नेप्से बढ्यो, कारोबार बढेन

मंगलबार ६१ हजार ७ सय ८४ पटकको कारोबारमा १ करोड ३१ लाख २४ हजार ३ सय १० कित्ता सेयर किनबेच भए । उक्त किनबेचमा ५ अर्ब ६३ करोड ६५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

भाद्र ४, २०८२

कान्तिपुर संवाददाता

NEPSE increased, turnover did not increase

What you should know

काठमाडौँ — पछिल्ला कारोबार दिनमा नेप्से परिसूचक बढ्न खोजे पनि कारोबार रकमले टेवा पुर्‍याउन सकेको छैन । नेप्से सकारात्मक अंकले बढ्दा पनि कारोबार रकम लगातार घटेकाले समग्र बजारको सुधारका लागि कारोबार रकम पर्याप्त नभएकाले उक्त विश्लेषण गरिएको हो । 

गत आइतबार २७ अंकले घटेको नेप्से सोमबार ९.१६ र मंगलबार ६.५१ अंकले बढेको थियो । आइतबार नेप्से २७ अंकले घट्दा ७ अर्ब ७३ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो । सोमबार नेप्से झन्डै दोहोरो अंकले बढ्दा ६ अर्ब १७ करोड र मंगलबार साढे ६ अंकले बढ्दा ५ अर्ब ६३ करोडको कारोबार भएको थियो । 

यसरी नेप्से बढ्दा पनि कारोबार रकम लगातार घट्नु सेयर बजारका लागि राम्रो नभएको जानकारहरू बताउँछन् । ‘नेप्सेको वृद्धिदर कम भए पनि कारोबार रकमले सहायता गरेको भए बजारका लागि राम्रो मानिन्थ्यो,’ एक धितोपत्र ब्रोकरले भने, ‘पछिल्ला कारोबार दिनमा नेप्सेको वृद्धिदर पनि कम छ भने कारोबार रकमले पनि सहायता गरेको छैन ।’

यो अवस्थालाई लगानीकर्ताले धेरै कारोबार गर्न नचाहेको रूपमा बुझ्नुपर्ने उनको भनाइ छ । अघिल्लो दिनको तुलनामा मंगलबार नेप्से परिसूचक ०.२३ प्रतिशतले बढेपछि समग्र नेप्से २ हजार ७ सय ७६.९० बिन्दुमा उक्लेर बन्द भएको छ । उक्त दिन कारोबारमा आएकामध्ये १४२ कम्पनीको सेयर मूल्य बढ्दा १०७ वटा कम्पनीको घट्यो । यसरी सेयर मूल्य घट्नेभन्दा बढ्ने कम्पनी बढी भएपछि समग्र नेप्से ६.५१ अंकले बढेको हो । 

मंगलबार ६१ हजार ७ सय ८४ पटकको कारोबारमा १ करोड ३१ लाख २४ हजार ३ सय १० कित्ता सेयर किनबेच भए । उक्त किनबेचमा ५ अर्ब ६३ करोड ६५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम घटेको हो । सोमबार ६७ हजार ९ सय ५९ पटकको कारोबारमा १ करोड १५ लाख २९ हजार ८ सय २१ कित्ता सेयर किनबेच भएका थिए ।

उक्त किनबेचमा ६ अर्ब १७ करोड ९८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । उक्त दिन कारोबारमा आएका १३ उपसमूहकै परिसूचक बढेपछि समग्र नेप्सेको वृद्धिमा टेवा पुगेको हो । तर, सबै परिसूचकको वृद्धिदर १ प्रतिशतभन्दा कम छ । यसकारण सबै उपसमूहको परिसूचक उकालो लाग्दा पनि समग्र नेप्सेमा साढे ६ अंकको झिनो वृद्धि भएको हो । 

मंगलबार पनि जलविद्युत् कम्पनीका लगानीकर्ताले धेरै कमाएका छन् । कारोबारमा आएकामध्ये सान्भी इनर्जीको सेयर मूल्य ६.९८, पियोर इनर्जीको ६.०९, इस्टर्न हाइड्रोपावरको ४.५८ प्रतिशतले बढ्यो । सिटी होटलको सेयर मूल्य ३.५८ र एनआईसी एसिया सेलेक्ट फण्ड ३० को सेयर मूल्य ३.४४ प्रतिशतले बढेको छ । नारायणी डेभलपमेन्ट बैंक, युनाइटेड मोदी हाइड्रोपावर, नेपाल एसबीआई ऋणपत्र २०८९, लक्ष्मी उन्नति कोष र युनियन हाइड्रोपावरले सबैभन्दा धेरै गुमाएका छन् ।

कान्तिपुर संवाददाता

Link copied successfully