सोयाबिनको १० अर्बको कच्चा पदार्थ आउँदा १० अर्बकै तेल निर्यात

आयातमा डिजेललाई उछिन्दै पहिलो नम्बरमा सोयाबिन, वैदेशिक व्यापार १८.७५ प्रतिशत, निर्यात ९६ प्रतिशत, आयात ११.४२ प्रतिशत र व्यापार घाटा २.५५ प्रतिशत बढ्यो

भाद्र ७, २०८२

राजु चौधरी

Export of 10 billion worth of oil comes from the raw material of 10 billion soybeans

What you should know

काठमाडौँ — आयात व्यापारमा पहिलो बन्दै सोयाबिनको कच्चा पदार्थले डिजेललाई उछिनेको छ । चालु आर्थिक वर्षको पहिलो महिना (साउन)मा १० अर्ब ८० करोड ९५ लाख रुपैयाँको ७ करोड १७ लाख ६ हजार लिटर सोयाबिन कच्चा पदार्थ आयात भएको छ ।

 सोयाबिनको कच्चा पदार्थ साउनमा आयातित परिमाण र रकम अहिलेसम्मकै अत्यधिक हो । गत वर्ष साउन महिनामा १ अर्ब ३० करोड ७९ लाख रुपैयाँको ९६ लाख ९ हजार लिटर आयात भएको थियो । आयातित रकमको आधारमा सोयाबिनको कच्चा पदार्थ ११ नम्बरमा थियो । गत वर्ष साउनमा आयात भएको रकमको आधारमा पहिलो नम्बरमा डिजेल नै थियो । अहिले भने डिजेललाई उछिन्दै सोयाबिनको कच्चा पदार्थ पहिलो नम्बर बनेको भन्सार विभागको वैदेशिक व्यापारको तथ्यांकमा छ । शुक्रबार सार्वजनिक भएको व्यापारको तथ्यांकमा अनुसार सोयाबिनको कच्चा पदार्थपछि ५ अर्ब ८८ करोड ७७ लाख रुपैयाँको आयात भएको उल्लेख छ ।

सोयाबिनको कच्चा पदार्थ आयातसँगै निर्यात पनि पहिलो नम्बरमै छ । साउन महिनामा १० अर्ब ६९ करोड ५८ लाख रुपैयाँको सोयाबिनको तेल निर्यात भएको छ । तेस्रो मुलुकबाट आयातित सोयाबिनको कच्चा पदार्थ व्यवसायीले मूल्य अभिवृद्धि गरेर भारत पठाउँदै आएका छन् । निर्यातमा छुट र अग्रिम भुक्तानी सुविधाले व्यवसायीहरु स्वदेशमा बिक्री भन्दा सोयाबिन तेल भारतमै निर्यात गर्छन् । नेपालमा कच्चा तेल अमेरिका, अर्जेन्टिना, युक्रेन, इन्डोनेसिया, मलेसिया र थाइल्यान्डबाट आयात हुन्छ । सोयाबिनको कच्चा पदार्थ र तेलले समग्र आयात निर्यात व्यापार बढाइदिएको छ ।

साउनमा मुलुकको कुल वैदेशिक व्यापार १ खर्ब ६६ अर्ब ९७ करोड रुपैयाँ पुगेको छ । यो रकम गत साउनको तुलनामा १८.७५ प्रतिशतले बढी हो । गत साउन महिनामा कुल वैदेशिक व्यापार १ खर्ब ४० अर्ब ६० करोड रुपैयाँ थियो । त्यस्तै, आयात व्यापार ११.४२ प्रतिशतले बढेको विभागले जनाएको छ । विभागका अनुसार साउनमा १ खर्ब ४३ अर्ब ४ करोड रुपैयाँको आयात भएको छ । गत वर्ष साउनमा १ खर्ब २८ अर्ब ३७ करोड रुपैयाँको बस्तु आयात भएको थियो । सोयाबिनको कच्चा पदार्थ र डिजेलपछि तेस्रोमा पेट्रोल आयात भएको छ । साउनमा ५ अर्ब ७७ करोड १४ लाख रुपैयाँको पेट्रोल आयात भएको छ । ४ अर्ब ६६ करोड ६४ लाख रुपैयाँको खाना पकाउने एलपी ग्यास, ३ अर्ब ४१ करोडको स्मार्टफोन, ३ अर्ब ७ करोडको स्टिल तथा आइरन लगायत आयात भएको छ । त्यस्तै एक महिनामै १ अर्ब ५४ करोड ७३ लाखको मकै, १ अर्ब १० करोडको धान,१ अर्ब ५ करोडको स्याउ, १ अर्ब ५ करोडको पाम तेल(कच्चा) आयात भएको उल्लेख छ ।

आयातित बस्तु मध्ये सबैभन्दा धेरै भारतबाट ८३ अर्ब ५३ करोड ९९ लाख रुपैयाँको वस्तु आयात भएको छ । दोस्रोमा चीनबाट २७ अर्ब ९९ करोड ६० लाख रुपैयाँको वस्तु आयात भएको उल्लेख छ ।

त्यस्तै, निर्यात व्यापार पनि ९५.७५ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको पहिलो महिनामा २३ अर्ब ९३ करोड रुपैयाँको वस्तु निर्यात भएको छ । गत वर्ष साउनमा १२ अर्ब २२ करोडको वस्तु निर्यात भएको थियो ।

सोयाबिनको तेलपछि दोस्रोमा कार्पेट निर्यात भएको छ । साउनमा ८२ करोड ५ लाखको कार्पेट, ६७ करोड १२ लाखको पाम तेल, ६५ करोड १४ लाखको सनफ्लावर तेल निर्यात भएको छ । साउनमा ४६ करोड ३२ लाखको यार्न, ३७ करोड ४५ लाखको चिया, ३२ करोड१७ लाख रुपैयाँको अलैँची निर्यात भएको छ । निर्यात मध्ये सबैभन्दा धेरै भारतमा १९ अर्ब ४५ करोड रुपैयाँको बस्तु निर्यात भएको छ । दोस्रोमा अमेरिकामा १ अर्ब ५४ करोड, तेस्रोमा जर्मनीमा ४२ करोडको वस्तु निर्यात भएको उल्लेख छ । आयात निर्यातसँगै मुलुकको व्यापार घाटा २.५५ प्रतिशतले बढेको छ । विभागका अनुसार साउन महिनामा व्यापार घाटा १ खर्ब १९ अर्ब १० करोड रुपैयाँ भएको छ । गत साउनमा व्यापार १ खर्ब १६ अर्ब १५ करोड थियो । आयातित बस्तुबाट सरकारले साउनमा ३६ अर्ब ८१ करोड ४१ लाख रुपैयाँ राजश्व संकलन गरेको छ ।

राजु चौधरी कान्तिपुरमा उद्योग, वाणिज्य तथा आपूर्ति एवं उपभोक्ता, कृषि तथा आर्थिक बिटमा लेख्छन् ।

Link copied successfully