प्लाइउड र भेनियर सिट दुवै कच्चा पदार्थ हुन् । यो पातलो काठको वस्तुलाई प्रविधिको सहयोगमा टाँसेपछि बल्ल प्लाइउड बन्छ । नेपालमा उत्पादित प्लाई गुणस्तरीय हुँदा भारतमा बढ्दो माग रहेको व्यवसायी बताउँछन् ।
What you should know
कपिलवस्तु — मुलुकका १० ठूला भन्सार नाकामा पर्ने कृष्णनगर हुँदै प्लाइउड, रोजिन र तारपिन तेल निर्यात बढेको छ । एक वर्षमा यो नाका हुँदै १ अर्बभन्दा बढीको प्लाइउड र ७५ करोडभन्दा बढीको तयारी सिमेन्ट भारत निर्यात भएको छ ।
गत आर्थिक वर्ष २०८१/८२ मा १ अर्ब १४ करोड ८७ हजार मूल्य बराबरको १६ लाख ९४ हजार क्युबिक मिटर प्लाइउड भारत निर्यात भएको छ । त्यस्तै २०८०/८१ मा १ अर्ब ४८ करोड ४५ लाख बराबरको १५ लाख ८६ क्युबिक मिटर प्लाइउड भारत निर्यात भएको यिथो ।
प्लाइउड र भेनियर सिट दुवै कच्चा पदार्थ हुन् । यो पातलो काठको वस्तुलाई प्रविधिको सहयोगमा टाँसेपछि बल्ल प्लाइउड बन्छ । नेपालमा उत्पादित प्लाई गुणस्तरीय हुँदा भारतमा बढ्दो माग रहेको व्यवसायी बताउँछन् । रोगकिरा नलागेको र गुणस्तर प्रमाणपत्र प्राप्त फाइटो सेनेटरी सर्टिफिकेट प्राप्त प्लाइउड भारत निर्यात हुने गर्छ । यसका लागि भारत सरकारको उद्योग मन्त्रालयबाट जारी हुने ब्रिटिस स्ट्यान्डर्ड इन्स्टिच्युसन (बीएसआई) लिनुपर्छ । यहाँका सबै प्लाइउड उद्योगसँग बीएसआई नहुँदा जिल्लाकै गणपति रोजिन एन्ड टर्पेन्टाइन उद्योगमार्फत प्लाइउड निर्यात गरिरहेका छन् ।
गत आर्थिक वर्षमा १३ करोड ९८ लाख मूल्य बराबरको २५ हजार ९० टन सिमेन्ट बनाउने कच्चा पदार्थ क्लिंकर र पाँच करोड २३ लाख मूल्य बराबरको २ लाख ७४ हजार लिटर तारपिन तेल निर्यात गरिएको छ । त्यस्तै ८४ लाख बराबरको १ लाख १५ हजार किलो जडीबुटी, ३ करोड ८७ लाख बराबरको २ हजार ६ सय लिटर जडीबुटी तेल र २ करोड १२ लाख बराबरको १६ हजार ६ सय ७५ थान काठको झ्यालढोका निर्यात भएका छन् ।
गत वर्षदेखि दाङमा रहेको सम्राट सिमेन्ट उद्योगबाट भारतको प्रतिष्ठित व्यापारिक घराना अडानी ग्रुपले खरिद गरिरहेको छ । भारतमा सिमेन्टको मूल्य ४ सय ५० भारतीय भारु छ । नेपालबाट लैजाँदा भने एक बोरामा ८० देखि १ सय रुपैयाँ कम मूल्य पर्छ । सिमेन्टका लागि पनि बीएसआई चाहिन्छ । त्यस्तै सोही अवधिमा २२ करोड ५४ लाख बराबरको १ हजार ५ सय ५७ टन रोजिन भारत निर्यात गरिएको थियो ।
जिल्लाको चन्द्रौटा–कृष्णनगर सडक खण्डमा ७/८ वटा प्लाई उद्योग छन् । ‘भेनियर, प्लाइउडको निकासी बढिरहेको छ,’ कृष्णनगर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत फणीन्द्र खतिवडाले भने, ‘प्लाइउडको निकासी बढ्दा नेपाली अर्थतन्त्रको विकासमा पनि टेवा पुगेको छ ।’ दुई वर्षयता बर्सेनि १ अर्बभन्दा बढीको प्लाइउड निकासी भएको छ । एक दशकयता नेपाली व्यवसायीले स्वदेशमै उद्योग स्थापना गरेपछि भारतबाट पैठारी हुने क्रम रोकिएर भारततिर निर्यात हुन थालेको वन पैदावार व्यवसायी महासंघ लुम्बिनी प्रदेश अध्यक्ष रुकबहादुर भुसालले बताए ।
यहाँ उत्पादित प्लाइउड भारतको महाराष्ट्र, कर्नाटक, राजस्थान, जयपुर, बैंग्लोर र उत्तर प्रदेशलगायत ठाउँमा बढी खपत हुने गरेको छ । उद्योगबाट नेपाली ट्रकले सीमाको भन्सार नाकासम्म ल्याएर भन्सार यार्डमा भारतीय ट्रकमा पल्टी गरेर भारत लैजाने गरिएको भन्सार अधिकृत लेखनाथ भट्टराईले जनाए ।
