माघभित्र काठमाडौं र पोखरामा फाइभ जी परीक्षण सुरु हुन्छ : सञ्चारमन्त्री गुरुङ

मन्त्री गुरुङले माघ महिनाभित्र फाइभजी परीक्षण काठमाडौं र पोखराबाट सुरु हुने घोषणा गरेका छन्, जसले एआई प्रविधिमा योगदान पुर्‍याउनेछ।

भाद्र १५, २०८२

कान्तिपुर संवाददाता

5G testing will begin in Kathmandu and Pokhara by January: Communications Minister Gurung

काठमाडौँ — सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयनको अन्तिम चरणमा रहेको बताएका छन् । चलचित्र विकास बोर्डको २५ औँ वार्षिकोत्सव तथा रजत जयन्तीको अवसरमा काठमाडौंमा आइतबार आयोजित कार्यक्रममा मन्त्री गुरुङले उक्त फ्रेमवर्क चाँडै मन्त्रिपरिषद्बाट पारित भई कार्यान्वयनमा जाने बताएका हुन् ।

कृत्रिम बुद्धिमत्ता (एआई)को विकास र प्रयोगलाई तीव्रता दिन पाँचौँ पुस्ताको दूरसञ्चार प्रविधि (फाइभ जी) आवश्यक रहेको उल्लेख गर्दै काठमाडौं उपत्यका र पोखरा उपत्यकाबाट माघ महिनाभित्र फाइभजी परीक्षण सुरु हुनेसमेत मन्त्री गुरुङले बताए ।

'यही वर्षको माघभित्र काठमाडौं भ्याली र पोखरा भ्यालीबाट परीक्षण सुरु गर्छौं । त्यसले इन्टरनेटको प्रयोगलाई समेत सहयोग गर्ने र एआईको प्रयोगमा पनि सहयोग गर्ने विश्वास लिएका छौं । यो वर्ष सुरु गरेर फाइभ जीको काम गरेर अर्को वर्षसम्म सक्ने तयारीमा छौं । हामी सातवटै प्रदेशमा आईटी डेटा सेन्टर र एआई केन्द्र विकास गर्ने तयारी गर्दैछौँ, उनले भने।

कान्तिपुर

Link copied successfully