अर्थ मन्त्रालय मातहतका ९० जना अधिकृतको जिम्मेवारी हेरफेर

अर्थमन्त्री पौडेलले पटकपटक सरुवा गर्दै अर्थ मन्त्रालयका अधिकारीहरूको जिम्मेवारी हेरफेर गरेका छन्, बजेट कार्यान्वयन प्रभावित हुनसक्छ।

भाद्र ९, २०८२

न्युज एजेन्सी नेपाल

Responsibilities of 90 officers under the Ministry of Finance have been changed

What you should know

काठमाडौँ — अर्थ मन्त्रालय मातहतका ९० जना अधिकृतको जिम्मेवारी हेरफेर गरिएको छ। गत सातामात्रै अर्थ मन्त्रालय मातहतका उच्चपदस्थसहित ८० भन्दा बढी कर्मचारीहरूको सरुवा गरिएको थियो। फेरि उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलकै इच्छामा शाखा अधिकृतहरूको पनि व्यापक रूपमा जिम्मेवारी हेरफेर गरिएको छ।

रसुवागढी भन्सार कार्यालयमा कार्यरत रवीन्द्र प्याकुरेललाई आन्तरिक विभाग मातहतका कार्यालयमा ल्याइएको छ। ठूला करदाता कार्यालय ललितपुरमा कार्यरत निर्मलकुमार मैनालीलाई राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा पठाइएको छ।

यस्तै अन्य दर्जनौं अर्थका अधिकृतहरूको जिम्मेवारी हेरफेर गरिएको हो। यसअघि सहसचिव र उपसचिवहरूको जिम्मेवारी हेरफेर गरिएको छ। जसअनुसार वीरगन्ज भन्सारका प्रमुख भन्सार अधिकृत राजेन्द्र ढुङ्गानालाई अर्थ मन्त्रालयमा तानिएको र उनको ठाउँमा काजीबाबु कोइरालालाई पठाइएको छ । यो सरकार बनेको १ वर्ष पुग्दै गर्दा अर्थमन्त्री पौडेलले भन्सार विभागमा एक वर्षमा चार जना महानिर्देशक फेरेका थिए।

मन्त्री पौडेलले आफैँले महानिर्देशक बनाएका महेश भट्टराईलाई ६ महिनामै हटाए। भट्टराईलाई अर्थ मन्त्रालयको आर्थिक नीति विश्लेषण महाशाखामा सरुवा गरी उनको ठाउँमा अर्थ मन्त्रालयको योजना अनुगमन तथा मूल्याङ्कन महाशाखा प्रमुख श्याम भण्डारीलाई महानिर्देशक बनाइएको छ ।

पौडेल २०८१ असार ३१ गते मन्त्री नियुक्त हुँदा विभागको महानिर्देशक ढुण्डिराज निरौला थिए। पौडेलले निरौलालाई एक महिनामै हटाए। निरौलालाई तत्कालीन अर्थमन्त्री वर्षमान पुनले २०८० चैत १९ गते महानिर्देशक बनाएका थिए। पौडेलले निरौलाको स्थानमा गत भदौ ६ गते हरिशरण पुडासैनीलाई महानिर्देशक बनाए। तर पुडासैनीलाई पौडेलले ६ महिना पनि काम गर्न दिएनन्। पुडासैनीको ठाउँमा फागुनमा भट्टराईलाई जिम्मेवारी दिइएको थियो।

मन्त्री पौडेलका विश्वासपात्र मानिने भट्टराईको पनि ६ महिनामै सरुवा गरिएको छ। अहिले उनलाई मन्त्रालयमा तानिएको छ। भण्डारीलाई भन्सार विभागको महानिर्देशक बनाएर मन्त्रालयको योजना अनुगमन तथा मूल्याङ्कन महाशाखा प्रमुखको जिम्मेवारी टङ्कप्रसाद पाण्डेलाई दिइएको छ। भन्सार विभागका उपमहानिर्देशक जनकराज शर्मालाई आन्तरिक राजस्व विभागको उपमहानिर्देशक बनाइएको छ। ठूला करदाता कार्यालयका प्रमुख कर प्रशासक रमेश अर्याललाई पनि मन्त्री पौडेलले आन्तरिक राजस्व विभागको उपमहानिर्देशकको जिम्मेवारी दिएका छन्।

अर्थमन्त्री पौडेलले सहसचिव भरतमणि पाण्डेलाई भन्सार विभागको उपमहानिर्देशकमा सरुवा गरेका छन् भने सहसचिव टंकनाथ लम्साललाई त्रिभुवन विमानस्थल भन्सार कार्यालय पठाएका छन्। पछिल्ला दिनहरूमा अर्थ मन्त्रालय मातहतका निकायहरूमा सरुवा व्यापक रूपमा भइरहँदा बजेट कार्यान्वयन प्रभावित हुने खतरा बढेको जानकारहरू बताउँछन्।

न्युज

Link copied successfully