समझदारीको पाँच वर्ष बित्दा पनि २५० मेगावाटको सौर्य ऊर्जा परियोजना प्रक्रियामै

२०७७ माघ १३ मा सरकारले लगानी बोर्ड कार्यालयमार्फत सिंगापुरको राइजेन इनर्जी जेभीसाग विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन तयार गर्ने गरी समझदारीपत्रमा हस्ताक्षर गरेको थियो तर त्यसयता आवश्यक प्रक्रिया अघि बढे पनि परियोजना निर्माण सुरु हुने अवस्था अझै बनेन।

भाद्र ७, २०८२

सीमा तामाङ

Even after five years of agreement, 250 MW solar power project in progress

What you should know

काठमाडौँ — बाँकेको कोहलपुर र कपिलवस्तुको वाणगंगामा निर्माण हुने भनिएको २५० मेगावाट क्षमताको सौर्य ऊर्जा परियोजना पाँच वर्ष बितिसक्दा पनि अझै कागजमै सीमित छ । परियोजनाको विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन (डीएफएसआर) तयार भए पनि परियोजना अघि बढ्न सकेको छैन । 

२०७७ माघ १३ मा सरकारले लगानी बोर्ड कार्यालयमार्फत सिंगापुरको राइजेन इनर्जी जेभीसँग विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन तयार गर्ने गरी समझदारीपत्रमा हस्ताक्षर गरेको थियो । तर त्यसयता आवश्यक प्रक्रिया अघि बढे पनि परियोजना निर्माण सुरु हुने अवस्था अझै बनेको छैन ।

बाँकेको कोहलपुरमा ७८.१६ र कपिलवस्तुको वाणगंगामा १ सय ७१.९ मेगावाट गरी कुल २५० मेगावाट क्षमताको सौर्य आयोजना बनाउने योजना छ । बाँकेको कोहलपुर र कपिलवस्तुको वाणगंगामा १२.५ र २७.५ मेगावाट क्षमताको ब्याट्री स्टोरेज प्लान्ट पनि रहने भनिएको छ । सम्झदारी पत्रअनुसार राइजेन इनर्जीले १२ महिनाभित्र डीएफएसआर बुझाउनुपर्ने प्रावधान थियो ।

५ असार २०७७ मा बसेको लगानी बोर्डको ४४ औं बैठकले कम्पनीलाई डीएफएसआर तयार गर्न अनुमति दिएको थियो । बोर्डले उक्त आयोजना नेपालको हालसम्मकै ठूलो सौर्य ऊर्जा आयोजना हुने जनाएको छ । कम्पनीले २० साउन २०७९ मा परियोजनाको सम्भाव्यता अध्ययन प्रतिवेदन तयार गरी लगानी बोर्ड कार्यालयमा बुझाएको थियो । लगत्तै प्रतिक्रियापछि कम्पनीले १९ साउन २०८० मा परिमार्जित सम्भाव्यता अध्ययन प्रतिवेदन लगानी बोर्ड कार्यालयमा बुझाएको थियो ।

८ भदौ २०८० मा बसेको लगानी बोर्डको ५५ औं बैठकमा राइजेन इनर्जीले तयार पारेको डीएफएसआर औपचारिक रूपमा पेस भएको थियो । तर उक्त बैठकले वातावरणीय प्रभाव मूल्यांकन सम्पन्न गर्ने गरी सम्भाव्यता अध्ययन प्रतिवेदनलाई ‘जानकारीमा’ लियो । तर बोर्डले डीएफएसआर स्वीकृत गरेको छैन । 

Even after five years of agreement, 250 MW solar power project in progress

२२ चैत २०८० मा बसेको लगानी बोर्डको ५७ औं बैठकले परियोजनाका लागि २१ अर्ब १० करोड रुपैयाँ विदेशी लगानी स्वीकृत गरेको थियो । शतप्रतिशत विदेशी लगानीमा निर्माण हुने भनिएको परियोजना हालसम्म अलमलमै छ । त्यही बैठकले परियोजना विकास सम्झौता (पीडीए) गर्न विकासकर्ता कम्पनीसँग वार्ता गर्ने गरी प्रमुख कार्यकारी अधिकृत (सीईओ) को अध्यक्षतामा समिति गठन गर्ने निर्णय गरेको थियो । त्यति बेला बोर्डका सीईओ सुशील भट्ट थिए, हाल भने सुशील ज्ञवाली छन् । तर उक्त समितिमा विभिन्न सरोकारवाला मन्त्रालयले प्रतिनिधि तोक्न ढिलाइ गरेकाले वार्ता अघि बढ्न सकेको छैन । 

लगानी बोर्ड कार्यालयले २५ चैत २०८० मा वार्ता समिति गठन गरेको जानकारीसहित समितिका लागि प्रतिनिधि मनोनयन गर्न सम्बन्धित निकायलाई पत्र पठाएको थियो । त्यसयता १७ जेठ २०८१ मा समेत वार्ता समितिका लागि सदस्यको नाम पठाउन ताकेता गरेको बोर्डले जनाएको छ । तर हालसम्म कानुन मन्त्रालयले मात्रै प्रतिनिधिको नाम पठाएको लगानी बोर्ड कार्यालयका प्रवक्ता प्रद्युम्न उपाध्यायले बताए । ऊर्जा, वन तथा वातावरणलगायत सम्बन्धित मन्त्रालयले नै वार्ता समितिका सदस्यको नाम नपठाएको उनको भनाइ छ । 

प्रशासनिक ढिलासुस्ती र प्राथमिकतामा नपरेका कारण शतप्रतिशत विदेशी लगानी भित्र्याउने आयोजनाले गति लिन नसकेको सरोकारवाला निकाय बताउँछन् । सोलार परियोजनाको वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) प्रतिवेदन तयार भइसकेको लगानी बोर्ड कार्यालयले जनाएको छ । तर उक्त प्रतिवेदन वन तथा वातावरण मन्त्रालयमा स्वीकृतिका लागि पठाउन बाँकी छ । आयोजनाको कुल अनुमानित लागत करिब १५ करोड ८५ लाख अमेरिकी डलर (अनुमानित २१ अर्ब रुपैयाँभन्दा बढी) रहनेछ । कोहलपुर र वाणगंगामा उत्पादन हुने बिजुली सिधै राष्ट्रिय प्रसारण लाइनमा जोड्ने गरी परिकल्पना गरिएको छ । 

सरकारले ऊर्जा संकट समाधान गर्न ऊर्जा मिश्रणको नीति लिएको छ । राष्ट्रिय ऊर्जा संकट निवारण तथा विद्युत् विकास दशकसम्बन्धी अवधारणापत्र २०७२ जारी गर्दै सरकारले ऊर्जा मिश्रणको नीति लिएको हो । दीर्घकालीन रूपमा नेपालकै उत्पादनबाट लोडसेडिङ अन्त्य गर्ने उद्देश्यले जलविद्युत् आयोजनाको प्रकारअनुसार आयोजनाको उत्पादन मिश्रण तय गरिने अवधारणापत्रमा उल्लेख छ । 

अवधारणापत्रअनुसार जलाशययुक्त आयोजनाबाट उत्पादित बिजुली ४० देखि ५० प्रतिशत, अर्धजलाशययुक्तबाट १५ देखि २० प्रतिशत, नदी प्रवाही (आरओआर) र अन्य वैकल्पिक स्रोतबाट ५ देखि १० प्रतिशत रहनेछ । तर हालसम्म कुल जडित विद्युत् क्षमता ३५ सय ९१ मेगावाट पुग्दा सोलार ऊर्जा १ सय १६.९४ मेगावाट मात्रै छ । जलविद्युतसँगै सौर्यजस्ता वैकल्पिक स्रोतलाई मिश्रणमा ल्याउने भनिए पनि व्यवहारमा ल्याउन नसक्दा सरकारले लिएको नीति कागजमै सीमित बनेको छ । 

सीमा तामाङ कान्तिपुरमा कार्यरत पत्रकार हुन् । उनी जलविद्युत्, रियल स्टेट र आर्थिक बिटमा लेख्छिन् ।

Link copied successfully