बोर्डले विज्ञापन नियमावलीअन्तर्गत सूचीकरण नगर्ने एजेन्सीलाई कारबाही हुने चेतावनी दिएको छ ।
काठमाडौँ — विज्ञापनको कारोबार गर्ने सञ्चारमाध्यम तथा विज्ञापन एजेन्सीहरूलाई अनिवार्य रूपमा सूचीकरण तथा नवीकरण गर्न विज्ञापन बोर्डले आग्रह गरेको छ ।
बोर्डले आइतबार सूचना जारी गर्दै विज्ञापन (नियमावली) ऐन, २०७६ को दफा २६ अनुसार सञ्चारमाध्यम र एजेन्सीले विज्ञापन कारोबार गर्न बोर्डमा सूचीकृत हुन वा नविकरण अनिवार्य भएको जनाएको छ । सूचीकरण नगरेमा सञ्चारमाध्यम र एजेन्सीले विज्ञापन कारोबार गर्न नपाउने ऐनमा व्यवस्था छ ।
‘छापा, विद्युतीय, अनलाइन सञ्चारमाध्यम तथा विज्ञापन एजेन्सीहरू विज्ञापन बोर्डमा सूचीकरण तथा नवीकरण गर्नु/गराउनहुन अनुरोध छ,’ सूचनामा भनिएको छ, ‘सूचीकरण तथा नवीकरण नगरी विज्ञापनको कारोबार गरेमा प्रचलित कानुनबमोजिम कारबाही हुने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’
विज्ञापन (नियमावली) २०७७ को नियम ११ मा विज्ञापन एजेन्सी सूचीकृत हुनुपर्ने व्यवस्था छ । यसका लागि पाँच हजार रुपैयाँ दस्तुर तिरी दर्ता प्रमाणपत्र, सोको नविकरण गरेको कागजात, कर चुक्ता प्रमाणपत्र, वार्षिक कारोबार तथा त्यस्तो एजेन्सीको पूँजी संरचना देखि विवरण लगायत कागजातसहित निवेदन दिनुपर्छ ।
लोककल्याणकारी तथा सरकारी विज्ञापन बोर्डमार्फत वितरण गर्नुपर्ने व्यवस्था छ । बोर्डमार्फत विज्ञापन वितरण गर्न सरकारले छुट्याएको कुल बजेटको तीन प्रतिशत रकम बोर्डको कोषमा जम्मा हुन्छ । लोककल्याणकारी विज्ञापनका लागि सरकारले वार्षिक ३० करोड छुट्याउँदै आएको छ ।
