गत वर्ष दसैँअघि नै पहिरोले बगायो बीपी राजमार्ग एक वर्षमा पनि बनेको छैन। दसैँ नजिकिँदा फेरि यात्रुहरूको चासो छ- यसपालि बीपी राजमार्गको यात्रा कस्तो होला?
What you should know
काठमाडौँ — ०८१ असोजमा आएको बाढीले बीपी राजमार्गमा ठुलो क्षति पुग्यो। ८ किलोमिटर सडक पुरै बगायो। जसकारण यस राजमार्ग भएर पूर्व जानेहरुका लागि सडक सम्पर्क टुट्यो। दसैँको मुखमा घर जान तयार रहेका यात्रु निराश बने। अघिपछि एक दिनमा पुगिने ठाउँ दुई दिन लगाएर वैकल्पिक मार्ग प्रयोग गर्दै पुग्न बाध्य भए। कतिले त सडकका कारण घर जाने यात्रा नै रद्द गरे ।
अहिले अर्को दसैँ नजिकिँदा फेरि यात्रुहरूको चासो छ- यसपालि बीपी राजमार्गको यात्रा कस्तो होला?
गत वर्ष दसैँअघि भत्किएको उक्त सडक एक वर्षमा पनि बनेको छैन। बजेट अभाव र लामो ठेक्का प्रक्रियाले गर्दा समय लाग्यो, जसले गर्दा स्थायी काम सुरु भएन । अहिले ३०.५ किलोमिटर मध्ये २५ किलोमिटरमा मात्र ठेक्का भएको छ, बाँकी खण्डमा अझै ठेक्का सम्झौता भएको छैन ।
स्थायी सडक संरचना अझै बनेन, के यो पटकको दसैँमा पनि यात्रुले घर जान सास्ती खेप्नुपर्ने हो र ? भन्ने प्रश्नमा सडक डिभिजन भक्तपुरका प्रमुख सुमन योगेश भन्छन्– ‘अहिलेसम्म कुनै समस्या छैन, सानो तिनो बाढी पहिरोले सवारी आवागमन रोकिँदैन ।’
उनका अनुसार ठेक्का सम्झौता भएको खण्डमा निर्माण व्यवसायी मेशिन लिएर बाढी पहिरो आए सडक खुलाउन तैनाथ छन् । ‘यो राजमार्ग भएर अघि पछि दैनिक ३ हजार बढी सवारी साधन गुड्छन्,’ उनले भने, ‘चाडवाडका बेला ८ देखि १० हजार सवारी साधन ओहोरदोहोर गर्छन्, अबको १० दिन भित्र चाडवाडलाई मध्यनजर गर्दै सडक सुधार, खाल्डाखुल्डी पुर्ने काम थाल्छौँ ।’ उनले यो पटकको चाडवाडमा यात्रुलाई सहज रूपमा घर जाने वातावरण बनाउने गरी काम भइरहेको दाबी गरे ।
बीपी राजमार्गमा साउन १ गतेदेखि साँझ ५ देखि बिहान ५ बजेसम्म राजमार्गमा यात्रुवाहक तथा निजी सवारी सञ्चालनमा रोक लगाइएको छ । बर्खाका कारण पहिरोको जोखिम रहेकाले यात्रुवाहक रोक लगाइएको र यो क्रम भदौ मसान्तसम्म चल्ने सडक डिभिजन कार्यालय भक्तपुरले जनायो ।
उक्त राजमार्ग अन्तर्गत भकुण्डेबेंसीदेखि नेपाल थोकसम्म बाढीले क्षति गरेको ३०.५ किमि क्षेत्रमा दुई लेन सडक निर्माण गर्न लागिएको हो । हाल काभ्रेतर्फ दुई र सिन्धुलीतर्फ एक गरी तीन प्याकेज बनाएर ठेक्का सम्झौता गरिएको छ । भकुण्डेबेंसीदेखि चारसयबेंसीसम्म ११ किमि खण्डको ठेक्का लामा–नव कान्तिपुर जेभीले लिएर निर्माण स्थलमा परिचालन भइसकेको छ । भ्याटबाहेक १ अर्ब १४ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको हो ।
चारसयबेंसीदेखि डालाबेंसीसम्म ९ किमि दूरीको ठेक्का खानी–कमलजित–एवान जेभीसँग भ्याटबाहेक १ अर्ब २२ करोड रुपैयाँमा सम्झौता भएको हो । दुवै ठेक्काको सम्झौता गत असारमा भएको र सम्झौता मितिले दुई वर्षभित्र काम सक्नुपर्ने सडक विभागले जनायो । स्थायी निर्माणको काम भने बर्खापछि मात्र सुरु हुने प्रमुख योगेशले बताए ।
यही राजमार्गको ५ किमि खण्डमा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले काम गर्ने छ । जाइकाले पिप्लेदेखि बर्खे खोलासम्म ३.२ किमि सडक निर्माण गर्ने छ । त्यसकालागि फाइनल सर्भेको काम सकिएको छ । ठेक्का सम्झौता नहुन्जेल यस खण्डको मर्मत सम्भारको काम भक्तपुर डिभिजन अन्तर्गत नै हुने प्रमुख योगेशले बताए ।
‘यस खण्डमा सर्भेको काम सकेर डिजाइन फाइनल हुँदै छ,’ उनले भने, ‘त्यसैले ठेक्का दसैँ पछि मात्र हुने छ ।’ उक्त खण्ड जापान सरकारको २ अर्ब ६३ करोड रुपैयाँ बराबरको अनुदानमा निर्माण हुन लागेको हो । ढिलो ठेक्का भए पनि जापानले गर्ने खण्ड सन् २०२७ जुलाईसम्म सवारीसाधन सञ्चालन योग्य बनाउने गरी काम हुने सडक विभागको भनाइ छ । बीपी राजमार्ग हाल इन्टरमिडियट लेनको छ, अब दुई लेनको बन्ने छ ।
पिप्लेदेखि डालाबेंसीसम्मको २.३ किमि खण्डको ठेक्का आह्वान भई आर्थिक तथा प्राविधिक मुल्यांकनका क्रममा रहेको सडक डिभिजन भक्तपुरले जनायो । ‘अबको १५ दिन भित्र यस खण्डको पनि ठेक्का सम्झौता भइसक्छ,’ प्रमुख योगेशले बताए । बर्खे खोलादेखि नेपाल थोकसम्मको ५ किमि खण्ड सिन्धुली जिल्लामा पर्छ । उक्त खण्डको ठेक्का खरीढुंगा–घिसिङ–क्षितिज जेभीले लिएको हो । भ्याटबाहेक ठेक्का रकम ५५ करोड रुपैयाँ हो । यस खण्डको असार दोस्रो सातामा ठेक्का सम्झौता भएको हो ।
उक्त खण्डमा ठेक्का लिने कम्पनी निर्माण स्थलमा परिचालन भइसकेको सडक डिभिजन खाल्टे, सिन्धुलीका प्रमुख पारसमणि हमालले बताए । ‘चाडवाड आउन लाग्यो,सिन्धुली खण्डमा अहिलेसम्म कुनै समस्या छैन,’ उनले भने, ‘कुनै ठुलो भवितव्य भए मात्र हो,नत्र चाडवाडमा सडक सहज हुन्छ ।’ उनले चाडवाडलाई मध्यनजर गर्दै ठेक्का लिने निर्माण कम्पनी मेशिन लिएरै फिल्डमा खटिएको उनको भनाइ छ ।
हाल ठेक्का सम्झौता भएको २५ किमि खण्डमा बाढी वा बर्खाले सडक अवरुद्ध भए ठेक्का लिने कम्पनीले नै मर्मत सम्भार गरेर सडक खुलाउने जिम्मा लिएका छन् । बर्खाभर इन्जिनियर र सब इन्जिनियर फिल्डमै रहने व्यवस्था मिलाइएको सडक विभागले जनायो । बीपी राजमार्गको स्थायी निर्माण र मर्मतका लागि सडक डिभिजन भक्तपुरलाई ७ अर्ब ५० करोड र खुर्कोट खण्डलाई १ अर्ब रुपैयाँ उपलब्ध गराइएको छ ।
