प्रतिपक्षी दलका सांसदहरूले समेत नवीन अवधारणा भएको उल्लेख गर्दै विधेयकको प्रशंसा गरेका थिए ।
काठमाडौँ — प्रतिनिधिसभाले वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२ लाई सर्वसम्मतिले पारित गरेको छ । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव राखेका थिए ।
पौडेलले वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२ ले नेपालमा ठूला भौतिक पूर्वाधार विकासका लागि अर्को ढोका खोल्ने बताएका थिए ।
अर्थमन्त्री पौडेलले विधेयकले नेपालको विकासको आवश्यकतालाई सम्बोधन गर्ने भएकाले विधेयक छिटो पारित गरेर संसद्ले छोटो समयमा महत्त्वपूर्ण काम गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरेको पनि बताए ।
विधेयकमाथिको छलफलमा भाग लिँदै प्रतिपक्षी दलका सांसदहरूले समेत नवीन अवधारणा भएको उल्लेख गर्दै विधेयकको प्रशंसा गरेका थिए ।
संसद्को अर्थ समितिमा छलफल सम्पन्न भएपछि विधेयकलाई प्रतिनिधिमासभामा पेस गरिएको थियो । वैकल्पिक स्रोत जुटाएर धेरै प्रतिफल दिने ठूला पूर्वाधारका आयोजनामा लगानी गर्ने विधेयकको मुख्य उद्देश्य छ ।
