अहिले सुरुङभित्र जडित जेट फ्यान, सीसीक्यामरा, बत्तीलगायत उपकरणको अन्तिम चरणमा परीक्षणको काम भइरहेको छ ।
What you should know
काठमाडौँ — नागढुंगा–सिस्ने खोला सुरुङमार्ग अंग्रेजी नयाँ वर्ष २०२६ बाट सञ्चालनमा आउने भएको छ । निर्माणको काम अन्तिम चरणमा पुगेको आयोजनाको सिस्ने खोलातर्फ सुरुङको मुख नजिकैको पहाड सुधारको काम मात्र बाँकी छ ।
सुरुङबाट यातायात सञ्चालन गर्नेसम्बन्धी निर्देशिकासमेत यातायात व्यवस्था विभागबाट जारी भइसकेको नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाका प्रमुख सौजन्य नेपालले बताए ।
‘अंग्रेजी नयाँ वर्षबाट सुरुङ सञ्चालनमा ल्याउने अहिलेसम्मको तयारी छ,’ नेपालले भने, ‘त्यसअघि सुरुङभित्र जडित उपकरणको परीक्षण र त्यहाँ निर्मित भौतिक संरचनामा सवारीसाधन चलाएर हेर्छौं ।’ त्यस अवधिमा जनशक्तिदेखि र सञ्चालन गर्ने निकायसमेत छानिसकिने नेपालको भनाइ छ । ‘सुरुङ सञ्चालन गर्ने निकाय छान्ने तयारीमा छौं,’ उनले भने, ‘त्यसका लागि १५ दिनभित्र बोलपत्र आह्वान गरिसक्छौं ।’
अहिले सुरुङभित्र जडित जेट फ्यान, सीसीक्यामरा, बत्तीलगायत उपकरणको अन्तिम चरणमा परीक्षणको काम भइरहेको छ । ‘पहिला पार्ट–पार्टमा मात्र परीक्षण गरिएको थियो,’ नेपालले भने, ‘अहिले एकैचोटि सबैको परीक्षण भइरहेको छ ।’ धादिङतर्फ पहिरो रोकथामको काम बर्खाले गर्दा रोकिएको र भदौ अन्तिमबाट सुरु गरिने उनले बताए । ‘काठमाडौंतर्फ किसिपिडीमा फ्लाइओभर निर्माणको काम पनि सकिएको छ,’ उनले भने, ‘अहिले सडक मार्किङको काम हुँदै छ ।’
सुरुङमा गुड्ने सवारी शुल्क स्वीकृत
सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनका लागि लाग्ने शुल्क मन्त्रिपरिषद्बाट स्वीकृत भएको छ । सडक बोर्ड नेपालको प्रस्तावमा गत साउन २६ मा बसेको मन्त्रिपरिषद् बैठकबाट यसलाई स्वीकृत गरिएको हो । सुरुमा कायम शुल्क दुई वर्षसम्म परिवर्तन नहुने गरी मन्त्रिपरिषद्बाट स्वीकृत गराइएको सडक बोर्ड नेपालका कार्यकारी निर्देशक गणेशबहादुर केसीले बताए ।
प्रस्तावअनुसार कार र भ्यानलाई काठमाडौं भित्रिँदा ६५ र बाहिरिँदा ६० रुपैयाँ तोकिएको छ । यस्ता सवारी दिनको ८ सय ५९ हाराहारी संख्यामा भित्रिने र ६ सय ४६ संख्यामा बाहिरिने आयोजनाको अनुमान छ । त्यस्तै मिनी बस–ट्रक, टिपरलाई काठमाडौं भित्रिँदा १ सय १५ र बाहिरिँदा ८० रुपैयाँ शुल्क तोकिएको छ । यी सवारी प्रतिदिन ५ सय ४० को संख्यामा उपत्यका भित्रिने र ४ सय ६ वटाको संख्यामा बाहिरिने आयोजनाले जनाएको छ ।
बस, ट्रकले सुरुङमार्ग भएर काठमाडौं छिर्दा २ सय ६० र यही मार्ग भएर बाहिरिँदा २ सय रुपैयाँ शुल्क तिर्नुपर्नेछ । यस्ता सवारी दिनको ७ सय ९४ भित्रने र ५ सय ९७ बाहिरिने आयोजना कार्यालयको अनुमान छ । ठूला ट्रक र हेभी सवारी (लरी) साधनले भने सुरुङबाट उपत्यका भित्रिँदा ६ सय र बाहिरिँदा २ सय ५० रुपैयाँ टोल शुल्क तिर्नुपर्नेछ । यी सवारी दिनको ५ सय ९६ भित्रिने र बाहिरिने ४ सय ४८ रहेको आयोजनाको अनुमान छ ।
सुरुमा मन्त्रिपरिषद्मा पेस गरिएको शुल्क पछि सरोकारवाला निकायबीच छलफल गरेर थपघट गरिएको सडक विभागका महानिर्देशक विजय जैसीको भनाइ छ । अहिले मुख्य राजमार्गबाट गुड्ने सवारीमध्ये ६० प्रतिशतले सुरुङ प्रयोग गर्ने अनुमानसहित तथ्यांक निकालिएको उनले जनाए । सुरुङ सञ्चालनमा आएपछि मात्र शुल्क लागू हुने नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाका प्रमुख नेपालले बताए ।
नागढुंगा–सिस्ने खोला सुरुङमार्ग यातायात सञ्चालनसम्बन्धी निर्देशिका, २०८१ भने गत चैत २५ मा जारी भइसकेको छ । निर्देशिकाअनुसार सुरुङ सञ्चालनमा आएपछि पैदलयात्री, दुईपांग्रे, तीनपांग्रे सवारी र नन मोटोराइज्ड सवारीले सुरुङमा प्रवेश पाउने छैनन् । डिजेल, पेट्रोल, ग्यासलगायत अत्यधिक प्रज्वलनशील पदार्थ र विस्फोटक पदार्थ बोकेका सवारीलाई पनि सुरुङमार्गमा निषेध गरिनेछ ।
१८ मिटर लम्बाइ वा २.५ मिटर चौडाइभन्दा ठूला सवारीसाधन सुरुङभित्र चलाउन नपाइने निर्देशिकामा उल्लेख छ । मालवाहक सवारीको भारवहन नियमन निर्देशिका, २०७४ र सडक विभाग तथा यातायात व्यवस्था विभागबाट जारी भारवहनसम्बन्धी निर्देशिकाले तोकेको क्षमताभन्दा बढी भार बोकेका सवारीसाधनलाई सुरुङमार्गमा निषेध गरिएको छ ।
सुरुङमार्गको ९४.५ प्रतिशत काम सकियो
४२ महिनाभित्र सक्ने भन्दै २०७६ कात्तिक ४ मा निर्माण सुरु गरिएको सुरुङमार्ग आयोजनाको काम ६९ महिना बितिसक्दा पनि सकिएको छैन । अहिलेसम्म समग्र आयोजनाको निर्माण प्रगति ९४.५ प्रतिशत सकिसकेको छ । अब साढे ५ प्रतिशत मात्र काम बाँकी छ ।
सुरुमा कोभिड र पछि स्थानीयको अवरोधका कारण आयोजना सम्पन्न गर्न ढिला भएको आयोजनाको दाबी छ । सिस्ने खोलाबाट नागढुंगा सडक हुँदै बलम्बुसम्म आइपुग्न ३३ र बाहिरिँदा २३ मिनेट समय लाग्ने आयोजनाको भनाइ छ । तर सुरुङमार्ग सञ्चालनमा आएपछि ७ मिनेटमै सिस्ने खोलाबाट बलम्बुको किसिपिडी आइपुगिने आयोजनाले बताएको छ । बलम्बुको किसिपिडीबाट सुरुङमार्ग प्रवेश गर्ने मुख टुटीपाखासम्मको २.३०७ किमि सडक दुई लेनमा निर्माण भइसकेको छ ।
मुख्य सुरुङ २ हजार ६ सय ८८ मिटर र आपत्कालीन सुरुङको दूरी २ हजार ५ सय ५७ मिटर छ । परियोजनाको कुल ठेक्का रकम २२ अर्ब रुपैयाँ हो । जसमा जापानको १६ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण र नेपाल सरकारको ६ अर्ब रुपैयाँ लगानी छ । सुरुङ निर्माणको ठेक्का जापानी कम्पनी हाज्मा एन्डो कर्पोरेसनले लिएको हो । सुरुङमार्ग सञ्चालनमा आएपछि नागढुंगा उकालोमा दैनिक हुने ट्राफिक जाम कम हुने सडक विभागले जनाएको छ ।
