अलैँची व्यवसायी महासंघको अध्यक्षका लागि तीन आकांक्षी

महासंघको अध्यक्षका लागि नारायण चिमरिया, दीपक नेपाल र ओमकृष्ण विमली आकांक्षी देखिएका छन्। 

भाद्र ६, २०८२

आनन्द गौतम

Three aspirants for the president of the Cardamom Traders Federation

What you should know

ताप्लेजुङ — अलैँची व्यवसायी महासंघको अधिवेशन भाद्र १४ र १५ गते झापाको बिर्तामोडमा हुने भएको छ। अलैँची नेपालबाट सबैभन्दा बढी निर्यात हुने कृषि उपजमध्येको एक हो। महासंघको अध्यक्षका लागि नारायण चिमरिया, दीपक नेपाल र ओमकृष्ण विमली आकांक्षी देखिएका छन्। 

झापाका व्यवसायी चिमरिया हाल महासंघको महासचिव छन्। पाँचथरका व्यवसायी नेपाल भने महासंघका संस्थापक उपाध्यक्ष तथा वरिष्ठ उपाध्यक्षको जिम्मेवारी सम्हालिसकेका व्यवसायी हुन्। विमली अघिल्लो महाधिवेशनमा अध्यक्षका प्रत्यासी थिए। उनी गत आर्थिक वर्ष सबैभन्दा बढी अलैँची निर्यात गर्ने व्यवसायी समेत हुन्। 

नेपालबाट वार्षिक आठ अर्बको हाराहारीमा अलैँची भारत निर्यात हुने गरेको छ। अलैँची व्यवसायी महासंघका अधिकृत अनिल ढुङ्गानाका अनुसार पाँचौ अधिवेशन तथा नवौँ साधारणसभा गर्न लागिएको हो । ४३ जिल्लामा उत्पादन हुने अलैँचीको मुख्य कार्यालय झापा बिर्तामोड र शाखा १६ जिल्लामा रहेको छ । ढुङ्गानाका अनुसार दुई सय ३० जना प्रतिनिधि रहने वैधानिक ब्यवस्था रहेको छ । हरेक जिल्लाबाट पाँच जनाका दरले प्रतिनिधि र केन्द्रीय समितिका सदस्य हुनेछन् । 

१४ गतेका लागि साधारणसभा र १५ गतेका लागि निर्वाचन कार्यक्रम राखिएको छ। राजेन्द्र घिमिरे संस्थापक अध्यक्ष रहेको महासंघमा निर्मल भट्टराईले दुई कार्यकाल र राजकुमार कार्कीले नेतृत्व गरिसकेका छन् । २१ सदस्यीय समितिमा वरिष्ठ उपाध्यक्ष एकजना, कृषि तथा वाणिज्य उपाध्यक्ष र महिला उपाध्यक्ष एक-एक जना, महासचिव र सचिव रहने प्रावधान छ । सशस्त्र द्वन्द्वमा गाउँबाट खरिद गरेर अन्तराष्ट्रिय बजारसम्म पुर्‍याउन समस्या भएको बेला व्यवसायीले संघ बनाएका थिए।

विमली आफू नेपालबाट सबैभन्दा बढी विदेश निर्यात गर्ने भएकाले आफ्नो दाबी पुग्ने बताएका छन् । उनी अघिल्लो अधिवेशनका प्रतिस्पर्धी पनि हुन् । नेपालले आफू संस्थापक अध्यक्ष भएको, वरिष्ठ उपाध्यक्षको जिम्मेवारी पनि पुरा गरिसकेको र उद्योग वाणिज्य संघमा आवद्ध हुँदा तपाईँहरू नेतृत्व गर्नुहोस् अहिले म अर्को जिम्मेवारीमा छु भनेकाले यस पटक आफ्नो दाबी पुग्ने बताएका छन् । चिमरियाले आफू संगठनकालागि अलैँची उत्पादन हुने सबै जिल्लामा पुगेको र नेपाल र बिमली उद्योग वाणिज्य संघ, चेम्बर अफ कमर्समा नेतृत्व गरिसकेकाले यस पटक आफू हुनुपर्ने दाबी गरे ।

‘उहाँहरू वाणिज्य संघ, चेम्बर अफ कमर्समा गइसक्नुभयो । यो वस्तुगत संघ मात्रै हो । उहाँहरुका लागि प्रधानमन्त्री भएर फेरी मन्त्री हुनु जस्तै हो । त्यसैले मेरो नेतृत्वमा सहमति हुन्छ भन्ने लागेको छ,’ चिमरियाले भने ।

आनन्द गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Link copied successfully