तोकिएकै मितिमा विशेष साधारणसभा हुन्छ : नाडा

दुवै पक्षसँग छलफल गरी आवश्यक कागजात र स्पष्टीकरण पाएपछि जिल्ला प्रशासनले भदौ १८ गते पत्रमार्फत स्थगन आदेश फुकुवा गर्दै नाडाले वार्षिक साधारणसभा, विशेष साधारणसभा वा अन्य निर्णय गर्न सक्ने अधिकार पुष्टि गरेको छ ।

भाद्र १९, २०८२

कान्तिपुर संवाददाता

A special general meeting is held on the specified date: NADA

What you should know

काठमाडौँ — नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले तोकिएकै मितिमा विशेष साधारणसभा हुने जनाएको छ । नाडाले बिहीबार विज्ञप्ति जारी गर्दै काठमाडौं जिल्ला प्रशासन कार्यालयले यसअघि गरेको स्थगन आदेश फुकुवा गरेकाले तोकिएकै मितिमा विशेष साधारणसभा हुने जनाएको छ । 

नाडाको केन्द्रीय कार्यसमितिले २०८२ भदौ ३ र ८ गतेका बैठकमार्फत दीर्घकालीन संस्थागत सुदृढीकरणका लागि महासंघमा रूपान्तरण गर्ने प्रस्तावबारे अन्तिम निर्णय लिन विशेष साधारणसभा बोलाउने निर्णय गरेको थियो ।

सदस्यहरूले मताधिकार प्रयोग गर्ने अधिकार सुरक्षित गरिएको उल्लेख गर्दै नाडाले साधारणसभा बोलाउने निर्णयलाई अवैधानिक भन्नु पूर्णरूपमा असत्य भएको जनाएको छ ।

यसअघि प्राप्त उजुरीका आधारमा काठमाडौं जिल्ला प्रशासन कार्यालयले विशेष साधारणसभा स्थगित गर्न निर्देशन दिएको थियो । तर, दुवै पक्षसँग छलफल गरी आवश्यक कागजात र स्पष्टीकरण पाएपछि जिल्ला प्रशासनले भदौ १८ गते पत्रमार्फत स्थगन आदेश फुकुवा गर्दै नाडाले वार्षिक साधारणसभा, विशेष साधारणसभा वा अन्य निर्णय गर्न सक्ने अधिकार पुष्टि गरेको छ । 

यससँगै विशेष साधारणसभा तोकिएकै मितिमा निर्बाध सम्पन्न हुने मार्ग खुलेको नाडाले जनाएको छ । पदाधिकारी हेरफेर वा कार्यकाल लम्ब्याउने आरोपलाई संस्थाले अस्वीकार गरेको छ । 'नेतृत्व चयन र पद हस्तान्तरण सदस्यहरूको प्रत्यक्ष सहभागिता र निर्वाचनमार्फत हुनेमा संस्था अडिग छ,' विज्ञप्तिमा भनिएको छ ।

नाडाका अध्यक्ष करणकुमार चौधरीले पनि आफू पदमा रहन कुनै व्यक्तिगत स्वार्थ नराखेको स्पष्ट पारेका छन् । 'सर्वसम्मत भए तुरुन्तै निर्वाचनसहित वार्षिक साधारणसभा बोलाएर पद हस्तान्तरण गर्न तयार छु,' उनले भने ।

संस्थाले नाडा सबै अटोमोबाइल व्यवसायीहरूको साझा संस्था भएको दोहोर्‍याउँदै, व्यक्तिगत स्वार्थका लागि प्रयोग नगर्ने प्रतिबद्धता जनाएको छ । 

सुधार र भविष्यका योजना पारदर्शी र निष्पक्ष ढंगले, सदस्यहरूको सामूहिक निर्णयका आधारमा अघि बढाइने नाडाले जनाएको छ । पछिल्ला दिनमा विभिन्न सञ्चारमाध्यममा आएको समाचारलाई भ्रामक भन्दै आपत्ति जनाएको छ । संस्थाले आफ्नो गतिविधि सधैं प्रचलित कानुन र विधानअनुसार अघि बढाइएको स्पष्ट गर्दै, भ्रामक समाचार वा गलत व्याख्यामा नलाग्न सदस्य र सरोकारवालालाई आग्रह गरेको हो । 

कान्तिपुर

Link copied successfully