समझदारी अनुसार जी-फिलोस कम्पनीले लगानी बोर्डबाट सर्वेक्षण अनुमतिपत्र प्राप्त गरेपछि विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन तयार गरी करिब १० महिनाभित्रमा लगानी बोर्डको कार्यालयमा पेस गर्नेछ ।
What you should know
काठमाडौँ — लगानी बोर्ड कार्यालय र दक्षिण कोरियाली कम्पनी जी–फिलोस कम्पनी लिमिटेडबीच नेपालमा ग्रीन हाइड्रोजन प्लान्ट तथा फ्यूल सेल स्थापनाका लागि विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन तयारी सम्बन्धमा समझदारी भएको छ । समझदारीपत्रमा लगानी बोर्डको तर्फबाट प्रमूख कार्यकारी अधिकृत सुशील ज्ञवाली तथा प्रस्तावक कम्पनी जी–फिलोस कम्पनी लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गावु पार्कले हस्ताक्षर गरेका हुन् ।
समझदारी अनुसार प्रस्तावक कम्पनी जी–फिलोस कम्पनीले लगानी बोर्डबाट सर्वेक्षण अनुमतिपत्र प्राप्त गरेपछि विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन तयार गरी करिब १० महिनाभित्रमा लगानी बोर्डको कार्यालयमा पेस गर्नेछ ।
लगानी बोर्डका अनुसार परियोजना स्थापनाका लागि अनुमानित ७ अर्ब रुपैयाँ लगानी लाग्नेछ ।
कम्पनीले प्रारम्भिक चरणमा २० मेगावाट क्षमताको ग्रीन हाइड्रोजन उत्पादन गर्ने प्रस्ताव गरिएको छ ।
कार्यक्रममा नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क ताए योङले नेपालमा यस प्रकारका नवीकरणीय स्वच्छ ऊर्जाको प्रचुर सम्भावना रहेको औंल्याउँदै यस्ता परियोजनाहरूले नेपालले परिलक्षित गरेका दिगो विकास लक्ष्यहरुको प्राप्तीमा कोशेढुंगा सावित हुने बताए । नेपाल र दक्षिण कोरियाबीचको द्विपक्षिय सम्बन्धमा नयाँ आयाम थप्नेमा उनले जोड दिए ।
विद्युत् नियमन आयोगका अध्यक्ष रामप्रसाद धितालले जी–फिलोस कम्पनीको अध्ययनका आधारमा नेपालमा केही परियोजना सुरु गर्न सकिने बताए । ‘ग्रीन हाइड्रोजन उत्पादन महँगो भन्ने छ, यो अध्ययनले के–कति लाग्छ भन्ने पनि देखाउँछ,’ उनले भने । सरकारले ऊर्जा मिश्रणको नीति लिएको भन्दै धितालले सहज हुने र आफूले परेको ठाउँमा सहयोग गर्ने बताए ।
विद्युत् विकास विभागका महानिर्देशक जिवछ मण्डल, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव चिरञ्जीवी चटौत, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य उपस्थित थिए ।
काठमाडौं विश्वविद्यालयका अनुसन्धानकर्ता विराज सिंह थापाले नेपालमा ग्रीन हाइड्रोजनको सम्बन्धमा मौजुदा नीतिगत तथा कानूनी व्यवस्था, यसका बहुआयामिक लाभका विषयहरू तथा आगामी दिनमा यस प्रकारका ऊर्जाको उपयोगबारे जानकारी दिए ।
बोर्डका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले ग्रीन हाइड्रोजन परियोजनामा प्राज्ञिक क्षेत्रको समेत महत्त्वपूर्ण भूमिका रहने भन्दै नेपाल जस्तो राष्ट्रमा पुँजी तथा प्रविधिको विनिमयमा महत्त्वपूर्ण भूमिका खेल्ने बताए । प्रस्तावक कम्पनीले निर्दिष्ट समयमै गुणस्तरीय प्रतिवेदन पेस गर्ने भन्दै ज्ञवालीले अध्ययनपश्चात यथासक्य छिटो नेपालमा ग्रीन हाइड्रोजन प्लान्ट स्थापना हुने प्रतिबद्धता गरे ।
जी–फिलोस कम्पनी लिमिटेडले नेपालमा सार्वजनिक–निजी साझेदारी ढाँचामा ग्रीन हाइड्रोजन तथा फ्युल सेल प्लान्ट स्थापना, विकास तथा सञ्चालनका लागि २०८२ वैशाख १५ मा लगानी बोर्डको कार्यालयमा प्रस्ताव पेस गरेको थियो । लगानी बोर्डको ६३औं बोर्ड बैठकले उल्लिखित प्रस्तावक कम्पनीसँग समझदारी गरी सर्वेक्षण अनुमति प्रदान गर्ने निर्णय गरेको थियो ।
