खुलेन तातोपानी नाका, चाडलक्षित सामग्री बोकेका कन्टेनर उतै रोकिए

सीमा क्षेत्रमा सामान अलपत्र परेपछि प्रतिकन्टेनर ५० हजारसम्म थप खर्च गरेर भरियामार्फत तातोपानी ल्याउन थालिएको छ ।

भाद्र १२, २०८२

अनिश तिवारी

When the Tatopani border was opened, the container carrying the festival material stopped there

What you should know

सिन्धुपाल्चोक — कोदारी राजमार्गको क‍ोदारी खण्ड (इको) मा सोमबारको पहिरोले अवरुद्ध तातोपानी नाका अझै सञ्चालनमा आउन सकेको छैन । बिहीबार फेरि पहिरो खस्न थालेपछि सडक खोल्ने काम तत्काल रोकिएको सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष बुद्धराज बस्नेतले बताए ।

'वर्षा रोकिएन, जबर्जस्ती सडक बनाउन खोज्दा अर्को जोखिम हुन सक्छ,' उनले भने, 'नाका अझै बन्द छ । करोडौं मूल्यका सामग्री बोकेका कन्टेनर चीन र पहिरो पारिपट्टि अलपत्र छन्, यत्तिकै भइरहने हो भने समयमा व्यापारीले सामान पुर्‍याउन सक्दैनन् । आजबाट उनीहरु बाध्य भएर फेरि भरिया प्रयोग गर्ने अवस्थामा पुगेका छन् ।'

बिहीबार पनि नाका नखुलेपछि फलफूल कुहिने डरले भरियालाई बोकाउन थालिएको बस्नेतले जनाए । सीमा क्षेत्रमा सामान अलपत्र परेपछि प्रतिकन्टेनर ५० हजारसम्म थप खर्च गरेर भरियामार्फत तातोपानी ल्याउन थालेका छन् ।

चरिकोट सडक डिभिजन कार्यालयका सूचना अधिकारी सुरज महर्जनका अनुसार वर्षाका सडक मर्मतसम्भार र पुनर्निर्माणमा कठिनाइ भएको हो ।

नेपाल हिमालय सीमापार वाणिज्य संघका उपाध्यक्ष सुजित बस्नेतले वर्षा नरोकिँदा सडक पुनर्निर्माण गर्ने काम अघि बढ्न नसक्दा नाका खुल्न नसकेको बताए । 'झन्डै तीन सातापछि बल्ल खुलेको उत्तरी तातोपानी नाका चार दिन चल्यो, त्यतिखेर ५०/६० कन्टेनर फलफूल, चाडपर्व लक्षित सामग्री नेपाल भित्रिएको थियो,' उनले भने, '३०/३५ खाली कन्टेनर यताबाट चीन प्रवेश गरेका थिए, फेरि बन्द भएको नाका नखुल्दा व्यवसायी आजित छन् ।'

When the Tatopani border was opened, the container carrying the festival material stopped there

गत बिहीबार इकोमा झन्डै तीन सातापछि सडक खुलाइएपछि मालवस्तु बोकेका कन्टेनर नेपाल भित्रन थालेका थिए । १४/१५ सय कन्टेनर चीनको ल्हासा, सिगात्से, न्यालमका महँगो गोदाम पार्किङमा रोकिएका छन् भने केरुङमा ६/७ सय कन्टेनर थन्किएका छन् । इको पहिरोपारि दर्जनभन्दा बढी कन्टेनर लिपिङ र कोदारी बजार आएर रोकिएका छन् ।

तातोपानी सुक्खा बन्दरगाह तथा भन्सार कार्यालयका अनुसार गत साउन १७ मा अधिकांश फलफूलका कन्टेर भन्सार यार्ड प्रवेश गरेका थिए । यस अवधिमा स्याउ, नास्पाती, आँप, अंगुर, लसुन, किबी लगायतका फलफूल, मसलाजन्य मालवस्तु भरियालाई बोकाएरै तातोपानी भन्सार यार्डसम्म ल्याइएको थियो । 'यस अवधिमा लाखौं मूल्यका फलफूल सड्दा व्यवसायीले घाटा बेहोरेका छन् । यसअघि पनि फलफूल र लसुन कन्टेनरमै कुहिन थालेपछि भरिया लगाएर बोकाइएको थियो, नाका सहज बनेन्,' व्यवसायी शारदाप्रसाद पराजुलीले भने । 

अनिश तिवारी कान्तिपुरका सिन्धुपाल्चोक संवाददाता हुन् ।

Link copied successfully