प्राविधिक जनशक्ति थपेर बजेट कार्यान्वयन गर्न पर्यटनमन्त्रीको निर्देशन 

आइतबार मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति तथा आर्थिक वर्ष २०८१/८२ को प्रगति समीक्षा बैठकलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले योजनाहरू अधुरै नराखी परिणाममुखी बनाउनुपर्नेमा जोड दिए ।

भाद्र ८, २०८२

कान्तिपुर संवाददाता

Instruction of the Minister of Tourism to implement the budget by adding technical manpower

What you should know

काठमाडौँ — संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले चालु आर्थिक वर्षको बजेट पूरा रूपमा कार्यान्वयन गर्न मन्त्रालय तथा मातहतका निकायलाई निर्देशन दिनुभएका छन् ।

आइतबार मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति तथा आर्थिक वर्ष २०८१/८२ को प्रगति समीक्षा बैठकलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले योजनाहरू अधुरै नराखी परिणाममुखी बनाउनुपर्नेमा जोड दिए । उनले भने, ‘प्राविधिक जनशक्ति थपेरै भए पनि बजेट कार्यान्वयनमा ध्यान दिनुपर्छ । भौतिक र वित्तीय प्रगतिमा असन्तुलन देखिँदा योजनाको वास्तविक अवस्था प्रस्ट हुन सक्दैन, त्यसैले कार्यान्वयन असम्भव देखिने योजना सुरुमै छोड्नुपर्छ ।’ 

मन्त्री पाण्डेले मन्त्रालयले मेहनतपूर्वक तयार पारेका योजनाहरूलाई व्यवहारमा उतार्न तीनै तहबीच मजबुत समन्वय आवश्यक रहेको औंल्याए । सेवाग्राहीका फाइल ढिलाइ गर्न नदिने, सक्रिय भएर काम गर्ने र प्रभावकारी रूपमा काम नगर्ने कर्मचारीलाई अन्यत्र पठाउने चेतावनीसमेत उनले दिए ।

समीक्षाका क्रममा मन्त्री पाण्डेले नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) र नेपाल माउन्टेन एकेडेमीको कार्यक्षेत्र भिन्न भएकाले ती संस्थालाई मर्ज गर्ने सम्भावना नरहेको बताए ।

बैठकमा मन्त्रालय र मातहत निकायहरूको बजेट खर्च स्थिति, सोह्रौँ योजना र वार्षिक कार्यसम्पादन सूचक, राष्ट्रिय गौरवका आयोजना, अन्य योजना, गुनासो तथा बेरुजु, नीति तथा कार्यक्रम कार्यान्वयन अवस्था, प्रमुख उपलब्धि र समस्यासम्बन्धी प्रतिवेदन प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा प्रधानमन्त्री कार्यालय, अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोगका सचिव तथा सदस्यलगायत उच्च पदाधिकारीहरूको सहभागिता थियो । 

मन्त्रालयका सचिव हरि मैनालीले मातहत निकायका प्रमुखसँग कार्यसम्पादन सम्झौता गरेका थिए ।

कान्तिपुर

Link copied successfully