भोटेकोशी जलविद्युत् कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रामगोपाल सिवाकोटीले बाह्रबिसे सवस्टेसनको काम पूरा नभएकाले न्युखिम्ती सवस्टेशनको करिब ४० किमि ट्रान्समिसन लाइनमार्फत विद्युत् प्रवाह गराइने छ ।
What you should know
काठमाडौँ — सिन्धुपाल्चोकमा निर्माण भएको १०२ मेगावाट क्षमताको मध्य भोटेकोशी जलविद्युत् आयोजनाको ट्रान्समिसन लाइनको परीक्षण बुधबार सुरु भएको छ । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे मुख्य प्रवर्द्धक रहेको आयोजनाले अब एक साताभित्र उत्पादन परीक्षण सुरु गर्ने छ ।
भोटेकोशी जलविद्युत् कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रामगोपाल सिवाकोटीले बाह्रबिसे सवस्टेसनको काम पूरा नभएकाले न्युखिम्ती सवस्टेशनको करिब ४० किमि ट्रान्समिसन लाइनमार्फत विद्युत् प्रवाह गराइने छ । त्यसैले खिम्ती सवस्टेशनले जाँच गरेको विद्युत् मध्य भोटेकोशीको पावर हाउसम्म जोडिएको लाइनमा परीक्षण गरिएको हो । ‘अब हामी साताभित्रै उत्पादन सुरु गछौं,’ सिवाकोटीले भने, ‘आयोजनाको बाँध, सुरुङ तथा पावर हाउसको मेसिन टेस्टिङ सकिएको छ । ट्रान्समिसन लाइन सफलतापूर्वक परीक्षण भएपछि विद्युत् उत्पादनमा समस्या छैन ।’ उनका अनुसार न्यू खिम्तीको ४०० केभी पावरको ट्रान्समिसन लाइनमा मध्य भोटेकोशीको २२० केभी मात्र पावर पठाउने तयारी गरिएको छ ।
उत्पादित विद्युत् ढल्केबर सवस्टेशनमार्फत राष्ट्रिय ग्रिडमा जोड्ने योजना रहेको छ । आयोजना सुरु भएको झण्डै १४ वर्षमा विद्युत् उत्पादन सुरु हुने लगभग निश्चित भएको हो । स्थानीय अवरोध, आयोजनाको आन्तरिक प्रशासनिक समस्या, कोभिड, बाढीपहिरो, भूकम्प, भारतीय सीमामा भएको अवरोधलगायतका कारणले बेलाबेलामा निर्माण अवरुद्ध हुँदै आएको उक्त आयोजना २०६८ मा सुरु भएको थियो । आयोजनाको ठेकेदार छनौटलगायतको काम कुलमान घिसिङले सुरु गराएका थिए । राधा ज्ञवाली उर्जामन्त्री भएकाबेला घिसिङलाई जबरजस्ती सरुवा गरेपछि पनि केही समय आयोजना निर्माण रोकिएको थियो ।
चीनको सीमा भोटेकोशी गाउँपलिका चाकुमा बाँध तथा बाह्रबिसे नगरपालिकाको जम्बुमा पावर हाउस रहेको आयोजनाको सुरुङ ७.५ किमि रहेको छ । गत वर्ष सुरुङमा पानी पठाएपछि चुहिएकाले मर्मत गरिएको थियो । अहिले आयोजनाको सबै संरचनाको परीक्षण गरिसकिएको छ । भोटेकोशी नदीमा रन अफ द चिभरमा आधारित उक्त आयोजनाको लागत भने २० अर्ब नाघिसकेको छ । आयोजना सुरु गर्ने समयमा १२ अर्ब ३३ करोड २८ लाख लगात अनुमान गरिएको थियो । तोकिएको समयमा आयोजना पूरा गरेर विद्युत् उत्पादन गर्न नसक्दा दैनिक ५० लाखभन्दा बढी ऋणको ब्याज मात्र तिरिरहेको छ । लगानी बढेकाले प्रतिमेगावाट विद्युत् उत्पादन लागत २१ करोड नाघ्ने अनुमान गरेको छ । वार्षिक ५४ करोड २२ लाख विद्युत् उत्पादन हुने लक्ष्य रहेको उक्त आयोजनाबाट वार्षिक २ अर्ब ८० करोड आम्दानी हुने अनुमान रहेको छ ।
