दिनहुँ कस्तो तेल खाँदै छौं हामी ?

– अन्नपूर्ण भेजिटेबल प्रोडक्टको ‘अमृत’, श्रीराम रिफाइन्ड आयल प्रडक्टको ‘पक्वान्न’, क्वालिटी आयल रिफाइनरीको ‘क्वालिटी’ र शिवशक्ति घिउ उद्योगको ‘फेमिली’ ब्रान्डमा कैफियत

असार २७, २०८१

राजु चौधरी

What kind of oil are we eating every day?

काठमाडौँ — भान्सामा नभई नहुने खाद्यवस्तु हो, तेल । सर्वसाधारणले भान्सामा तोरी, भटमास र सूर्यमुखी तेल प्रयोग गर्छन् । यसरी दिनहुँ सर्वसाधारणले उपभोग गर्ने यही तेलको गुणस्तरमा भने प्रश्न उठेको छ । काठमाडौं महानगरपालिकाले खाने तेलको नमुना परीक्षण गर्दा ४ ब्रान्डमा पेरोक्साइड भ्यालु उच्च देखिएको छ ।

महानगरले १३ ब्रान्डका खाने तेलको नमुना संकलन गरी परीक्षणका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा पठाएको महानगरपालिकाका सहायक प्रवक्ता दीपक अधिकारीले जनाए । महानगगरले गत वैशाख ३१ मा पठाएको नमुनाको प्रयोगशाला परीक्षण रिपोर्ट विभागले असार १९ मा उपलब्ध गराएको थियो । विभागले परीक्षण गरी पठाएको रिपोर्टमा अन्नपूर्ण भेजिटेबल प्रोडक्टको ‘अमृत’, श्रीराम रिफाइन्ड आयल प्रडक्टको ‘पक्वान्न’, क्वालिटी आयल रिफाइनरीको ‘क्वालिटी’ र शिवशक्ति घिउ उद्योगको ‘फेमिली’ ब्रान्डमा कैफियत देखिएको छ ।

‘१३ ब्रान्डमध्ये ४ ब्रान्डको तेलमा पेरोक्साइडको मात्रा धेरै पाइयो । तोकिएको मापदण्डभन्दा धेरै भए यो मानव स्वास्थ्यका लागि हानिकारक हुन्छ,’ सहायक प्रवक्ता अधिकारीले भने, ‘४ वटै ब्रान्डलाई जनही २ लाखको दरले जरिवाना गरिएको छ । कैफियत देखिएको ‘लट’ को उत्पादन ३ दिनभित्र फिर्ता लिन निर्देशन दिइएको छ ।’ पेरोक्साइड भ्यालुको मात्रा १० प्रतिशतभन्दा बढी हुन नहुने खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बताएको छ । तर परीक्षणका क्रममा यी ब्रान्डमा १६ देखि २९ प्रतिशतसम्म मात्रा देखिएको महानगरले जनाएको छ ।

विभागले ०८० पुस ७ मा उत्पादन भएको पक्वान्न ब्रान्डको ब्याच/लट नम्बर (एस)–२ को सोयाबिन तेल, ०८० कात्तिकमा उत्पादन भएको अमृत ब्रान्डको ब्याच/लट नं ११ को सोयाबिन तेल, २०२४ अप्रिलमा उत्पादन भएको क्वालिटी ब्रान्डको ब्याच/लट नं ०८ को सोयाबिन र ०८० माघमा उत्पादन भएको फेमिली ब्रान्डको ब्याच/लट नं १० को तोरीको तेलको परीक्षण गरेको थियो । यी ब्याच र लटको उत्पादनमा कैफियत देखिएको हो ।

‘यी ब्याच र लट नम्बरको उत्पादनमा पेरोक्साइड भ्यालु मापदण्डभन्दा बढी देखियो । तेल तताउँदा पेरोक्साइड भ्यालु झनै बढ्छ । यसो हुनु भनेको तेल अझ अखाद्य हुनु हो,’ महानगरको अनलाइन न्युज पोर्टल मेट्रो न्युजमा कृषि तथा पशुपन्छी विभाग प्रमुख नूरनिधि न्यौपानेले भनेका छन्, ‘मापदण्डमा नरहेका तेल ३ दिनभित्र फिर्ता ल्याउन र फिर्ता ल्याइएको तेल नष्ट गरिएको प्रमाणसहित उपस्थित हुन पत्र पठाएका छौं ।’

महानगरले अखाद्य तेल बजारबाट फिर्ता लिन पत्र पठाए पनि त्यसपछि बजारमा अनुगमन गरेको छैन । स्रोतका अनुसार महानगरको निर्देशनअनुसार कम्पनीले डिलरलाई बजारबाट फिर्ता लिन भनेको छ । तर कार्यान्वयन भए/नभएको विषयमा महानगरबाट अनुगमन भएको छैन । काठमाडौं महानगरपालिकाबाहेक अन्य क्षेत्रमा बिक्री गरेको हकमा कम्पनीले केही बोलेको छैन । महानगर पनि आफ्नो क्षेत्राधिकारमा नपर्ने भन्दै चुपचाप बसेको छ ।

‘कम्पनीले डिलरलाई बजारबाट फिर्ता लिएको भन्ने खालको पत्र दिएको छ । फिर्ता लिनु मात्रै पनि समाधान होइन । काठमाडौंबाट मात्रै फिर्ता लिएर पनि भएन । देशभरकै के गर्ने भन्ने प्रश्न पनि छ,’ महानगरपालिकाका एक अधिकारीले भने, ‘नेपालभर अनुगमन गर्ने दायित्व काठमाडौं महानगरपालिकाको पर्दैन, गर्न पनि सक्दैन । यसमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको भूमिको विशेष रहन्छ । अनुगमन गरी प्रतिबन्ध लगाउने काम खाद्यको हो ।’ कैफियत देखिएको ब्याच/लटको उत्पादन करिब ९ महिना भइसकेको छ । कतिपय उपभोक्ताले तेल उपभोग गरिसकेका छन् । स्वास्थ्यमा प्रत्यक्ष असर गर्ने देखिए पनि संघीय निकायबाट त्यसको अनुगमन र नमुना परीक्षण गरी प्रतिबन्ध लगाइएको छैन ।

‘मापदण्डभन्दा बढी पेरोक्साइड भ्यालु हुनु भनेको उपभोक्ताको स्वास्थ्यसँग खेलबाड गर्नु हो । सर्वसाधारणको जीउ–ज्यानमाथि ठूलो खेलबाड हुँदा पनि अनुगमन नियमन गर्ने निकाय चुप बस्नु आश्चर्यको विषय बनेको छ,’ उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले भने, ‘प्रतिवेदन गलत आइसकेपछि खाद्य प्रविधिले यसमा चासो दियो कि दिएन, बजारबाट सामान फिर्ता भयो कि भएन ? यसतर्फ कसैले ध्यान गएको छैन ।’

१३ वटा ब्रान्ड मात्रै नभई सबै ब्रान्डको निष्पक्ष नमुना संकलन गरी परीक्षण गर्नुपर्नेमा तिमिल्सिनाले जोड दिए । ‘सरकारले कडाइका साथ अनुगमन र नमुना परीक्षण नगर्दा व्यवसायीको मनलाग्दी छ । जे गर्दा पनि भएकै छ,’ उनले भने, ‘सर्वसाधारणको स्वास्थ्यका लागि सबै ब्रान्डका तेलको परीक्षण गर्नुपर्छ । मापदण्डमा नपर्ने उद्योगलाई कडाभन्दा कडा कारबाही गरी कानुनी दायरामा ल्याउनुपर्छ ।’ बजारमा उपलब्ध खाने तेलको गुणस्तर र परिमाणमा गुनासो बढे पनि सरकारले प्रभावकारी अनुगमन गरेको छैन । धेरैजसो खाने तेल उद्योग तराईमा छन् । कम्पनीबाटै तेलको नमुना लिएर परीक्षण गरिएको छैन ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले भने तेल, घिउसँगै अन्य खाद्य वस्तुको विषयमा दिनहुँ अनुगमन भइरहेको दाबी गरे । ६ महिनामा कुल ११६७ नमुना संकलन गरिएको थियो । तेल तथा घिउजन्यका १२१ वटा नमुना परीक्षण गर्दा १० वटा नमुना प्रतिकुल भेटिएको थियो । विभागले अर्धवार्षिक अवधिमा विभिन्न जिल्ला प्रशासन कार्यालय तथा जिल्ला अदालतमा ८९ वटा मुद्दा दायर गरेको जनाएको छ । यसमध्ये तेल र घिउका ६ वटा मुद्दा दर्ता भएको महर्जनले बताए । तेल र घिउमा कम गुणस्तरकै कारण मुद्दा दायर भएको उनको भनाइ छ ।

‘विगतमा धेरै समस्या थियो, अहिले कच्चा पदार्थ आयात गरी रिफाइन गरेर मात्रै प्याकेजिङ गर्न पाइन्छ । त्यसले गर्दा पेरोक्साइडको समस्या कम छ । भण्डारणका कारणले पनि केही लटमा समस्या आएको हुन सक्छ,’ महर्जनले भने, ‘तेल पुरानो भएपछि गन्ध आउँछ, त्यसरी पनि पत्ता लाग्छ । प्याकेजिङ कस्तो गरिएको छ, त्यसमा पनि निर्भर हुन्छ ।’ पेरोक्साइड भ्यालु पुरानो तेल वा भण्डारण राम्रोसँग नगर्दा देखिन्छ । तातोले पनि बढ्न सक्छ । तर पेरोक्साइडकै कारण क्यान्सर भएको प्रमाणित नभएको महर्जनको दाबी छ ।

राजु चौधरी कान्तिपुरमा उद्योग, वाणिज्य तथा आपूर्ति एवं उपभोक्ता, कृषि तथा आर्थिक बिटमा लेख्छन् ।

Link copied successfully