पोखरामा २ सय ८१ जनालाई ट्रेकिङ गाइड र पोर्टर तालिम

प्रशिक्षार्थीलाई मंगलबार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रमाणपत्र प्रदान गरे । उक्त अवसरमा मुख्यमन्त्री पाण्डेले दक्ष जनशक्ति पर्यटन क्षेत्रको महत्वपूर्ण अंग भएको बताए ।

भाद्र ३, २०८२

अनुप पौडेल

Trekking guide and porter training for 281 people in Pokhara

कास्की — पर्यटन क्षेत्रमा रुचि भएका २ सय ८१ जनालाई ट्रेकिङ गाइड र पोर्टर तालिम प्रदान गरिएको छ । ट्रेकिङ एजेन्सिज् एसोसिएसन आफ नेपाल (टान) गण्डकीको आयोजनामा पोखरामा उनीहरुलाई तालिम दिइएको हो । 

२ सय २१ जनाले २८ दिनको ट्रेकिङ गाइड र ६० जनाले १५ दिनको पोर्टर गाइड तालिम लिएका हुन् । ट्रेकिङ गाइड तालिम लिनेमध्ये २४ जना असफल भएको टान गण्डकी अध्यक्ष कृष्ण आचार्यले बताए । ‘प्रमाणपत्र पाउने सबै लाइसेन्स पाउन योग्य हुनुभएको छ । त्यही प्रमाणपत्रको आधारमा पर्यटन कार्यालयबाट लाइसेन्स प्राप्त हुन्छ,’ उनले भने । 

प्रशिक्षार्थीलाई मंगलबार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रमाणपत्र प्रदान गरे । उक्त अवसरमा मुख्यमन्त्री पाण्डेले दक्ष जनशक्ति पर्यटन क्षेत्रको महत्वपूर्ण अंग भएको बताए । 

नेपालको प्रचारप्रसार र प्रवर्द्धनमा ट्रेकिङ गाइड र ट्रेकिङ पोर्टर गाइडले राजदूतको भूमिका खेल्न सक्ने उनले बताए । ट्रेकिङ रुट मासिँदै गएकाले सरकारले वैकल्पिक रुट निर्माणमा बजेट व्यवस्थापन गरेको उनको भनाइ थियो ।   

नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथुम) को सहकार्य र नेपाल पर्यटन बोर्ड गण्डकीको प्रवर्द्धनमा जेठ २६ देखि पोखरामा तालिम सुरू भएको थियो । 

अनुप

Link copied successfully