पोखरा–पारो चार्टर उडान हुँदै

युनिभर्सल टुर्स एन्ड ट्राभल्स प्रालिले भुटान एयरलाइन्ससँगको सहकार्यमा आगामी १२ असोजबाट चार्टर उडान सञ्चालन गर्ने भएको हो । कम्पनीका अनुसार उक्त उडान १२ असोजबाट सुरु भई १६, २० र २४ असोजसम्म हुने छ ।

भाद्र १८, २०८२

दीपक परियार

Pokhara-Paro charter flight

What you should know

पोखरा — पोखरा र भुटानको पारोबीच सिधा चार्टर उडान सुरु हुने भएको छ । युनिभर्सल टुर्स एन्ड ट्राभल्स (यूटीटी) प्रालिले भुटान एयरलाइन्ससँगको सहकार्यमा आगामी १२ असोजबाट चार्टर उडान सञ्चालन गर्ने भएको हो ।

कम्पनीका अनुसार उक्त उडान १२ असोजबाट सुरु भई १६, २० र २४ असोजसम्म हुने छ । यूटीटीले मंगलबार पोखरामा पत्रकार सम्मेलन गरी उडानको औपचारिक घोषणा गरेको छ । यूटीटीले मंगलबार नै ट्राभल एजेन्टहरुसँग पनि अन्तरक्रिया गरेको छ ।

यूटीटीका कार्यवाहक अध्यक्ष परासर प्रसाईका अनुसार १ सय २६ सिट क्षमताको एयरबस ए–३१९ जहाजले पारोबाट उडान भर्ने छ । कम्पनीले २ जनालाई भुटान घुम्नको लागि ४ रात ५ दिनको १ लाख ८४ हजार ५ सय रुपैयाँको प्याकेज बनाएको छ । ‘यो पारो–पोखरा नियमित उडानका लागि पहलकदमी हो,’ प्रसाईले भने, ‘भुटान एयरलाइन्ससँगको यो सहकार्यले पोखरा र पारोलाई मात्र जोड्दैन, क्षेत्रीय सहयोगमार्फत सांस्कृतिक र आर्थिक सम्बन्ध सुदृढ पार्ने अवसर पनि सिर्जना गर्छ ।’ उनले अकुपेन्सीका आधारमा उडान विस्तार गर्ने बताए । 

गण्डकी प्रदेशका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्यालले सबैको साझा प्रयासले पोखराबाट अन्तर्राष्ट्रिय उडान हुने क्रम जारी रहेको बताए । उनले दुबई र बंगलादेशसँग पनि पोखरामा उडान भर्ने सम्बन्धमा छलफल भइरहेको सुनाए । ‘प्रधानमन्त्रीको भारत भ्रमण अगावै उहाँलाई भेटेर भारतले रुट नदिनुको कारण पहिल्याउन आग्रह गर्छौं,’ उनले भने । 

पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले यो उडानले नेपाल–भुटानबीचको ऐतिहासिक, सांस्कृतिक र धार्मिक सम्बन्ध अझ प्रगाढ बनाउन सहयोग पुग्ने बताए । उनले निकट भविष्यमै चीनको सिचुवान एयरलाइन्सले पोखरा–छेङ्दु–अस्ट्रेलिया उडान भर्नेसमेत जानकारी दिए ।   

पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष पोमनारायण श्रेष्ठले यस उडानले पोखरा र पारोबीच प्रत्यक्ष हवाई सम्पर्क स्थापना गरी दुवै गन्तव्यको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण टेवा पुर्‍याउने विश्वास व्यक्त गरे । पोखरा–पारो सीधा उडानले हिमाली पर्यटनमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ । चार्टर उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र होटल, रेस्टुरेन्ट तथा ट्राभलसँग सम्बन्धित संघसंस्थाले सहकार्य गरेका छन् । यसअघि भुटानकै ड्रुक एयरको विमानले पोखरामा चार्टर उडान गरिसकेको छ । हाल पोखराबाट हिमालय एयरलाइन्सले सातामा एकपल्ट ल्हासा उडान भरिरहेको छ । 

दीपक परियार कान्तिपुरका पोखरा संवाददाता हुन् ।

Link copied successfully