बियर बनाउने कच्चा पदार्थ र बोतल आयात बढ्यो

दुई वर्षमा १ अर्ब ९७ करोड ६३ लाख २२ हजार रुपैयाँ बराबरको बियर बनाउने कच्चा पदार्थ माल्ट (फर्मेन्टेड जौ) आयात भएको छ । त्यस्तै दुई वर्षमै १ अर्ब ८७ करोड ४ लाख ८८ हजारको बियरको सिसाको बोतल आयात भएको छ ।

भाद्र ८, २०८२

मनोज पौडेल

Imports of beer-making raw materials and bottles increased

What you should know

कपिलवस्तु — हलुका मदिरायुक्त पेय पदार्थ बियर बनाउने कच्चा पदार्थ र त्यसको सिसाको बोतल आयात बर्सेनि बढ्दै गएको छ । नेपालका तीन ठूला बियर उद्योगले कृष्णनगर नाका हुँदै आयात गरिरहेका छन् । मुलुकका १० ठूला भन्सार नाकामा पर्ने कृष्णनगर हुँदै चार वर्षयता बर्सेनि कच्चा पदार्थ र बोतल दुवैको आयात बढ्दै गएको छ । 

दुई वर्षमा १ अर्ब ९७ करोड ६३ लाख २२ हजार रुपैयाँ बराबरको बियर बनाउने कच्चा पदार्थ माल्ट (फर्मेन्टेड जौ) आयात भएको छ । त्यस्तै दुई वर्षमै १ अर्ब ८७ करोड ४ लाख ८८ हजारको बियरको सिसाको बोतल आयात भएको छ ।

बियरका लागि बर्सेनि जौ आयात बढ्दै गएर राजस्व संकलन हुने मालवस्तुमा चौथो नम्बरमा रहेको कृष्णनगर भन्सार कार्यालयका सूचना अधिकारी भन्सार अधिकृत लेखनाथ भट्टराईले बताए । यस नाकाबाट बढी आयात हुने पाँचौं वस्तु बोतल रहेको उनको भनाइ छ । 

२०८१/८२ मा १ अर्ब ९५ लाख २३ हजार बराबरको १४ हजार १ सय २३ टन माल्ट आयात भएको थियो । त्यसबापत ३१ करोड ८३ लाख राजस्व संकलन भएको छ । २०८०/८१ मा ९६ करोड ६७ लाख ९९ हजार बराबरको १३ हजार २ सय २७ मेटन माल्ट आयात भएको थियो । त्यसबापत २९ करोड ५ लाख ४७ हजार भन्सार राजस्व संकलन भएको थियो ।

गत आर्थिक वर्षमा ९७ करोड २५ लाख ७५ हजार बराबरको ३ लाख ३४ हजार ४ सय ६३ ग्रुस बोतल आयात भएको छ । एक ग्रुसमा १ सय ४४ बोतल हुन्छ । त्यसबापत २१ करोड ४१ लाख ८१ हजार भन्सार राजस्व प्राप्त भएको छ । अघिल्लो आर्थिक वर्षमा भने ८९ करोड ७९ लाख १३ हजार बराबरको ३ लाख १२ हजार २ सय २५ ग्रुस बोतल आयात भएको थियो । त्यसबापत १९ करोड ७ लाख २३ हजार राजस्व प्राप्त भएको छ ।

नेपालमा बियरको उपभोग बढेसँगै त्यसका लागि चाहिने कच्चा पदार्थ र बोतलको आयात बढेको कपिलवस्तु चेम्बर अफ कमर्सका अध्यक्ष गोपीकृष्ण शर्माले बताए । भारतको फिरोजाबादबाट सिसाका बोतल र माल्ट आउने गर्छ ।

भारतको उत्तर प्रदेशको फिरोजाबाद जिल्लाको आगरानजिकै सिसाका भाँडाकुँडा र चुरा बनाउने भारतको प्रमुख केन्द्र हो । त्यहाँ उत्पादित सिसाका भाँडाकुँडाको राम्रो गुणस्तरका लागि परिचित हुँदा नेपाली उद्योगले त्यहीँबाट सिसाका बोतल अर्डरअनुसार बनाएर ल्याउने प्रमुख भन्सार अधिकृत फणीन्द्र खतिवडाले बताए । 

उद्योगले नाम लेखेर तयारी अवस्थामै बोतल ल्याउने गरेका छन् । त्यहाँबाट टुबोर्ग, काल्सबर्ग र सानमिगेल बियरका विभिन्न ब्रान्ड उत्पादन गर्ने नवलपुरको गोर्खा ब्रुअरी, अर्ना बियर ब्रान्ड उत्पादन गर्ने चितवनको यती ब्रुअरी र नेपाल आइस, रियल गोल्ड र मुस्ताङ ब्रान्ड उत्पादन गर्ने काठमाडौंको सीजी ब्रुअरीले कच्चा पदार्थ एवं सिसाका बोतल आयात गरिरहेको खतिवडाले जनाए । 

कृष्णनगर नाकाबाट फिरोजाबाद सहरनजिक पर्ने र सडकको अवस्था राम्रो हुँदा यहाँबाट आयात बढेको हो । भन्सार कार्यालयमा पनि अन्यत्र जस्तो भीड नभई लामो समय कुर्नु नपर्ने र उद्योगसम्म पुग्न सहज सडक हुँदा उद्योगले कृष्णनगर नाका बढी प्रयोग गरिएको कृष्णनगर नगरपालिकाका प्रमुख रजतप्रताप शाहको भनाइ छ । यो नाका हुँदै आयात हुने प्रमुख १० मालवस्तुमा केरा र अंगुर पर्छन् । 

गत आर्थिक वर्षमा ५४ करोड ६१ लाख बराबरको १२ हजार ९ सय ३२ मेटन केरा आयात भएको छ । त्यसबापत १३ करोड ३५ लाख राजस्व संकलन भएको छ । गत वर्षमै ६२ करोड ३१ लाख बराबरको ७ हजार ३ सय ३१ मेटन अंगुर आयात भएको छ । कृष्णनगर भारतको राष्ट्रिय रेल नेटवर्कसँग जोडिएको छ ।

मनोज पौडेल लुम्बिनीस्थित कान्तिपुर संवाददाता हुन् ।

Link copied successfully