अस्तव्यस्त तातोपानी नाका, करोडौं मूल्यका व्यापारिक सामान बाटैमा अलपत्र

स्याउ, अंगुर, लसुन, आँप बोकेका ६५ वटा ठूला चिनियाँ कन्टेनर तिब्बतको नेलाम क्षेत्रमा अलपत्र छन् । तातोपानी नाकामा स्याउ बोकेका १७ वटा कन्टेनर रोकिएका छन् । 

श्रावण २२, २०८२

ऋषिराम पौड्याल

Unsettled Tatopani border, commercial goods worth crores stranded on the way

What you should know

काठमाडौँ — गत असार २४ को भोटेकोशीको बाढीले रसुवागढी बन्द भएपछि चीनसँगको आयात व्यापारको अन्तिम विकल्प तातोपानी नाका मात्र हो । तर तातोपानी नाकाको मितेरी पुलबाट करिब २ किमि काठमाडौंतर्फ भोटेकोशी गाउँपालिका–२ कोदारीमा गएको पहिरोले सातादेखि यातायात अवरुद्ध हुँदा व्यापारिक कारोबार अस्तव्यस्त भएको छ भने मान्छे आउजाउ गर्नसमेत कठिन भएको छ । 

यातायात अवरुद्ध भएपछि अहिले व्यापारिक सामान बोकेका सयौं कन्टेनर नेपाल र चीनको सीमा क्षेत्रमा अड्किएका छन् । मानसरोबर आउजाउ गर्ने तीर्थयात्री हिँडेरै वारपार गर्न बाध्य छन् । स्याउ, लसुन, अंगुर,आँपलगायतका फलफूल तथा मसलाजन्य वस्तु कन्टेनर भित्रै सड्न थालेको गुनासो व्यवसायीले गरेका छन् । 

रसुवा नाका बन्द भएपछि व्यापारिक करोबार र तीर्थयात्रीको आउजाउ तातोपानीमा केन्द्रित भएका कारण नाका अस्तव्यस्त भएको हो । 

सडकलाई तल्लो भागबाट भोटेकोशीले कट्टान गरिरहने र माथिल्लो भागबाट माटोको लेदो बगिरहने समस्या तीन महिनादेखि बेलाबेलामा बल्जिने गरेको छ । बर्सात् नरोकिएसम्म समस्या तत्कालै समाधान हुने अवस्था देखिएको छैन ।

गत जेठदेखि नै अस्थायी रुपमा पहिरो पन्छाएर कन्टेर खुलाउने र पहिरो आएपछि फेरि बन्द हुने भइरहेको थियो । सडक विभागको डोजर प्रयोग गरेर स्थानीय व्यवसायीसमेतको सहयोगमा दिनको एक पटक व्यापारिक कन्टेनरहरु भन्सार हातमा भित्र्याउने गरिएको थियो । लार्चास्थित सुख्खा बन्दरगाहभन्दा करिब साढे ६ किमि सीमातर्फ सडक अवरुद्ध हुँदै आएको छ । 

Unsettled Tatopani border, commercial goods worth crores stranded on the way

अरनिको राजमार्गको बाह्रबिसे–तातोपानी खण्डको सीमा जोड्ने सडक जताततै पहिरोको जोखिममा छ त्यसमा पनि कोदारी पहिरोले थप समस्या पारेको छ । स्याउ, लसुनलगायतका खाद्यवस्तु कुहिने सम्भावना बढेको छ भने करोडौंमा व्यापारिक सामान बोकेका कन्टेनरहरु बाटैमा अलपत्र भएका छन् । 

व्यापारीहरुले आफ्नो सम्पत्ति असुरक्षित भएको गुनासो गर्न थालेका छन् । स्याउ व्यापारमा संलग्न स्थानीय व्यवसायी शारदा पराजुलीले स्याउ, अंगुर लसुन, आँप बोकेका ६५ वटा ठूला कन्टेर तिब्बतको नेलाम क्षेत्रमा अलपत्र अवस्थामा रहेको छ । चिनियाँ ६० कन्टेनर सामान नेपाली डेढ सयभन्दा बढी कन्टेनर हुनेगर्छ । 

नेपालतर्फ तातोपानी नाकामा स्याउ बोकेका १७ वटा नेपाली कन्टेर पहिरोका कारण भन्सार भित्रन पाएका छैनन् । बर्सात् भएपछि सडक बग्ने र घाम लागेपछि डोजर लगाएर खेलाउने गरिँदै आएको थियो ।  बुधबार भने माथिल्लो भागबाट ठूलो ढुंगा खसेर बग्दै गरेको सडकको बीचमा अड्किएको छ । उक्त ढुंगा हटाउने क्रमममा डोजरले माटो पन्छाउँदा बस्ती नै खतरामा पर्ने भन्दै स्थानीयले विरोध जनाएका छन् । 

उनीहरुले दैनिक डोजर चलाएर कुनातर्फको भाग कटिङ गर्दा आफूहरुको बस्ती बग्न थालेको बताएका छन् । पहिरो क्षेत्रमा पर्ने भोटेकोशी गापा–२ का अध्यक्ष कुमार श्रेष्ठले बर्सेनि अर्बौं राजस्व उठ्ने नाकालाई नियमित रुपमा सञ्चालन गर्न संघीय सरकारले बेवास्ता गरेको गुनासो गरे । 

उनले पहिरोले गाउँनै बगाउन लागेकाले स्थानीयले विरोध जनाउनु स्वभाविक भएको बताए । यातायात सञ्चालन गर्ने कि गाउँ जोगाउने समस्या भएको उनले बताए । सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष बुद्धराज बस्नेतले पहिरो निरन्तर बगिरहेकाले यातायात सञ्चालन हुने समय झन् अनिश्चित बन्दा कारोबार चौपट भएको बताए ।

Unsettled Tatopani border, commercial goods worth crores stranded on the way

सातादेखि सडक खुलाउन फिल्डमा रहेका अध्यक्ष बस्नेतले यसअघि पनि डोजरकै सहायताले दैनिक केही समय यातायात सञ्चालन गरेर कन्टेनरहरु पार गरेर व्यापार चलाएको जानकारी दिए । रसुवा भन्सार पूर्ण रुपमा बन्द भएपछि चीनसँग स्थलमार्ग भएर गरिने व्यापारको एउटै मात्र नाका जोडिएको तातोपानीको सडक व्यवस्थित गर्न सरकारी अधिकारीहरु गम्भिर नभएको दुखेसो बस्नेतले पोखे । 

तातोपानी भन्सार अधिकृत सूर्य काफ्लेले सडक अवरुद्ध भएकाले राजस्व संकलनमा प्रत्यक्ष प्रभाव परेको बताए । सडक अवरुद्ध हुने क्रम जेठबाटै सुरु भएको उनले बताए । भन्सारको यो महिनाको राजस्व ३६ प्रतिशत मात्र संकलन भएको छ । काफ्लेले भने, ‘बेलाबेलामा हुने सडक अवरुद्धका कारण भन्सार कारोबार प्रभावित हुँदै आएको छ ।’ 

मानसरोवार जाने सयौं तीर्थयात्रु बाटैमा अलपत्र भएका छन् । सामान बोकेका र खाली कन्टेनर तथा तीर्थयात्री लिन र पुर्‍याउन गएका यात्रु बसहरुले सडक ढाकेको छ । बुधबार एकै दिन ११ सय तीर्थयात्री तातोपानी नाका भएर आउजाउ गरेका छन् । आउजाउमा समस्या हुँदा तातोपानीका होटलहरुमा तीर्थयात्री खचाखच रहेका छन् ।

रसुवा बन्द भएपछि मानसरोबर जाने तीर्थयात्री तातोपानीतर्फ आएका हुन् । अहिले रसुवातर्फको केरुङको गोदाममा रहेको तयारी पोशाक लगायतका मालवस्तु तातोपानीबाटै ल्याउनुपर्ने बाध्यता रहेको छ । तातोपानी नाकाबाट नेपाल ल्याउनुपर्ने झण्डै ६ सय कन्टेनर केरुङमा रहेको व्यापारीहरु बताउँछन् । 

उक्त सामान तातोपानी नाका भएर नेपाल भित्रन सडक खुल्नुपर्छ । वाणिज्य संघका अध्यक्ष बस्नेत पर्याप्त इक्युमेन्ट र निर्माण सामग्रीको उपलब्धता नभएसम्म सडक अस्थायी खुलाउन पनि कठिन भएको बताउँछन् ।

Unsettled Tatopani border, commercial goods worth crores stranded on the way

व्यवसायी पराजुलीले स्याउलगायतका फलफूल गन्हाउन सुरु गरिसकेको जानकारी दिएका छन् । उनले भने, ‘छिट्टै ल्याउन नसक्ने हो भने खेर जाने निश्चित छ ।’ गत वर्ष पनि बाढीपहिरोका कारण केरुङ र तातोपानी नाका बन्द हुँदा करोडौं रुपैयाँ मूल्यको स्याउ तिब्बती भू–भागमा फ्याँकेको स्मरण गर्दै पराजुलीले हरेक वर्ष यस्तै अवस्था आउने गरेको बताए । 

तातोपानीमा यो समस्या चार वर्षदेखि दोहोरिरहेको छ । गतवर्ष असोज ११ र १२ को बाढीले लिपिङ खोलाको पक्की पुल र भोटेकोशीमा ह्युमपाइप राखेर बनाएको अस्थायी सडक बगाएको थियो । सीमा क्षेत्रमा पर्ने भोटेकोशी गाउँपालिका, नेपाल हिमालय सीमापार वाणिज्य संघ, सिन्धुपाल्चोक उद्योग वाणिज्य संघ, कन्टेनर व्यवसायीलगायतका संघ संस्था र व्यवसायीहरुको समूहले नाकालाई व्यवस्थित गर्न अर्थमन्त्री विष्णु पौडेलमार्फत् सरकारको ध्यानाकर्षण गराउँदै आएका छन् । 

तातोपानी भन्सारको चालु वर्षको राजस्व संकलन लक्ष्य झण्डै २५ अर्ब रहेको छ । रसुवा पूर्ण रुपमा बन्द भएपछि व्यापारिक चाप थपिने भएकाले राजस्व संकलन बढ्ने निश्चित छ । तर सडकको अवस्था भने सुधार हुन सकेको छैन ।

ऋषिराम पौड्याल कान्तिपुरका संवाददाता हुन् । उनी निजामती प्रशासन, संसदीय मामिला, संघीयता र राजस्वसँग सम्बन्धित रिर्पोटिङ गर्छन् ।

Link copied successfully