अप्पर अरुणमा संखुवासभाका ४० हजार घरधुरीलाई पाँच लाखका दरले शेयर : उर्जामन्त्री खड्का

उनले १ हजार ६३ मेगावाटको अप्पर अरुणमा जिल्लाका करिब ४० हजार घरधुरीलाई प्रतिघरधुरी पाँच लाखका दरले शेयर दिने गरी कार्ययोजना तयार गरिएको बताए।

भाद्र ७, २०८२

दीपेन्द्र शाक्य

Share to 40,000 households of Sankhuwasabha in Upper Arun at the rate of five lakhs: Energy Minister Khadka

संखुवासभा — ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले संखुवासभाका ४० हजार घरधुरीलाई अप्पर अरुण जलविद्युत आयोजनामा प्रत्यक्ष सहभागी गराउने कार्ययोजना अघि बढाएको बताएका छन्।

नेपाल प्रेस युनियन संखुवासभाले गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले १ हजार ६३ मेगावाटको अप्पर अरुणमा जिल्लाका करिब ४० हजार घरधुरीलाई प्रतिघरधुरी पाँच लाखका दरले शेयर दिने गरी कार्ययोजना तयार गरिएको बताए।

उनका अनुसार अप्पर अरुणको निर्माण कार्य ५० प्रतिशत पुग्दासम्म शेयर निष्कासन गरिसक्ने लक्ष्य लिइएको छ। 'यो आयोजना बिजुली उत्पादनमा मात्र सीमित छैन,' उनले भने, 'यसले संखुवासभावासीलाई आर्थिक समृद्धितर्फ अघि बढाउने छ।' उनले विपन्न वर्गलाई पनि शेयरमा सहभागी हुन अवसर मिल्ने उल्लेख गर्दै १२ देखि १५ प्रतिशत नागरिकलाई बैंकमार्फत निशुल्क ऋण उपलब्ध गराइने बताए।

'स्राेत माथिको अधिकार सबैको हुन्छ, अरुण तेस्रोको आशा धेरै पुरानो हो, अब सपना पूरा हुने दिन आएको छ,' उनले भने। स्थानीय जनशक्तिलाई प्राथमिकता दिँदै आयोजनामा आवश्यक मर्मतसम्भार तथा प्राविधिक काममा यहीँ उत्पादन भएका दक्ष जनशक्ति परिचालन गर्ने प्रतिबद्धता जनाए।

संखुवासभामा रहेको अप्पर अरुण जलविद्युत आयोजना नेपालकै महत्वाकांक्षी जलविद्युत योजनामध्ये एक हो। यसले उत्पादन गर्ने विजुलीले मात्र होइन, स्थानीय जनसहभागिताले समेत प्रदेश र देशलाई आर्थिक रूपमा बलियो बनाउने अपेक्षा गरिएको छ। मन्त्री खड्काले प्राविधिक तथा व्यवसायिक शिक्षा विस्तारका माध्यमबाट रोजगार र आत्मनिर्भरता बढ्ने विश्वास व्यक्त गरे ।

दीपेन्द्र

Link copied successfully