देशकै दुई ठूला भन्सार कार्यालय वीरगन्ज भन्सार कार्यालय र सिर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालय गाभिएको पहिलो महिनामा यो भन्सारले यति परिमाणमा राजश्व संकलन गर्न सकेको हो ।
What you should know
पर्सा — चालु आर्थिक वर्षको पहिलो अर्थात् साउन महिनामा वीरगन्ज भन्सार कार्यालयले १८ अर्ब ३९ करोड ६७ लाख रुपैयाँ राजश्व संकलन गरेको छ । यो मासिक लक्ष्यको ८७ दशमलव ६८ प्रतिशत मात्र हो । यो महिनामा २० अर्ब ९८ करोड २१ लाख रुपैयाँ राजश्व संकलनको लक्ष्य यो भन्सारले पाएको थियो ।
देशकै दुई ठूला भन्सार कार्यालय वीरगन्ज भन्सार कार्यालय र सिर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालय गाभिएको पहिलो महिनामा यो भन्सारले यति परिमाणमा राजश्व संकलन गर्न सकेको हो ।
वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछाने पेट्रोलियम पदार्थको आयातमा कमी र वर्षायाम पनि भएकाले मासिक राजश्व असुली लक्ष्य भेट्टाउन नसकिएको बताउँछन् । तर गत आर्थिक वर्षको साउन महिनामाभन्दा चालु आवको साउन महिनामा भने बढी राजश्व संकलन गर्न सफलता मिलेको उनले बताए ।
गत आवको साउन महिनामा यो भन्सारले १२ अर्ब १६ करोड ३२ लाख रुपैयाँ राजश्व संकलन गरेको थियो । उक्त महिनामा १६ अर्ब ८६ करोड रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य थियो । यसरी तुलनात्मक रूपमा गत आव साउन महिनाको लक्ष्यभन्दा पनि बढी यो चालु आवको साउन महिनामा यो भन्सारले राजश्व संकलन गरेको उनले बताए ।
चालु आर्थिक वर्षका लागि यो भन्सारले २ खर्ब ७३ अर्ब ३९ करोड ४८ लाख रुपैयाँ राजश्व संकलनको लक्ष्य पाएको छ । साउन मसान्तसम्ममा वार्षिक लक्ष्यको ६ दशमलव ७३ प्रतिशत राजश्व संकलन भएको छ ।
देशकै सर्वाधिक राजश्व संकलन गर्ने भन्सारको रूपमा चिनिँदै आएको वीरगन्ज भन्सार कार्यालयले इन्धन र नयाँ सवारी साधनको आयातबाट सबैभन्दा बढी राजश्व संकलन गर्छ । त्यसपछि मदिरा,फलामजन्य वस्तु तथा विभिन्न औद्योगिक कच्चा पदार्थको आयातबाट पनि उल्लेख्य राजश्व संकलन गर्छ ।
कोलकाता, हल्दिया र विशाखापटनम बन्दरगाहसँग भौगोलिक सामिप्यता तथा हाल रेलमार्गबाट पनि जोडिन गएकाले यो भन्सार नाकाबाट आयात निर्यात कार्य देशका अन्य नाकाभन्दा बढी हुने गरेको छ ।
