स्वदेशदेखि विदेशसम्म ‘माया धराने’ बेसारको बजार 

धरान उपमहानगरपालिकाको वडा २० मा निर्मित माया धराने बेसारको माग यूके, हङकङ, जापान, अमेरिका, पोल्यान्ड, कोरिया लगायतका देशहरूमा बढेको छ।

भाद्र १६, २०८२

एलिना राई

'Maya Dharane' turmeric market from home to abroad

What you should know

धरान — ‘माया धराने’ बेसारको चर्चा केवल धरानमा मात्र सीमित छैन, समुन्द्रपारिका देशहरूमा पनि यसको चर्चा चुलिएको छ । गत असार २७ गते उद्घाटन गरिएको माया धराने बेसारले अहिले बजार पिटिरहेको छ ।

धरान उपमहानगरपालिका वडा २० मा बेसार उद्योग सञ्चालनमा आएपछि धरान बाहिरका विभिन्न जिल्लाहरूमा मात्र नभई समुन्द्रपारिका देशहरू यूके, हङकङ, जापान, अमेरिका, पोल्यान्ड, कोरियालगायतमा पनि माया धराने बेसारको लोकप्रियता र उपभोक्ताहरूको माग आउन थालेको छ ।

स्थानीय किसानले उत्पादन गरेको बेसारलाई स्थानीय स्तरमै प्रशोधन गरेर प्याकेजिङ गरेर बजारमा ल्याइएको बेसार ‘माया धराने’ ब्रान्डमा लोकप्रिय बन्दै गएको छ । माया धराने बेसारलाई धेरैले रुचाएका मात्र छैनन्, सामाजिक सञ्जालमा बेसारको प्याकेटको फोटो राखेर पोस्ट गर्नुका साथै साथ–समर्थन पनि गरिरहेका छन् । अहिले धरान घुम्न आएकाहरू प्रायःले कोसेलीको रूपमा माया धराने बेसार लाने गरेका छन् ।

धरानको कोसेलीका रूपमा ब्रान्डिङ गरेर घुम्न आउने पाहुना, पर्यटकले किनेर लैजाने वातावरणसमेत तयारी भएको माया धराने बेसार सञ्चालक समितिका सदस्य समिर तामाङले बताए । उनका अनुसार १ महिनाको अन्तरालमा ३८ लाख रुपैयाँबराबरको माया धराने बेसार बिक्री भइसकेको उनले बताए । एक किलो बेसारको बजार मूल्य ८ सय रुपैयाँ छ । माया धराने बेसार उद्योगबाट दिनमा ३ सय केजी बेसार उत्पादन हुने गरेको तामाङले बताए । उनले भने, 'दिनमा ३ सय केजी बेसार उत्पादन हुने गरेको छ, यतिले पनि उपभोक्ताको माग धान्न धौ–धौ परेको छ ।'

माया धराने बेसार अहिले धरानका विभिन्न किराना पसलहरूबाट पनि किन्न सकिने उनले बताए । तामाङले भने, ‘नेपालका विभिन्न ठाउँहरूबाट अर्डर आइरहेको छ, त्यससँगै अहिले भने विदेशबाट बढी अर्डर आउन थालेको छ ।’ 

तामाङका अनुसार कृषकबाट हलेदो क्वालिटी हेरेर प्रतिकिलो ३ सय रुपैयाँसम्म दिने गरिएको छ । अहिलेसम्म धरान उपमहानगरपालिकाका कृषकहरूकै बेसार उठाइरहेको उनले बताए । फ्याक्ट्रीमा बेसार धुने, सुकाउनेदेखि लिएर प्याकेजिङ गर्नेसम्म ९ जना कर्मचारी कार्यरत रहेको उनले जानकारी दिए । 

'Maya Dharane' turmeric market from home to abroadधराने कृषक समाज, उपभोक्ता सञ्चालक समितिले धरान उपमहानगरपालिकासँग सहकार्य गरेको छ । उपमहानगरपालिकाले भवन निर्माण गर्नेदेखि फ्याक्ट्रीमा प्रशोधनका लागि आवश्यक मेसिन पनि किनेको तामाङले बताए । 

स्थानीय उत्पादनलाई ब्रान्डिङ गरेर विदेशी स्तरसम्म पुर्याउनु विकासको एक खुड्किलो भएको समाजसेवी लिला भुजेल बताउँछिन् । 'माया धराने बेसारले जति चर्चा र माया पाएको छ, यो माया धरानेलाई मात्र नभई नेपाली उत्पादनलाई माया गरेको हो,' उनी भन्छिन् । स्थानीय उत्पादनलाई यसरी नै महत्त्व दिएर उद्योगहरू सञ्चालन गर्न सके, आत्मनिर्भर बनाउन सके धरानको मात्र नभई समग्र नेपालको विकास हुने उनको धारणा छ । 

‘माया धराने’ बेसार उद्योग मेयर हर्क साम्पाङको परिकल्पना हो । उनले वडा नम्बर २० मा बेसार उद्योग खोल्ने एजेन्डा ल्याएपछि कार्यपालिका बैठकले अनुमोदन गरेको थियो ।  यो वडा बेसार पकेट क्षेत्र पनि मानिन्छ । बेसार उद्योगको भवन निर्माण गर्न उपमहानगरपालिकाबाट १६ लाख ५० हजार र उपभोक्ताबाट २ लाख ८ हजार ६ सय ११ रुपैयाँ लगानी भएको निर्माण समितिले जानकारी दिएको छ ।

एलिना एलिना कान्तिपुरकी धरान संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छिन् ।

Link copied successfully