अधिकारीले निजी क्षेत्रको असहयोगमा पनि सरकारले आन्तरिक ऋण प्रयोग गरी बजेट कार्यान्वयनमा नयाँ कदम चाल्नुपर्ने बताएका छन्।
काठमाडौँ — राष्ट्रिय योजना आयोगका उपाध्यक्ष शिवराज अधिकारीले बिनातयारी आयोजनाहरू कार्यान्वयनमा जाँदा बढी संघर्ष गर्नु परेको बताएका छन् । पूर्व योजनाकार मञ्चद्वारा आज ललितपुरमा आयोजित सार्वजनिक नीति संवाद बजेट कार्यान्वयन र समाधानमा चुनौतीहरू विषयक अन्तरक्रियामा उपाध्यक्ष अधिकारीले आयोजना प्रविष्ट गर्नु मात्र ठूलो कुरा नभएको बताएका हुन् ।
सबै मापदण्ड पूरा नगरेको भए अध्ययनका आयोजनामा र सम्पूर्ण चरण पूरा गरेका आयोजना कार्यान्वयनमा जाने गरी दुई वटा कार्ययोजना आयोगले बनाएको उनले जानकारी दिए ।
कार्यान्वयनमा नजाने आयोजना अध्ययनमा जानेसमेत उनले बताए । उपाध्यक्ष अधिकारीले अहिलेको विनियोजन ऐनअनुसार यसै आर्थिक वर्षमा अध्ययनमा गएका आयोजनाहरू सम्पन्न भयो भने कार्यान्वयनको चरणमा जान सक्ने समेत बताए ।
अधिकारीले जहाँ निजी क्षेत्रले क्रेडिट लिएका छैनन् र बैंकमा तरलता जम्मा भएको अवस्थामा सरकारले देशभित्र भएको स्रोत प्रयोग गर्नु पर्ने र यस सन्दर्भमा आन्तरिक ऋण बाह्य ऋणसँगै तुलना गर्न नमिल्ने उनको भनाइ थियो।
बजेट कार्यान्वयनको सन्दर्भमा अर्थशात्रीहरुको नजरमा आन्तरिक र बाह्य ऋण एकै नभएको र त्यसलाई फरक ढंगले हेर्नु पर्नेमा उनले जोड दिए । निजी क्षेत्र लगानीको निम्ति उत्साहित नभएको ठाउँमा सरकारले ऋण लिएरै भए पनि काम गर्नु पर्ने अधिकारीको धारणा छ ।
