ ।
यातायात बन्द भएका कारण व्यापारिक कारोबार, बजार तथा उपभोक्तामा प्रत्यक्ष प्रभाव पर्न थालेको छ । दसैंको मुखमा दैनिक दर्जनौं कन्टेनर मालवस्तु आयात हुनुपर्नेमा तातोपानी भन्सार सुनसान जस्तै भएको छ । रसुवा बन्द भएकाले यसपटक तातोपानीबाट हुने आयात दोब्बर हुने अनुमान गरिएको थियो । तर यसपटक झन् दसैंका लागि झिकाइएका सामान संघीय राजधानी ल्याउन नसक्दा मुलुकभर यसको अभाव पर्ने प्रायः निश्चित भएको छ ।
सडक खुलाउन एकातिर बर्सातले कठिन भएको छ अर्कोतर्फ गाउँ बग्न लागेको भन्दै स्थानीयले विरोध जनाएका छन् । स्थानीयले बिहीबार वर्षा रोकिएपछि मात्र काम गर्न भनेका छन् । यसबाट व्यापारीले करोडौं रुपैंयाँ खर्चेर दसैं लक्षित गरेर आयात गरेको सामान बिक्री नहुने सम्भावना त्यतिकै छ । काठमाडौं ल्याएका सामान व्यापारीहरुले विभिन्न सहरमा पठाउने गरेका छन् । तर दसैं नजिकिए पनि करोडौं मूल्यका सामान भने बाटैमा अलपत्र छन् । ती सामान कसरी नेपाल भित्र्याउने व्यापारी नै अन्योलमा छन् ।
चीनबाट दसैंलक्षित सामान तयारी कपडा, जुत्ता, ब्याग, खेलौना, सिंगार तथा इलेक्ट्रिक सामान लगायतका मालवस्तु ल्याउने गरिएको छ । विशेषतः निम्नदेखि मध्यमस्तरको परिवार अधिकांशले दसैंमा चिनियाँ तयारी पोसाक र जुत्ता प्रयोग गर्दै आएका छन् । नेपालीको क्रयशक्ति अनुसारको सामान आयात हुने भएकाले प्रयोग पनि चिनियाँ सामान नै धेरै हुने गरेको छ । तर यसपालि सामान भित्रन नपाएको दुई महिना बितेको छ ।
अहिले व्यापारीले खाद्यवस्तुसहित कुहिने मालवस्तु बोकाएर नेपाल भित्र्याइरहेका छन् । त्यसरी सामान भित्र्याउँदा एक कन्टेनर फलफूलको झन्डै एक लाख ढुवानी खर्च बढ्ने व्यापारीहरु बताउँछन् । स्याउ र मसलाजन्य खाद्यवस्तु कुहिन थालेका छन् । चीनबाट स्याउ, ओखर, आँप, किबी, लसुनलगायतका कुहिने र छिट्टै सड्ने सामान आउने गरेको छ ।
आयातकर्ता शारदाप्रसाद पराजुलीले कन्टेरबाट अनलोड गरेर फलफूलका बाक्सा भरियामार्फत भन्सार लैजाने गरेको बताए । यसरी लैजाँदा पनि फलफूल ड्यामेज हुने र चोट लाग्ने सम्भावन त्यतिकै हुनेको छ । पहिरो चलेको स्थानमा पैदल यात्रीका लागि पनि बाटो सहज नभएको उनले बताए । अहिले सीमा क्षेत्रका सयौं जना फलफूलको बाक्सा बोक्ने काममा लागेका छन् ।
सडक सञ्चालन हुने अनिश्चित भएपछि अब फलफूल मात्र होइन तयारी पोसाक लगायतका मालवस्तु भरियालाई बोकाएर तातोपानी सुक्खा बन्दरगाह ल्याउनुपर्ने भएको छ । सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष तथा उत्तरी नाकाका व्यवसायी बुद्धराज बस्नेतले भरियालाई बोकाएर भए पनि नेपाल भित्र्याउन नसकिने हो भने दसैंका लागि झिकाइएका सामान उपभोक्तासमक्ष नपुग्ने बताए । दसैं नजिकै आएकाले यही अवस्था रहिरहे मालवस्तु बाटैमा अलपत्र पर्ने लगभग निश्चित भएको उनले बताए ।
रसुवा नाका बन्द भएपछि अहिले चीनको केरुङ, सिगात्से, ल्हासा, खासा तथा सीमाको सडकहरुमा झन्डै १ हजार ५ सयभन्दा धेरै कन्टेनरमा सामान अलपत्र छन् । केरुङमा मात्र ६ सयभन्दा बढी मालवस्तु गोदाममा थन्केका छन् । तातोपानीका बाटो पनि भरपर्दो नभएपछि कसरी नेपाल भित्र्याउने व्यवसायी नै अन्योलमा छन् । कतिपयले समुद्रको बाटो रोजेर भारतीय नाका भएर तराईका नाकाबाट सामान ल्याउने गरेका छन् । तर ढुवानीका लागि लामो समय लाग्ने भएकाले व्यावहारिक रुपमा अप्ठेरो हुने गरेको छ ।
अध्यक्ष बस्नेतका अनुसार अरनिको राजमार्गको तातोपानीस्थित कोदारी खण्डमा गएको पहिरोले यातायात सञ्चालन अनिश्चित बनेको छ । सडक डिभिजन कार्यालय चरिकोटको अगुवाइमा स्थानीय व्यवसायी समेतको सहयोगमा पहिरो पन्छाउने काम भए पनि अविरल वर्षाका कारण यातायात सञ्चालन गर्न कठिन भएको हो ।
भोटेकोशीले तल्लो मागबाट तान्ने र माथिल्लो भागको जमिन बग्ने भएकाले वर्षा नरोकिएसम्म सडक सञ्चालन हुने सम्भावन न्यून भएको छ । अध्यक्ष बस्नेत भन्छन्, 'स्थानीयले पनि बस्तीको मुनितिरको सडक बनाउँदा आफूहरुको घर बगाउने चिन्ता गरेर काम रोक्न दबाब दिइरहेका छन् ।
‘अघिल्लो दिनभरि बनायो भोलिपल्ट हेर्दा सडकको नामोनिसान छैन,’ डिभिजन कार्यालयका प्राविधिकहरु भन्छन्, ‘आज बनायो, भोलि भत्किन्छ । काम गर्न कठिन भयो । यो अवस्थामा अब बर्सात नरोकिएसम्म सडक सञ्चालन गराउन कठिन छ ।’
तातोपानी प्रमुख भन्सार अधिकृत राजेन्द्रप्रसाद चुडाल ट्रान्सपोर्ट कम्पनीले जिम्मेवारी लिएर सामान ल्याउने हो भने आफू भन्सार जाँचपास गर्न तयार रहेको बताउँछन् । उनले भरियाको भरमा सही तरिकाले सहज रुपमा ‘कमर्सियल गुड’ भन्सार यार्ड ल्याउन सोचेजस्तो सहज नभएको बताए । सडक खुलाउन आफ्नो क्षमताले भ्याएसम्म माथिल्लो निकायमा कुराकानी गरिरहेको उनको भनाइ छ । ‘मैले के गर्नुपर्ने हो त्यो गरेको छु । तर मेरो हैसियत र कार्यक्षेत्र सडक खुलाउन निर्णायक हुन सक्दैन । पहल गर्नेबाहेक अरु केही गर्न सकिएको छैन,’ भन्सार प्रमुख चुडालले भने ।
नेपाल हिमालय सीमापार वाणिज्य संघका उपाध्यक्ष सुजित बस्नेतले एउटै कन्टेनरमा धेरै आयातकर्ताको मालबस्तु हुने भएकाले बोकाएर पहिरो पार गर्न सजिलो नभएको बताउँछन् । ‘चीनबाट सामान ल्याउने ट्रान्सपोर्ट कम्पनीले नै भन्सारसम्म ल्याउने हो भने सम्भावना हुन्छ होला अन्यथा त्यो सजिलो बाटो होइन । त्यसका धेरै जटिलता छ,’ उपाध्यक्ष बस्नेतले भने ।
कन्टेनरमा पोका–पोका सामान फरक–फरक व्यक्तिको आयात हुने भएकाले भरियालाई बोकाएर ल्याउन सजिलो नभएको व्यवसायीहरु बताउँछन् । कतिपय मालवस्तु बोक्न पनि नमिल्ने भएकाले पहिरो पार गराउन नसकिने उनीहरुको भनाइ छ ।
