नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले आफ्नो नेतृत्वको कार्यसमितिले निर्माण उद्योगको समस्या समाधान गर्न इमानदार प्रयास गरिरहेको बताए ।
What you should know
काठमाडौँ — नेपाल निर्माण व्यवसायी महासंघको विशेष साधारणसभा सम्पन्न भएको छ । काठमाडौंमा शुक्रबार भएको महासंघको विशेष साधारणसभा संविधानसभा सदस्य जीपछिरिङ लामाले उद्घाटन गरे ।
कार्यक्रममा सम्बोधन गर्दै कांग्रेस नेतासमेत रहेका लामाले मुलुकको निर्माण उद्योग समस्याग्रस्त रहेको बताए । उनले निर्माण व्यवसायीहरू एकताबद्ध भएर आफ्ना हकअधिकारका लागि लड्ने बेला आएको धारणा राखे ।
कांग्रेस तथा एमालेजस्ता शक्तिशाली दलको सरकार रहेको वर्तमान अवस्थामा ठोस ढंगले निर्माण उद्योगको समस्या सरोकारवाला निकायसमक्ष प्रस्तुत गर्नुपर्नेमा उनको जोड थियो ।
नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले आफ्नो नेतृत्वको कार्यसमितिले निर्माण उद्योगको समस्या समाधान गर्न इमानदार प्रयास गरिरहेको बताए । साना ठूला सबै किसिमका निर्माण व्यवसायीहरूको समस्या सम्बोधन गर्ने गरी महासंघको वर्तमान नेतृत्वले काम गरिरहेको अध्यक्ष सिंहको भनाइ थियो । ‘निर्माण व्यवसायीहरू एक भएर अघि बढेमा निर्माण उद्योगका जस्तोसुकै समस्या पनि समाधान गर्न सकिन्छ,’ उनले भने । अध्यक्ष सिंहले महासंघको २६ औं साधारणसभा तथा १३ औं अधिवेशन २०८२ को माघ १५, १६ र १७ गते गर्ने प्रस्ताव गरेका छन् ।
महासंघका सल्लाहकार एवं पूर्वअध्यक्ष सुकुन्तलाल हिराचनले अव्यवहारिक ऐन, नियम तथा मूल्यवृद्धि, म्याद थपमा देखिएको जटिलता लगायतका समस्याबाट निर्माण उद्योग आक्रान्त रहेको बताए ।
साधारणसभामा प्रतिवेदन पेस गर्दै महासचिव रोशन दाहालले महासंघका अहिलेसम्मका उपलब्धि तथा भावी कार्यक्रम सार्वजनिक गरे । कोषाध्यक्षको तर्फबाट हिरणकुमार श्रेष्ठले प्रतिवेदन पेस गरेका थिए । महासचिव दाहाल तथा कोषाध्यक्ष श्रेष्ठको प्रतिवेदन विशेष साधारणसभाले पास गरेको छ ।
कार्यक्रममा महासंघको मुखपत्र ‘निर्माण समाचार’को प्रमुख अतिथि लामा र महासंघका अध्यक्ष सिंहले संयुक्त रुपमा विमोचन गरेका थिए । साधारणसभामा ७३ जिल्लाका एक हजार प्रतिनिधिहरू सहभागी थिए ।
नेपाल निर्माण व्यवसायी महासंघमा २४ हजारभन्दा बढी व्यवसायी आबद्ध छन् ।
