सगरमाथा ग्यास उद्योगले गर्‍यो ३ हजार ३० थान असुरक्षित तथा पुराना सिलिन्डर नष्ट

उपभोक्ताको हितलाई मध्यनजर गर्दै उद्योगले असुरक्षित तथा लिकेज भएका, फुटरिङ नेकरिङ बिग्रिएका, म्याद गुज्रिएका र हाइड्रोलिक परीक्षणको क्रममा फेल भएका सिलिन्डर नष्ट गरेको जनाएको छ ।

भाद्र ८, २०८२

कान्तिपुर संवाददाता

Sagarmatha Gas Industry destroyed 3 thousand 30 unsafe and old cylinders

What you should know

काठमाडौँ — सगरमाथा ग्यास उद्योग प्रालिले जोखिममा रहेका पुराना सिलिन्डहरु नष्ट गरेको छ । काभ्रेको बनेपा नगरपालिका–४ थापागाउँमा रहेको उद्योगले आइतबार ३ हजार ३० थान असुरक्षित तथा पुराना सिलिन्डर नष्ट गरेको हो ।

उपभोक्ताको हितलाई मध्यनजर गर्दै उद्योगले असुरक्षित तथा लिकेज भएका, फुटरिङ नेकरिङ बिग्रिएका, म्याद गुज्रिएका र हाइड्रोलिक परीक्षणको क्रममा फेल भएका सिलिन्डर नष्ट गरेको हो । आयल निगम, गुणस्तर तथा नापतौल विभाग, स्थानीय जनप्रतिनिधि, उपभोक्ता अधिकारकर्मीसहितको रोहोबरमा आइतबर सिलिन्डर नष्ट गरिएको हो । 

‘गत वर्षको बाढीले केही सिलिन्डर बिग्रने अवस्था आयो । बिग्रेको सिलिन्डर नष्ट गर्न आयल निगमको निर्देशन पनि थियो,’ आइतबार आयोजित सिलिन्डर नष्ट गर्ने कार्यक्रममा उद्योगका सञ्चालक सावरमल अग्रवालले भने, ‘बजारमा राम्रो र दुरुस्त ग्यास सिलिन्डर उपलब्ध गराउन पुराना सिलिन्डर नष्ट गरेका छौ ।’

सगरमाथा ग्यास उद्योगले सगर ब्रान्डको सिलिन्डर बिक्री गर्दै आएको छ । आइतबार नष्ट गरिएको सिलिन्डर गत भदौदेखि अहिलेसम्मको हो । ‘विगतमा पनि संकलन गरी नष्ट गर्थ्यौँ । औसतमा ३ देखि ५ सय सिलिन्डर नष्ट हुन्थ्यो । यसपटक बाढीले धेरै समस्या भयो । एक वर्षको अवधिमा ३ हजार बढी सिलिन्डर संकलन गरेका छौँ, संकलनको क्रम अझै जारी नै छ,’ उनले भने, ‘संकलन गरिएका सिलिन्डर सबै परीक्षण हुन्छ । मापदण्डभित्र नपर्ने सिलिन्डर नष्ट गरेका छौँ ।’ 

Sagarmatha Gas Industry destroyed 3 thousand 30 unsafe and old cylinders

दैनिक सात हजार पाँच सय सिलिन्डर भर्दै(रिफिल) आइरहेको सगरमाथा ग्यास उद्योगको बजारमा साढे ४ लाख सिलिन्डर रहेको जनाएको छ । बजारमा रहेका ती सिलिन्डर रिफिलिङको क्रममा परीक्षण गरिने उनले बताए । अनुगमनमा सहभागी आयल निगमका पदाधिकारी सञ्जीव संग्रौला र गुणस्तर तथा नापतौल विभागका इन्जोय मानन्धरले म्याद नाघेको र बिग्रेको सिलिन्डर नष्ट गर्नु सकारात्मक भएको बताए । सुरक्षित सिलिन्डर बजारमा पठाएर उपभोक्तालाई पनि सुरक्षित बनाउनुपर्ने बताए । 

हाल मुलुकमा ६० भन्दा बढी ग्यास उद्योग छन् । समयमै हाइड्रोलिङ/हाइड्रो स्टाटिक टेस्ट लगायत नहुँदा जोखिम बढ्दै गएको छ । हाइड्रोलिङ/हाइड्रो स्टाटिक परीक्षण हावा र पानीको प्रेसरबाट गरिन्छ । रिफिल भएको सिलिन्डर पानीमा डुबाइन्छ । त्यसलाई डिप टेस्ट पनि भनिन्छ । डिप टेस्ट गर्दा लिकेज भएको अवस्थामा फोकाहरू निस्कन्छ ।

कार्यक्रममा सहभागी उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले असुरक्षित तथा पुराना सिलिन्डर नष्ट गर्दा उपभोक्ताको पक्षमा हुने जनाए । हरेक ग्यास उद्योगीले आफ्नो दायित्व पूरा गर्दै पुराना र म्याद गुज्रिएका सिलिन्डर समयमै नष्ट गर्नुपर्ने बताए । 

कान्तिपुर संवाददाता

Link copied successfully