नेपाल वायुसेवा निगमनले धातुजन्य पार्टपुर्जामा दरार वा कुनै कमजोरी पत्ता लगाउने म्याग्नेटिक पार्टिकल इन्स्पेक्सन नन–डिस्ट्रक्टिभ टेस्ट (एनडीटी) प्रविधि लागू गरेको हो ।
काठमाडौँ — नेपाल वायुसेवा निगमले आफ्ना विमानहरुको मर्मत कार्यक्रममा धातुजन्य पार्टपुर्जामा दरार वा कुनै कमजोरी पत्ता लगाउने म्याग्नेटिक पार्टिकल इन्स्पेक्सन नन–डिस्ट्रक्टिभ टेस्ट (एनडीटी) प्रविधि लागू गरेको छ ।
विमान, रेल, गह्रुँगा मेसिनरी र निर्माण उद्योगमा सुरक्षा र गुणस्तर सुनिश्चित गर्न एनडीटी प्रविधि लागू गरिन्छ । नियमित निरीक्षणले ठूलो दुर्घटना र महँगो मर्मत खर्चबाट उपकरणहरु जोगाउँछ ।
यस प्रविधिबाट जहाज मर्मत गर्दा सुरक्षा स्तर उच्च राख्न सकिन्छ र अन्तर्राष्ट्रिय नागरिक उड्डयन क्षेत्रमा अपनाइने मापदण्ड अनुसार गुणस्तरीय सेवा सुनिश्चित हुन्छ । निगमले बिहीबार विज्ञप्ति निकालेर अब निगमको मर्मत कार्यको दायरा फराकिलो भएको जनाएको छ ।
निगमले नेपाल नागरिक उड्डयन प्राधिकरणको नियम अनुसार यो प्रविधि लागू गरिएको जनाएको छ । ‘निगमको इन्जिनियरिङ र मर्मत विभाग उच्च सुरक्षा र गुणस्तरीय मर्मत सेवा प्रदान गर्न प्रतिबद्ध छ,’ निगमको इन्जिनियरिङ विभागका उपनिर्देशक मनोजकुमार साहले भने, 'यो प्रविधिको प्रयोगले नेपाल वायुसेवा निगमका विमान मर्मत सेवामा नयाँ मापदण्ड स्थापना गर्नेछ र सुरक्षित उड्डयनलाई अझ सुनिश्चित बनाउनेछ ।’
साहका अनुसार यसअघि निगमले एनडीटी सेवा अन्य वायुसेवा कम्पनीमार्फत लिँदै आएको थियो ।
