नाइट रनमा १० किलोमिटर खुल्ला, स्कुलस्तरीय र भेट्रान्स दौड हुनेछ, जसमा विभिन्न उमेर समूहका खेलाडीले सहभागिता जनाउनेछन्।
नेपालगन्ज — नेपालको एकमात्र रात्री दौड नेपालगन्ज १० नाइट रनमा यस वर्ष रिले दौड विधासमेत समावेश गरिएको छ । विश्व दौडको साझा संस्था एसोसियसन अफ इन्टरनेसनल म्याराथन एन्ड डिस्टेन्स रेस(एम्स)बाट मान्यता प्राप्त गरेपछि पहिलो पटक हुन लागेको नाइट रनको यो दोस्रो संस्करण हो । एम्सद्वारा यसअघि नै प्रमाणीकरण रुटमै रात्रि दौडसमेत सञ्चालन हुनेछ ।
असोज ३ गते संविधान दिवसको दीप प्रज्वलनसँगै सुरु हुने नाइट रनमा १० किलोमिटर पुरुष र महिला खुल्ला, ५ किलोमिटर छात्र एवं छात्रा स्कुलस्तरीय दौड, १० किलोमिटर भेट्रान्स पुरुष(५० वर्षमाथि उमेर समूह),
५ किलोमिटर भेट्रान्स महिला(४५ वर्षमाथि उमेर समूह) र १० किलोमिटर मिक्स रिले(चार जनाको समूह दौड) गरी अलग स्पर्धा राखिएको छ ।
मिक्स रिले नेपालमा पहिलोपटक प्रयोग गर्न लागिएको हो । यसमा स्कुल, कलेज, क्लब वा कुनै पनि संघसंस्थाले महिला पुरुष गरी चार जनाको समूह बनाएर स्पर्धा गर्न सकिने रेस डाइरेक्टर चन्द्रबहादुर गुरुङले बताए ।
