सम्मेलनमा उद्योग, खानीजन्य उपज, पर्यटन, सूचना प्रविधि, ऊर्जा, कृषि, जडीबुटी, भौतिक पूर्वाधार, शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखिएको छ ।
What you should know
काठमाडौँ — नेपाल चेम्बर अफ कमर्सले सुदूरपश्चिम प्रदेश लगानी तथा विकास सम्मेलनलाई पूर्ण सहयोग गर्ने जनाएको छ । सुदूरपश्चिममा आगामी मंसिर १ र २ गते हुने सम्मेलनका लागि चेम्बरले लगानी सहजीकरण, प्रचारप्रसारलगायतका विषयमा सहयोग गर्ने भएको हो ।
काठमाडौंको जमलस्थित चेम्बर भवनमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह, प्रदेशका मन्त्री तथा प्रदेश योजना आयोगका सदस्यसहित आइतबार भएको छलफलमा चेम्बर अध्यक्ष कमलेशकुमार अग्रवालले लगानी सम्मेलनका लागि पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाए । यसका लागि प्रतिफल दिने आयोजना छनोट र नीतिगत सुधार आवश्यक रहेको अध्यक्ष अग्रवालको भनाइ छ ।
'सुदूरपश्चिमको आर्थिक विकासका लागि प्रदेशमा प्राकृतिक स्रोतको अथाह सम्भावना छ । नीतिगत सुधार भए निजी क्षेत्र आफैं लगानी गर्न आउँछन्,' उनले भने, 'प्रदेशमा लगानी प्रतिफलको सुनिश्चितता हुने गरी नीति बन्न आवश्यक छ । पानी र लगानी एउटै प्रकृतिको हुन्छ, जता ओरालो हुन्छ उतै बग्छ ।'
सम्मेलनमा उद्योग, खानीजन्य उपज, पर्यटन, सूचना प्रविधि, ऊर्जा, कृषि, जडीबुटी, भौतिक पूर्वाधार, शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखिएको छ । सुदूरपश्चिम प्रदेशमा जलविद्युत्, कृषि उत्पादन, पर्यटन र सीमा–पार व्यापारमा उच्च सम्भावना रहेको छ । पञ्चेश्वर, कर्णाली र पश्चिम सेतीजस्ता जलविद्युत् आयोजना सफलतापूर्वक सञ्चालनमा आए राष्ट्रिय अर्थतन्त्रमा ठूलो योगदान पुग्ने अध्यक्ष अग्रवालले बताए । प्रदेश कृषि–प्रधान भएकाले धान, मकै, गहुँ, फलफूल, मसला तथा जडीबुटीमा आधारित उद्योग, प्रशोधन र निर्यात–केन्द्रित लगानी आकर्षित गर्न सकिने चेम्बरले जनाएको छ ।
लगानी सम्मेलनमा नीति तथा लगानी–मैत्री वातावरण निर्माण गर्न कर–राहत, जग्गा व्यवस्था, एकद्वार प्रणाली र सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडललाई प्राथमिकतामा राख्ने तयारी गर्न पनि चेम्बरले सुझाव दिएको छ । वातावरणमैत्री उद्योग, जैविक खेती र नवीकरणीय ऊर्जा परियोजनाबाट दीर्घकालीन फाइदा हुने अध्यक्ष अग्रवालले बताए ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले सुदूरपश्चिमको विकासका लागि चेम्बरको सहयोग महत्त्वपूर्ण रहेको र सहकार्यका लागि प्रस्ताव गरे । उनले प्रदेशमा पहिले आन्तरिक लगानीको वातावरण तय गरेर मात्र बाह्य लगानीका लागि सरकारले पहल गर्ने बताए । प्रदेशमा लगानीको अथाह सम्भावना रहेको उल्लेख गर्दै मुख्यमन्त्री शाहले रोजगारी सिर्जना र छिमेकी मुलुकको बजारमा सुदूरपश्चिमका उत्पादन पुर्याउने लक्ष्य रहेको बताए ।
चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले प्रदेशमा बाँझो जमिन सदुपयोग हुने गरी नीतिगत व्यवस्था गर्नुपर्नेमा जोड दिए । विदेशबाट सीप सिकेर फर्किएका युवाको लगत संकलन गरी प्रदेश सरकारले लाभ लिन सक्ने उनले बताए ।चेम्बरका वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्राले प्रदेशमा जलविद्युत आयोजना उच्च प्राथमिकतामा राख्नुपर्ने धारणा राखे ।
