रसुवागढी र तातोपानी नाका बन्द हुँदा सयौँ कन्टेनर र ट्रक बाटामै अलपत्र परेका र व्यवसायीले चर्को व्ययभार व्यहोर्नु परेको संघले जनाएको छ ।
What you should know
काठमाडौँ — नेपाल समुद्रपार निकासी पैठारी संघले वर्षायाममा बाढी-पहिरोका कारण बारम्बार अवरुद्ध हुने रसुवागढी र तातोपानी नाकाको विकल्पका रूपमा चीनसँगका अन्य नाका तत्काल सञ्चालनमा ल्याउन सरकारलाई आग्रह गरेको छ ।
गत असार २४ मा आएको बाढीले रसुवागढीस्थित मितेरी पुल बगाएपछि नेपाल–चीन आवागमन ठप्प भएको छ भने तातोपानी नाकासमेत दुई सातादेखि अवरुद्ध छ । नाका बन्द हुँदा सयौँ कन्टेनर र ट्रक बाटामै अलपत्र परेका र व्यवसायीले चर्को व्ययभार व्यहोर्नु परेको संघले जनाएको छ ।
व्यवस्थापिका संसद्को विकास समितिले २०७२ सालमै कोरला र ओलाङचुङगोला नाका सञ्चालन गर्न सकिने सुझाव दिएको थियो । दुई मुलुकबीच एक दशकअघि सातवटा उत्तरी नाका खोल्ने सहमति भए पनि हालसम्म रसुवागढी र तातोपानी बाहेक अन्य नाका व्यापारिक प्रयोजनका लागि नखुलेको संघका महासचिव जयन्तकुमार अग्रवालले बताए ।
संघका अनुसार मुस्ताङको कोरला १२ महिना नै सञ्चालन गर्न सकिने छ । कोरला नाकाको चीनतर्फ पूर्वाधार तयार भइसकेको छ भने नेपालतर्फ सडक पहुँच पुगिसकेको छ ।
ओलाङचुङगोला नाकाबाट पनि दुई मुलुकबीचको व्यापार सञ्चालन गर्न सकिने अध्ययनले देखाएको अग्रवालको भनाइ छ । संघले नाकाहरू छिटोभन्दा छिटो सञ्चालन गर्न माग गरिएको छ ।
चीन नेपालका लागि आयात व्यापारमा दोस्रो ठूलो साझेदार हो । भन्सार विभागका अनुसार आर्थिक वर्ष २०८१/८२ मा रसुवागढी नाकाबाट ८५ अर्ब रुपैयाँ र तातोपानी नाकाबाट ५० अर्ब रुपैयाँभन्दा बढीको सामान आयात भएको छ । संघले चाडपर्व लक्षित आयातमा अवरोध सिर्जना हुने, उपभोक्ता सुलभ मूल्यमा वस्तुबाट वञ्चित हुने र सरकारले पाउनुपर्ने राजस्व गुम्ने अवस्था दोहोरिन नदिन वैकल्पिक नाका तत्काल खोल्नुपर्नेमा जोड दिएको छ ।
