४४ मेगावाटको भोटेकोशी–१ को सुरुङ ब्रेकथ्रु

भोटेकोशी नदीको पानीमा आधारित यो तेस्रो विद्युत् आयोजना हो । विदेशी लगानीमा बनेको पहिलो आयोजना भोटेकोशीबाट ४५ मेगावाट क्षमता उत्पादन भइरहेको छ भने १०२ मेगावाटको मध्य भोटेकोशीले मंगलबारदेखि ट्रान्समिसन लाइनमा विद्युत् परीक्षण गर्दै छ ।

भाद्र ९, २०८२

ऋषिराम पौड्याल

Tunnel breakthrough of 44 MW Bhotekoshi-1

What you should know

काठमाडौँ — निजी क्षेत्रको लगानीमा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा निर्माणाधीन ४४ मेगावाट क्षमताको भोटेकोशी–१ जलविद्युत् आयोजनाको सुरुङ सोमबार ब्रेकथ्रु गरिएको छ ।

इलेक्ट्रो पावर कम्पनीको लगानीमा उक्त आयोजना निर्माण भइरहेको छ । आयोजनाले सुरुङ निर्माण २०८० फागुनमा सुरु गरेको थियो । २ किमि ६ सय ३८ मिटर लम्बाइको सुरुङको चौडाइ ५.२ र उचाइ ५.२ मिटरको रहेको छ । सुरुङ निर्माणमा संलग्न भूगोल इन्फास्ट्रक्चर कम्पनीले उक्त सुरुङको फिनिसिङ पूरा गर्न ६ देखि ८ महिना लाग्ने अनुमान गरेको छ । 

भोटेकोशी गाउँपालिका–३ र ४ मा बाँध तथा सोही पालिकाको वडा नम्बर ५ चाकुमा विद्युत् गृहको निर्माण भइरहेको छ । मुख्य लगानीकर्ता इलेक्ट्रो पावरका अध्यक्ष मोहनविक्रम कार्कीले आगामी फागुनसम्म उत्पादन सुरु गर्ने योजनासहित अन्य काम भइरहेको जानकारी दिए । उनका अनुसार करिब ९ अर्ब ५६ करोड लागत अनुमान गरिएको उक्त आयोजनाको लागनीकर्ता सबै नेपाली रहेका छन् ।

भोटेकोशी नदीको पानीमा आधारित यो तेस्रो विद्युत् आयोजना हो । विदेशी लगानीमा बनेको पहिलो आयोजना भोटेकोशीबाट ४५ मेगावाट क्षमता उत्पादन भइरहेको छ भने १०२ मेगावाटको मध्य भोटेकोशीले मंगलबारदेखि ट्रान्समिसन लाइनमा विद्युत् परीक्षण गर्दै छ । उक्त आयोजनाले साता भित्रै परीक्षण उत्पादनको तयारी गरेको छ ।

मध्य भोटेकोशीकै पावर हाउसको तल्लो भागमा ४६ मेगावाटको भोटेकोशी–५ आयोजना निर्माणको तयारी गरिएको छ । इलेक्ट्रोकै अध्यक्ष कार्की नेतृत्वको समूहले कालिका इनर्जी लिमिटेड खरिद गरेर निर्माण गर्ने तयारी गरेको हो । उक्त आयोजना बाह्रबिसे नगरपालिका र त्रिपुरासुन्दरी गाउँपालिका क्षेत्रमा निर्माण हुनेछ ।   

ऋषिराम पौड्याल कान्तिपुरका संवाददाता हुन् । उनी निजामती प्रशासन, संसदीय मामिला, संघीयता र राजस्वसँग सम्बन्धित रिर्पोटिङ गर्छन् ।

Link copied successfully