पुनर्निर्माण सकेर पहिलो चरणमा साउन १९ देखि ११ मेगावाट उत्पादन गर्न थालिएको थियो, बिहीबारदेखि २२ मेगावाट उत्पादन सुरु
What you should know
हेटौंडा — गत वर्ष असोज ११ र १२ मा बागमतीको बाढीले क्षतिग्रस्त २२ मेगावाटको मान्डु हाइड्रोपावरले बिहीबारदेखि पूर्ण क्षमतामा पुनः विद्युत् उत्पादन थालेको छ । पुनर्निर्माण सकेर मान्डु हाइड्रोपावरले गत साउन १९ देखि ५० प्रतिशत विद्युत् उत्पादन सुरु गरेको थियो ।
‘बिहीबारदेखि पूर्ण क्षमतामा विद्युत् उत्पादन गर्न थालिएको छ,’ मान्डु हाइड्रोपावरका वरिष्ठ प्राविधिक मनोज सिंहले भने । पुनर्निर्माण सकेर पहिलो चरणमा ११ मेगावाट उत्पादन गरिएको थियो । बाढीले क्षतिग्रस्त संरचना पुनर्निर्माणको काम गत मंसिरदेखि सुरु गरिएको थियो । यसमा प्राविधिक र कामदार गरेर दिनको ६० जनाभन्दा बढी खटिएका थिए ।
सिस्नेरी बजारदेखि आयोजनास्थल पुग्ने सडक नै बाढीले क्षतविक्षत बनाएको थियो । मान्डु हाइड्रोले सडकको मर्मतसम्भार गरेर आयोजनास्थलसम्म पुग्ने बाटोसमेत खोलेर पुनर्निर्माणको काम अघि बढाएको थियो ।
मकवानपुरस्थित भीमफेदी गाउँपालिका–८ बागमती दोभानमा उत्पादन गृह राखेर विद्युत उत्पादन गर्दै आएको मान्डु हाइड्रोपावरका हेडवर्क्स, पावरहाउस, पेनस्टक पाइप र विद्युत्को टावर बाढी र पहिरोले क्षतिग्रस्त बनेका थिए । आयोजनाले २०७५ देखि २२ मेगावाट विद्युत् उत्पादन गर्दै आएको हाइड्रोपावरका प्रमुख सञ्चालक अधिकृत सुन्दर श्रेष्ठले बताए ।
निजी क्षेत्रको माण्डु हाइड्रोपावर कम्पनी र चाइनिज कम्पनीको संयुक्त लगानीमा बागमतीको पानीबाट विद्युत् उत्पादन गरिएको छ । सिइच्वाङ हेइच्वाङ चाइनिज कम्पनीको सहयोगमा मान्डु हाइड्रोपावरले चार अर्बको लगानीमा बागमती साना जलविद्युत् आयोजनाको निर्माण २०७२ जेठबाट सुरु गरेको थियो । २०७५ चैत १९ मा आयोजनाको उद्घाटन गरिएको थियो । बागमती र कोगटेको पानी इपापञ्चकन्या दोभानमा १० देखि १३ मिटर उचाइको बाँध बनाएर सुरुङमार्फत इपापन्चकन्याको बगरबेंसीस्थित पावर हाउसमा पुर्याएर विद्युत् उत्पादन गरिएको थियो ।
बाढीले बागमतीमा निर्मित ५५ मिटर लामो बाँधलाई पनि क्षति पुर्याएको थियो । उक्त बाँध हुँदै सुरुङबाट प्रतिसेकेन्ड १२ दशमलब ४ क्युसेक पानी बग्छ । बागमतीमा निर्मित बाँधबाट पावरहाउस २ हजार ४ सय ४० मिटर दूरीमा छ । आयोजनाबाट उत्पादित विद्युत् कम्पनीले बर्खायाममा प्रतियुनिट ४ रुपैयाँ ४० पैसामा र हिउँदमा ८ रुपैयाँ ४० पैसामा विद्युत प्राधिकरणलाई बिक्री गर्ने सम्झौता छ ।
आयोजनाको पावरहाउसबाट कुलेखानी प्रथमको सबस्टेसन साढे १३ किलोमिटर दूरीमा छ । कुलेखानी प्रथमको सबस्टेसनसम्म उत्पादित बिजुली पुर्याउन ४२ वटा टावर निर्माण गरिएको छ । त्यसमध्ये दुई टावरलाई बाढीले क्षतिग्रस्त बनाएको थियो ।
