पूर्वप्रधानमन्त्री खनाल भन्छन् : एमसीसी सम्झौता नेपालको सार्वभौमसत्ता र संविधानविपरीत

पूर्वप्रधानमन्त्री खनालले एमसीसी सम्झौतालाई अमेरिकी सुरक्षा रणनीतिको उपकरण भन्दै नेपालको लोकतान्त्रिक मूल्यहरूको उल्लङ्घन भएको आरोप लगाए।

भाद्र ८, २०८२

कान्तिपुर संवाददाता

Former Prime Minister Khanal says: MCC agreement is against Nepal's sovereignty and constitution

What you should know

काठमाडौँ — पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले अमेरिकासँगको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सम्झौता नेपालको सार्वभौमसत्ता, भू–राजनीतिक सन्तुलन र संविधानको भावनाविपरीत रहेको टिप्पणी गरेका छन् ।

आइतबार काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रममा नेता खनालले नेपाल र एमसीसीबीचको सम्झौता दक्षिण एसियामा अमेरिकी सुरक्षा रणनीतिलाई अघि बढाउने उपकरण भएको आरोप लगाएका हुन् ।

एमसीसी सम्झौताले चीन र भारतसँग नेपालको भू–राजनीतिक सन्तुलनमाथि गम्भीर असर पुर्‍याएको उनको भनाइ छ । उनले एमसीसी सम्झौता संसद्‍बाट असामान्य ढंगबाट अनुमोदन भएको समेत उल्लेख गरे ।  संसद्‍मा छलफल नै नगरी एमसीसी पास गरिएको घटना आश्चर्यजनक नाटक भएको गर्दै त्यसले लोकतान्त्रिक मूल्यमान्यताको उल्लङ्घन गरिएको समेत उनको दाबी छ । 

पूर्वप्रधानमन्त्री खनालले राजनीतिक दलहरूको दोहोरो भूमिकाका कारण विद्यार्थी, युवा र बुद्धिजीविहरूले राष्ट्रवादी अडानका कारण दुःख भोग्नुपरेको पनि बताए । एमसीसी सम्झौताले नेपाललाई भारतसँग मात्र विद्युत् व्यापार गर्न बाध्य पार्ने उल्लेख गर्दै यसले भारतीय एकाधिकार बलियो बनाउने खतरा टिप्पणी उनको छ ।

एमसीसीबारे पुनर्विचार गर्नुपर्ने आवश्यकता औंल्याउँदै उनले नेपालको सार्वभौमसत्ता र राष्ट्रिय हितलाई चुनौती दिने कुनै पनि प्रावधान स्वीकार्य नहुने बताए । 

२०७४ भदौ २९ मा नेपाल सरकार र एमसीसीबीच भएको सम्झौताअनुसार २०८० भदौ १३ देखि परियोजना कार्यान्वयन सुरु भएको हो । सुरुवाती सम्झौतामा ६९ करोड ७० लाख डलरको (करिब ९२ अर्ब) परियोजनामा अमेरिकी सरकारले ५० करोड डलर र नेपाल सरकारले १९ करोड ७० लाख डलर बेहोर्ने उल्लेख छ ।

गत पुसमा अमेरिकी सरकारले परियोजनाका लागि थप ५ करोड डलर दिने घोषणा गरेको थियो । एमसीए नेपालअन्तर्गत १८ किलोमिटर बुटवल–गोरखपुर प्रसारण लाइन, ४ सय केभी नयाँ बुटवल सबस्टेसन, ४ सय केभी नयाँ दमौली सबस्टेसन र ४ सय केभी रातामाटे सबस्टेसन निर्माणाधीन छन् । एमसीए नेपालका अनुसार २९७ किमि प्रसारण लाइन र धानखोलादेखि लमहीसम्मको ४० किलोमिटर ठेक्का आह्वान गरी प्राप्त प्रस्तावको मूल्यांकन भइरहेको छ ।

कान्तिपुर

Link copied successfully