उखु किसानलाई अनुदान रकम निकासा, बिहीबारसम्ममा किसानको खातामा पुग्ने

मन्त्रिपरिषद्‍को बैठकले यस पटक उखु किसानलाई प्रतिक्विन्टल ३५ रुपैयाँ अनुदान उपलब्ध गराउने निर्णय गरे पनि प्राविधिक कारण जनाउँदै अर्थ मन्त्रालयले निकासा गर्न ढिलाई गरेको थियो ।

भाद्र १०, २०८२

कान्तिपुर संवाददाता

Disbursement of grant money to sugarcane farmers, reaching farmers' accounts by Thursday

काठमाडौँ — सरकारले उखु किसानहरुलाई प्रोत्साहन, अनुदानबापतको रकम मंगलबार निकासा गरेको छ । अर्थ मन्त्रालयले यसबापत ७५ करोड ४९ लाख ३८ हजार २४० रुपैयाँ निकासा गरेको हो ।

निकासा गरिएको रकम जिल्लास्थित कोष तथा लेखा नियन्त्रकको कार्यालयमार्फत किसानको बैंक खातामार्फत भुक्तानी हुने कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । 

मन्त्रिपरिषद्‍को बैठकले यस पटक उखु किसानलाई प्रतिक्विन्टल ३५ रुपैयाँ अनुदान उपलब्ध गराउने निर्णय गरे पनि प्राविधिक कारण जनाउँदै अर्थ मन्त्रालयले निकासा गर्न ढिलाई गरेको थियो । यो रकम नपाउँदा उखु किसानले काठमाडौंकेन्द्रित आन्दोलन गर्दै आएका छन् । यसअघि उखु किसानहरुले प्रतिक्विन्टल ७० रुपैयाँ प्रोत्साहनस्वरुप पाउँदै आएका थिए । 

कृषि मन्त्रालयले उखु किसानलाई यति नै रकम उपलब्ध गराउन मन्त्रिपरिषद्‍मा प्रस्ताव लगे पनि मुलुकको आर्थिक अवस्था, आवश्यकताका आधारमा ३५ रुपैयाँ उपलब्ध गराउने निर्णय भएको थियो ।

यसैबीच काठमाडौंमा जम्मा भएका उखु किसान र कृषि मन्त्रालयका प्रतिनिधिबीच सिंहदरबारस्थित मन्त्रालयमा वार्ता भएको छ । वार्तामा मन्त्रालयका तर्फबाट कृषि विभागका उपमहानिर्देशक ललनकुमार सिंह, मन्त्रालयका उपसचिव लालकुमार श्रेष्ठ र मणिरत्न अर्याल र उद्योग मन्त्रालयका प्रतिनिधि सहभागी छन् भने उखु किसानका तर्फबाट श्यामबाबु रायलगायत छन् । 

यसअघि कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले आजै उपमहानिर्देशक सिंहको संयोजकत्वमा ४ सदस्यीय वार्ता टोली गठन गरेका थिए । 

कान्तिपुर संवाददाता

Link copied successfully