देशभर ९५ प्रतिशत रोपाइँ, ८ लाख टन धान उत्पादन घट्ने अनुमान

यो वर्ष मनसुन सबै जिल्लामा सक्रिय नहुँदा खेतीयोग्य ७० हजार १ सय ७३ हेक्टरमा रोपाइँ हुन सकेन। गत वर्ष भदौ ७ सम्म भने ९८.५४ प्रतिशत रोपाइँ भएको थियो । 

भाद्र ११, २०८२

कान्तिपुर संवाददाता

95 percent of planting, 8 million tons of rice production is estimated to decrease across the country

What you should know

काठमाडौँ — सबै क्षेत्रमा मनसुन सक्रिय नहुँदा यस वर्ष ९४.९ प्रतिशत मात्रै रोपाइँ भएको छ । मुलुकभर १३ लाख ७६ हजार ४ सय ६६ हेक्टरमा बर्खे धान रोपाइँ हुन्छ । यही भदौ ८ सम्म १३ लाख ६ हजार २ सय ९३ हेक्टरमा मात्रै रोपाइँ भएको बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रले जनाएको छ । गत वर्ष भदौ ७ सम्म भने ९८.५४ प्रतिशत रोपाइँ भएको थियो । 

यसपालि मनसुन सबै जिल्लामा सक्रिय नहुँदा खेतीयोग्य ७० हजार १ सय ७३ हेक्टरमा रोपाइँ हुन नसकेको केन्द्र प्रमुख केशव देवकोटाले बताए । ‘मुलुकभर धान रोपाइँ सकिएको छ, तुलनात्मक रूपमा गत वर्षभन्दा रोपाइँ कम भएको छ,’ उनले भने, ‘धान रोपाइँ कम हुनुको कारण सिँचाइ अभाव नै हो । पानी अभावले यस वर्ष रोपाइँ घटेको छ ।’ 

कम हेक्टरमा रोपाइँ हुँदा यसै उत्पादन घट्छ, रोपाइँ भइसकेपछि पनि खडेरीले समस्या पारेकाले उत्पादन घट्ने देखिन्छ : सुशील सुवेदी, धान वैज्ञानिक, नेपाल कृषि अनुसन्धान परिषद्नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का धान वैज्ञानिक सुशील सुवेदीले यस वर्ष धान उत्पादन कम्तीमा ८ लाख टन घट्ने जनाए । ‘प्रतिहेक्टर ३.७९ टन उत्पादकत्वको हिसाबले ७० हजार हेक्टरमा रोपाइँ नहुँदा करिब २ लाख ६५ हजार टन घट्छ । धेरैजसो ठाउँमा छिप्पिएको बीउ ढिलोगरी रोपाइँ भएको छ । रोपाइँ भइसकेपछि पनि खडेरीले समस्या पारेको अवस्था भयो,’ उनले भने, ‘किसानले लोकल बीउ वा हाइब्रिड कस्तो जातको बीउ लगाएका छन् । त्यसमा पनि भर पर्ने देखियो । मलको अवस्थाले पनि निर्धारण गर्छ । फेरि पानी परेर बाढी आयो भने पनि उत्पादनमा असर गर्छ । यी सबै हेर्दा यसपालि करिब ८ लाख टन उत्पादन घट्छ ।’ 

कृिष मन्त्रालयका अधिकारीहरू पनि उत्पादन घट्ने बताउँछन् । तर तत्काल कति उत्पादन घट्छ भन्न सक्ने अवस्था नरहेको उनीहरूको भनाइ छ । ‘खडेरीले प्रयाप्त रोपाइँ हुन सकेन । किसानले कस्तो बीउ लगाएका छन्, त्यो पनि थाहा भएन । मलको अवस्था पनि उस्तै छ, सहजै पाएका छैनन् । त्यसले पनि पक्कै उत्पादनमा असर गर्छ’ मन्त्रालयका एक सहसचिवले भने, ‘धेरैजसो किसानले ढिलागरी रोपेका छन, उत्पादन धेरै नै घट्छ । तर यति नै घट्ने भनेर अहिले नै यकिन गर्न गाह्रो हुन्छ ।’

केन्द्रका अनुसार सबैभन्दा मधेश प्रदेशमा समस्या देखिएको छ । मधेशलाई धान उत्पादनको राजधानी पनि भनिन्छ । मधेशमा ३ लाख ७० हजार १ सय ४५ हेक्टरमा रोपाइँ हुन्छ । तर यसपालि यहाँ ८६.३५ प्रतिशत मात्रै रोपाइँ भएको छ ।

गत वर्ष मधेशमा ९७ प्रतिशत रोपाइँ भएको थियो । मधेशमा खडेरीकै कारण रोपाइँ हुन सकेन । पछिल्लो समय पानी परेपछि किसानहरूले छिपिएकै बीउ रोपेका थिए । यद्यपि, शतप्रतिशत रोपाइँ हुन सकेन । 

केन्द्रका अनुसार कोशी प्रदेशमा पनि रोपाइँ घटेको छ । कोशीमा २ लाख ७६ हजार ३ सय ८६ हेक्टरमा रोपाइँ हुन्छ । यस वर्ष ९७.२४ प्रतिशत मात्रै रोपाइँ भएको छ । २०८१ भदौ ७ सम्म भने कोशीमा शतप्रतिशत रोपाइँ भएको थियो । कोशीमा पनि पानी अभावकै कारण शतप्रतिशत रोपाइँ नभएको केन्द्रको ठहर छ । त्यस्तै, बागमती प्रदेशमा ९७.२७ प्रतिशत रोपाइँ भएको छ । बागमतीमा १ लाख १५ हजार ६ सय २१ हेक्टरमा धान रोपाइँ हुन्छ । जसमध्ये १ लाख १२ हजार ४ सय ५९ हेक्टरमा मात्रै रोपाइँ भएको छ । गत वर्ष बागमतीमा ९९ प्रतिशत रोपाइँ भएको थियो । 

गण्डकीमा ९६.६३ प्रतिशत रोपाइँ भएको छ । गण्डकी प्रदेशमा ९४ हजार १ सय ८२ हेक्टरमा बर्खे धान रोपाइँ हुन्छ । गत वर्ष गण्डकीमा ९८ प्रतिशत रोपाइँ भएको थियो । लुम्बिनीमा ९८.३७ प्रतिशत अर्थात् २ लाख ९८ हजार ११ हेक्टरमा रोपाइँ भएको छ । गत वर्ष लुम्बिनीमा ९८ प्रतिशत रोपाइँ भएको थियो । कर्णालीमा भने शतप्रतिशत जस्तै रोपाइँ भएको छ । केन्द्रका अनुसार कर्णाली प्रदेशमा ४१ हजार ४२ हेक्टरमा रोपाइँ हुन्छ । भदौ ८ सम्म ९९.३४ प्रतिशत रोपाइँ भएको छ । गत वर्ष कर्णालीमा ९९ प्रतिशत रोपाइँ भएको थियो । 

त्यस्तै, सुदूरपश्चिममा पनि ९९.७२ प्रतिशत अर्थात् १ लाख ७५ हजार ६ सय ५२ हेक्टरमा रोपाइँ भएको छ । गत वर्ष सुदूपश्चिममा शतप्रतिशत रोपाइँ भएको थियो । सुदूरमा १ लाख ७६ हजार १ सय ५१ हेक्टरमा बर्खे धान रोपाइँ हुन्छ । खेतीयोग्य जमिनमा रोपाइँ कम हुँदा उत्पादन घटेर धान/चामलको आयात बढ्ने जानकारहरू बताउँछन् । 

गत आर्थिक वर्ष २०८१/८२ मा ५९ लाख ५५ हजार ४ सय ७६ टन धान उत्पादन भएको थियो । यो परिमाण आर्थिक वर्ष २०८०/८१ को भन्दा २ लाख ३१ हजार २ सय ४२ टन बढी भए पनि गत आर्थिक वर्षमा २० अर्ब ३५ करोडको ५ लाख टन धान (बीउसहित) आयात गरिएको थियो । १८ अर्ब ६६ करोडको २ लाख ४१ हजार टन चामल (कनिकासहित) आयात भएको थियो ।

कान्तिपुर

Link copied successfully