ढिला गरी भएको रोपाइँ र खेतीयोग्य जमिनमा रोपाइँ कम हुँदा उत्पादन घट्छ । आयात पनि स्वाभाविक रूपमा बढ्छ ।
What you should know
काठमाडौँ — समयमै मनसुन सक्रिय भए पनि मधेश, गण्डकी र कोशीमा राम्ररी पानी नपर्दा यस वर्ष खेतीयोग्य जमिनमध्ये करिब ५ प्रतिशतमा अझै रोपाइँ भएको छैन । भदौ १ सम्म ९४.६ प्रतिशतमा मात्रै रोपाइँ भएको बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रको तथ्यांक छ ।
‘अब आउने तथ्यांक अन्तिम हो, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा रोपाइँ सकिइसकेको छ,’ कृषि तथा पशुपन्छी विकास मन्त्रालयका एक अधिकारीले भने, ‘खडेरीका कारण मधेशमा राम्रो रोपाइँ भएन । कोशी र गण्डकीमा पनि उस्तै छ । अब हुने रोपाइँको खासै महत्त्व हुँदैन, राम्रो प्रतिफल आउँदैन ।’
रोपाइँ ढिला भएकै कारण धानको बीउ छिप्पिएको छ । जग्गा खाली राख्नुभन्दा ढिलै भए पनि केही क्षेत्रमा रोपाइँ भएको छ । तर उत्पादन सोचेअनुसार नहुने मन्त्रालयको विश्लेषण छ । मुलुकका लागि करिब १२ लाख टन धान अपुग रहेको मन्त्रालयले जनाएको छ । ढिला गरी भएको रोपाइँ र खेतीयोग्य जमिनमा रोपाइँ कम हुँदा उत्पादन घट्छ । आयात पनि स्वाभाविक रूपमा बढ्छ । गत आर्थिक वर्षमा २० अर्ब ३५ करोडको ५ लाख टन धान (बीउसहित) आयात गरिएको भन्सार विभागले बताएको छ ।
१८ अर्ब ६६ करोडको २ लाख ४१ हजार टन चामल आयात भएको विभागको तथ्यांक छ । गत आर्थिक वर्ष २०८१/८२ मा ५९ लाख ५५ हजार ४ सय ७६ टन धान उत्पादन भएको थियो । यो परिमाण आर्थिक वर्ष २०८०/८१ को भन्दा २ लाख ३१ हजार २ सय ४२ टन बढी हो । करिब दुई लाख टन उत्पादन बढे पनि अर्बौं रुपैयाँको धान–चामल आयात गरिएको थियो ।
‘धानको राजधानी मानिने मधेशमै रोपाइँ हुन सकेको छैन । ढिला गरी भएको रोपाइँले उत्पादन कस्तो दिने हो, त्यसमा पनि बाढीपहिरोको जोखिम कायमै छ,’ मन्त्रालयका ती अधिकारीले भने, ‘उत्पादन घट्नेमा दुईमत छैन । तर कति घट्छ, अहिल्यै भन्न सकिन्न ।’ यस वर्ष भदौ १ सम्म मधेशमा ८६.३५ प्रतिशत मात्रै रोपाइँ भएको छ ।
केन्द्रका अनुसार मधेशमा ३ लाख ७० हजार १ सय ४५ हेक्टरमा बर्खे धान रोपाइँ हुन्छ । यसमध्ये ३ लाख १९ हजार ६ सय २६.७८ हेक्टरमा रोपाइँ भएको छ । गत वर्ष भने यतिबेला ९७ प्रतिशत जग्गामा रोपाइँ भइसकेको थियो । कोशीमा २ लाख ७६ हजार ३ सय ८६.७३ हेक्टरमा रोपाइँ हुन्छ । यस वर्ष भदौ १ सम्म यस प्रदेशमा ९६.६७ प्रतिशत रोपाइँ भएको छ । गत वर्ष ९९ प्रतिशत रोपाइँ भएको थियो ।
गण्डकीमा भने ९४.८३ प्रतिशत मात्रै रोपाइँ भएको छ । जब कि गत वर्ष यस प्रदेशमा ९८ प्रतिशत रोपाइँ भएको थियो । गण्डकीमा ९४ हजार १ सय ८२ हेक्टरमा बर्खे धान रोपाइँ हुन्छ । चार वटा प्रदेशमा रोपाइँ सकिए पनि अन्य प्रदेशमा थप एक सातासम्म रोपाइँ हुने केन्द्र प्रमुख केशव देवकोटाले जनाए । बागमती, लुम्बिनी, कर्णाली, सुदूरपश्चिममा रोपाइँ सकिएको केन्द्रले बताएको छ । यी ४ प्रदेशमा मात्रै गत वर्षको तुलनामा २ हजार १ सय ४२.१६६ हेक्टर खोतीयोग्य जमिनमा रोपाइँ भएन ।
केन्द्रको तथ्यांकअनुसार बागमतीमा २ हजार ५.२१ हेक्टर खेतीयोग्य जमिनमा रोपाइँ भएन । बागमतीमा १ लाख १५ हजार ६ सय २१.२५ हेक्टरमा बर्खे धान रोपाइँ हुन्छ । यस वर्ष ९७.२७ प्रतिशत अर्थात् १ लाख १२ हजार ४ सय ५९.८२ हेक्टरमा रोपाइँ भएको छ । जब कि गत वर्ष बागमतीमा ९९ प्रतिशत अर्थात् १ लाख १४ हजार ४ सय ६५.०३७५ हेक्टरमा रोपाइँ भएको थियो ।
सुदूरपश्चिममा ४ सय ९९ हेक्टरमा रोपाइँ भएन । सुदूरपश्चिममा १ लाख ७६ हजार १ सय ५१ हेक्टरमा धान रोपाइँ हुन्छ । यस वर्ष १ लाख ७५ हजार ६ सय ५२ हेक्टरमा मात्रै धान रोपाइँ भएको छ । यो ९९.७२ प्रतिशत हो । गत वर्ष भने यहाँ शतप्रतिशत रोपाइँ भएको थियो ।
लुम्बिनीमा २ सय २२.७८ हेक्टरमा रोपाइँ बढेको छ । यस प्रदेशमा ३ लाख २ हजार ९ सय ३९ हेक्टरमा रोपाइँ हुन्छ । यस वर्ष भदौ १ सम्म २ लाख ९७ हजार १ सय ३ हेक्टरमा रोपाइँ भएको छ । यो ९८.०७ प्रतिशत हो । गत वर्ष भने ९८ प्रतिशत मात्रै रोपाइँ भएको थियो । कर्णालीमा १ सय ३९.२६४ हेक्टरमा रोपाइँ बढेको छ । यस प्रदेशमा ४१ हजार ४२ हेक्टरमा धान रोपाइँ हुन्छ । यस वर्ष ४० हजार ७ सय ७०.८४४ हेक्टरमा रोपाइँ भएको छ । यो ९९.३४ प्रतिशत हो । गत वर्ष भने ९९ प्रतिशत मात्रै रोपाइँ भएको केन्द्रले जनाएको छ ।
