चेम्बर र भियतनामकी उपराष्ट्रपति जुआनबीच द्विपक्षीय लगानी तथा व्यापार अभिवृद्धिबारे छलफल

नेपाल र भियतनामबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पूरा भएको अवसरमा भएको भेटलाई चेम्बरले व्यापार, लगानी र आर्थिक साझेदारीको नयाँ अध्याय सुरु गर्ने महत्वपूर्ण सम्भावनाका रूपमा हेरेको छ।

भाद्र ८, २०८२

कान्तिपुर संवाददाता

Discussions between the Chamber and Vietnam's Vice President Xuan on bilateral investment and trade promotion

What you should know

काठमाडौँ — नेपाल र भियतनामबीच व्यापार, लगानी तथा निजी क्षेत्रको सहकार्यलाई नयाँ उचाइमा पुर्‍याउन नेपाल चेम्बर अफ कमर्सले समाजवादी गणतन्त्र भियतनामकी महामहिम उपराष्ट्रपति भो थी आन्ह जुआनसमक्ष काठमाडौंमा छलफल गरेको छ।

दुवै देशबीचको व्यापारिक पहुँच विस्तार, लगानीमैत्री वातावरण निर्माण, उद्योग–व्यवसाय प्रवर्द्धन तथा आपसी सहकार्यका सम्भावनाबारे महत्वपूर्ण छलफल भएको छ । नेपाल र भियतनामबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पूरा भएको अवसरमा भएको भेटलाई चेम्बरले व्यापार, लगानी र आर्थिक साझेदारीको नयाँ अध्याय सुरु गर्ने महत्वपूर्ण सम्भावनाका रूपमा हेरेको छ ।

भियतनामकी उपराष्ट्रपति जुआनले नेपाल चेम्बर अफ कमर्स र भियतनामबीच द्विपक्षीय व्यापार विस्तार तथा लगानी प्रवाहलाई सहज बनाउन दुवै देशका निजी क्षेत्रबीच घनिष्ठ समन्वय आवश्यक रहेको बताइन् । उपराष्ट्रपति आन्ह जुआनले नेपाल र भियतनामबीचको आर्थिक सम्बन्धलाई अझ प्रगाढ बनाउन दुवै देशका निजी क्षेत्रको सक्रियता अपरिहार्य हुनेमा जोड दिइन् । उनले चेम्बर प्रतिनिधिहरूसमक्ष भियतनामको भ्रमण गर्न र सम्भावित लगानीका क्षेत्रमा भियतनामको चेम्बरसँग सहकार्य गर्न सुझाव दिइन् ।

चेम्बर अफ कमर्सले नेपाल–भियतनामबीच कृषि, पर्यटन, ऊर्जा, शिक्षा र सूचना प्रविधिजस्ता क्षेत्रमा सहयोग तथा साझेदारीको अपार सम्भावना रहेको भन्दै व्यावहारिक कार्यक्रम अघि बढाउनुपर्नेमा जोड दिएको छ। चेम्बरले भियतनामसँगको आर्थिक सम्बन्धलाई अझ मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।

भियतनामका अनररी कन्सुल तथा नेपाल चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष राजेश काजी श्रेष्ठको समुपस्थितिमा आयोजित छलफलमा चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवाल, निवर्तमान अध्यक्ष राजेन्द्र मल्ल, वरिष्ठ उपाध्यक्ष दिपक कुमार मल्होत्रा, महिला चेम्बर अध्यक्ष उर्मिला श्रेष्ठसहितका पदाधिकारीहरूको सहभागिता थियो।

कान्तिपुर

Link copied successfully