सहकारी नियमन प्राधिकरणको चार्टर्ड एकाउन्टेन्ट सदस्यमा खनाल, सञ्चालक समितिले पायो पूर्णता

लोकसेवा आयोगका अध्यक्ष माधव रेग्मीको अध्यक्षतामा प्राधिकरणका अध्यक्ष र विज्ञ सदस्य पदमा नियुक्तिका लागि एक समिति गठन गरिएको थियो ।

भाद्र २, २०८२

कान्तिपुर संवाददाता

Khanal, Chartered Accountant Member of Co-operative Regulatory Authority, Board of Directors got fullness

काठमाडौँ — सरकारले राष्ट्रिय सहकारी नियमन प्राधिकरणको चार्टर्ड एकाउन्टेन्ट सदस्यमा महेश खनाललाई नियुक्त गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले प्राधिकरणको सदस्यमा खनाललाई नियुक्त गरेका हुन् ।

गत साता मात्र सरकारले प्राधिकरणको विज्ञ सदस्यमा रमेश चौलागाईंलाई नियुक्त गरेको थियो । आज (सोमबार) विज्ञ सदस्य चौलागाईं र चार्टर्ड एकाउन्टेन्ट खनालले एकैपटक पद तथा गोपनीयताको सपथ लिनेछन् ।

चौलागाईं नेपाल राष्ट्र बैंकका उपनिर्देशक हुन् भने खनालले यसअघि नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था, लेखापरीक्षणमान बोर्डलगायतको नेतृत्व सम्हालिसकेका छन् ।

प्राधिकरणको अध्यक्षमा सरकारले यसअघि नै खगराज शर्मालाई नियुक्त गरिसकेको छ । सदस्यहरुमा नेपाल राष्ट्र बैंकबाट कार्यकारी निर्देशक गुरुप्रसाद पौडेल र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट सहसचिव मदन कोइराला रहेका छन् । उनीहरु पदेन सदस्य हुन् ।

लोकसेवा आयोगका अध्यक्ष माधव रेग्मीको अध्यक्षतामा प्राधिकरणका अध्यक्ष र विज्ञ सदस्य पदमा नियुक्तिका लागि एक समिति गठन गरिएको थियो । समितिको सिफारिसका आधारमा सरकारले अध्यक्ष र विज्ञ सदस्य नियुक्त गरेको हो ।

कान्तिपुर

Link copied successfully