ब्याज आय घट्दा पनि ४३ प्रतिशतले बढ्यो बैंकहरूको नाफा

खुकुलो नीतिले नोक्सानी व्यवस्थामा कमी, ऋण असुली र गैरब्याज आयमा वृद्धिले बढ्यो नाफा, २० वाणिज्य बैंकमध्ये १६ वटाले नाफा बढाए, ४ ले घटाए

श्रावण ३१, २०८२

यज्ञ बञ्जाडे

Profit of banks increased by 43 percent even though interest income decreased

What you should know

काठमाडौँ — अर्थतन्त्र चलायमान बन्न नसकेकाले बजार माग अपेक्षित रूपमा बढ्न नसकिरहेका बेला आर्थिक वर्ष २०८१/८२ मा वाणिज्य बैंकहरूले औसत ४३ प्रतिशतले नाफा बढाएका छन् ।

गत आर्थिक वर्षमा १२ प्रतिशतले कर्जा विस्तार गर्ने राष्ट्र बैंकको लक्ष्य भए पनि गएका १२ महिनामा मुस्किलले ८ प्रतिशत हाराहारी ऋण प्रवाह भएको छ । गत आर्थिक वर्षमा सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये १६ वटाले नाफा बढाएका छन् भने ४ ले घटाएका छन् । 

गत आर्थिक वर्षभर औसतमा हरेक महिना ६ खर्ब अधिक तरलता रहेको अवस्थामा पनि मौद्रिक नीतिमार्फत गरिएका खुकुलो नीतिका कारण नोक्सानीबापत् कम रकम छुट्याउनुपरेको, सरकारले निर्माण व्यवसायीको रकम भुक्तानी गरेकाले उनीहरूको ऋण असुली भएको, शुल्क आय बढेको लगायत कारण औसतमा बैंकहरूको नाफा बढेको हो । 

बैंकहरूले प्रकाशन गरेको वित्तीय विवरणअनुसार गत आार्थिक वर्ष २०८१/८२ मा वाणिज्य बैंकहरूले कुल ७१ अर्ब ५१ करोड रुपैयाँ खुद नाफा कमाएका छन् । अघिल्लो आर्थिक वर्षको तुलनामा यो करिब ४३ प्रतिशतको वृद्धि हो । बैंकहरूले प्रकाशन गरेको अपरिष्कृत वित्तीय विवरणले गत आर्थिक वर्षको चौथो त्रैमासमा बैंकहरूको नाफा करिब ४३.३९ प्रतिशतले बढेको देखाएको हो । आर्थिक वर्ष २०८०/८१ मा सञ्चालनमा रहेका २० वाणिज्य बैंकको कुल नाफा ४९ अर्ब ८७ करोड रुपैयाँ थियो । 

अघिल्लो वर्षको तुलनामा गत वर्ष बैंकहरूको खराब कर्जा नोक्सानीबापत्को व्यवस्था घटेकाले धेरै बैंकको नाफा बढेको देखिएको नेपाल बैंकर्स संघका पूर्वअध्यक्ष भुवन दाहालले बताए । ‘केही बैंकको सञ्चालन नाफा बढेको छ, केहीको घटेको छ । शुल्क आय (गैरब्याज आय) बढेको छ, सँगै खर्च पनि बढेको छ,’ उनले भने, ‘समग्रमा वित्तीय अवस्था सुधारोन्मुख छ । खराब कर्जाबापत्को सम्पत्ति (एनपीए) अघिल्लो वर्षको तुलनामा घटेको छैन, झन् बढेको छ । अघिल्लो वर्ष खराब कर्जाबापत् नोक्सानी व्यवस्था धेरै गर्नुपरेको थियो । गत वर्ष त्यसबापत् कम रकम छुट्याउनुपरेको छ । यसले नाफामा वृद्धि देखिएको हो ।’ 

बैंकहरूको शुल्क आय बढ्नुको अर्थ आर्थिक गतिविधि बढेको रूपमा बुझ्नुपर्ने दाहालको भनाइ छ । प्रतिस्पर्धाले गर्दा ब्याज आयमा केही कमी भए पनि अन्य शुल्क बढ्नुले आयातका लागि प्रतीतपत्र (एलसी) खुलेका साथै आर्थिक गतिविधि चलायमान हुन लागेको संकेतका रूपमा लिनुपर्ने उनको भनाइ छ । 

सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये चौथो त्रैमासमा १६ वटाको नाफा बढेको छ, बाँकी ४ वटाको घटेको छ । नाफा बढ्ने बैंकहरूमध्ये पनि केहीको वृद्धिदर निकै अस्वाभाविक (उच्च दर) रहेको देखिन्छ । ती बैंकमध्ये केहीको वृद्धिदर शतप्रतिशतले बढेको छ भने केहीको त्योभन्दा धेरैले पनि वृद्धि भएको देखिन्छ । यसको कारण बैंकहरूले गत वर्षको चौथो त्रैमासको अपरिष्कृत तथ्यांक अघिल्लो आर्थिक वर्षको परिष्कृत (अडिट भएको) तथ्यांकसँग तुलना गर्नु नै हो । जहिले पनि बैंकहरूको गतवर्षको यही अवधिको विवरणसँग नै तुलना गर्ने हो । गत वर्ष बैंकहरूले प्रकाशन गरेको चौथो त्रैमासको अपरिष्कृत तथ्यांकको तुलनामा परिष्कृत तथ्यांकबीच धेरै फरक परेकाले त्यसको तुलनामा यस वर्ष नाफा धेरैले बढेको देखिएको हो । 

सरल भाषामा भन्दा बैंकहरूले गतवर्ष अपरिष्कृत वित्तीय विवरणमा देखाएको नाफाभन्दा परिष्कृत (लेखापरीक्षण भएको) विवरणमा नाफा धेरै कम देखाएका थिए । यसरी त्यही कम नाफाको तुलनामा गत वर्षको अपरिष्कृत विवरणको नाफा तुलना गर्दा ती बैंकहरूको नाफा धेरैले अकासिएको देखिएको एक बैंकरले बताए । 

यसरी नाफा वृद्धिदर धेरै हुने बैंकमा कुमारी, नेपाल, राष्ट्रिय वाणिज्य, प्रभु बैंकलगायत छन् । बैंकहरूको अपरिष्कृत र परिष्कृत तथ्यांकमा १५/२० प्रतिशतसम्मको फरक स्वाभाविक मानिए पनि धेरै अन्तर पर्नु राम्रो अभ्यास नभएको नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाको भनाइ छ । केही बैंकको अघिल्लो वर्षको अपरिष्कृत र परिष्कृत विवरणमा ठूलो फरक देखिएको स्वीकार गर्दै उनले भने, ‘यो राम्रो अभ्यास होइन । यद्यापि त्यस्तो केही रहेछ भने नियामक निकायले हेर्ला ।’

वित्तीय विवरणअनुसार चौथो त्रैमासमा सबैभन्दा धेरै नाफा गर्ने बैंक नबिल छ । सबैभन्दा कम नाफा भने एनआईसी एसिया बैंकको छ । नबिल बैंकले गत वर्ष ७ अर्ब १२ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । सोही अवधिमा एनआईसी बैंकको नाफा १६ करोड १५ लाख रुपैयाँ मात्र छ । गत वर्ष नेपाल इन्भेस्टमेन्ट र ग्लोबल आईएमई बैंकले ६ अर्बभन्दा बढी नाफा आर्जन गर्दा प्रभु बैंकको नाफा ५ अर्ब ४४ करोड रुपैयाँ छ । 

एभरेस्ट, कृषि विकास, लक्ष्मी सनराइज र प्राइम बैंकले ४ देखि ५ करोडसम्म नाफा कमाएका छन् । राष्ट्रिय वाणिज्य, नेपाल, सिद्धार्थ, एनएमबी र स्ट्यान्डर्ड चार्टर्ड बैंकको नाफा ३ अर्ब देखि ४ अर्बसम्म छ । सानिमा, कुमारी र माछापुच्छ्रे बैंकको नाफा २ देखि ३ अर्बभित्र रहँदा नेपाल एसबीआई, हिमालयन र सिटिजन्स् बैंकको नाफा १ देखि २ अर्बसम्म देखिन्छ । 

असुलीमा सुधार भएपछि तेस्रो त्रैमासको तुलनामा चौथो त्रैमासमा मुनाफा बढेको ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीको भनाइ छ । ‘गत आर्थिक वर्षको तेस्रो त्रैमासमा प्रायः वाणिज्य बैंकको वितरणयोग्य नाफा ऋणात्मक थियो, चौथो त्रैमासमा उनीहरूको लाभांश वितरण क्षमता बढेको छ,’ उनले भने, ‘चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत कर्जाको पुनर्संरचना, पुनर्तालिकीकरणलगायत नीतिगत व्यवस्था गरिएको छ । यसले पनि नाफा वृद्धिमा सहयोग गरेको छ । त्योभन्दा धेरै असुलीमा सुधार भएकाले नाफामा सुधार देखिएको होला ।’ 

समग्रमा वित्तीय क्षेत्र सुधारको बाटोमा देखिन्छ । थोरै बैंकको वितरणयोग्य नाफा घटे पनि प्रायःको बढेको छ । बैंकहरू औसत १२/१३ प्रतिशतका दरले लाभांश वितरण गर्न सक्ने अवस्थामा देखिन्छन् । यसले पनि वित्तीय क्षेत्र सुधारोन्मुख अवस्थामा रहेको पुष्टि हुने रेग्मीले बताए । 

चालु आर्थिक वर्षको मौद्रिक नीतिमा गरिएका सहज व्यवस्थाले पनि बैंकहरूको नाफा वृद्धिमा टेवा पुगेको बैंकहरूको भनाइ छ । लचिलो नीतिगत व्यवस्था र कर्जा असुलीमा सुधार भएपछि गत वर्ष बैंकहरूको खराब कर्जाबापत्को नोक्सानी व्यवस्था पनि घटेको छ । यसअनुसार गत असारसम्म बैंकहरूको कुल नोक्सानी व्यवस्था साढे २८ अर्ब रुपैयाँ छ । जब कि अघिल्लो वर्ष यस्तो व्यवस्थाबापत् बैंकहरूले ५५ अर्ब ९८ करोड रुपैयाँ छुट्याएका थिए ।

नाफा बढेपछि गत आर्थिक वर्षमा बैंकहरूको खुद ब्याज आय घटेको छ । यसअनुसार अघिल्लो वर्ष १ खर्ब ९२ अर्ब ६४ करोड रुपैयाँ रहेको कुल ब्याज आय गत वर्ष १ खर्ब ९० अर्ब ५३ करोड रुपैयाँ मात्र छ । गत आर्थिक वर्षमा बैंकहरूको लाभांश दिने क्षमता (वितरणयोग्य मुनाफा) २१ अर्ब ६३ करोड रुपैयाँ छ । यसका आधारमा बैंकहरूले औसतमा १३.२९ प्रतिशत लाभांश दिन सक्ने देखिन्छ । 

गत आर्थिक वर्षको अन्त्यसम्म बैंकहरूको खराब कर्जा बढेर औसत ४.१ प्रतिशत कायम रहेको देखिन्छ । अघिल्लो आर्थिक वर्ष यस्तो कर्जा ३.७४ प्रतिशत थियो ।

यज्ञ बञ्जाडे कान्तिपुरका पत्रकार हुन् । उनी सरकारी वित्त, बैंकिङ, पुँजीबजार लगायतका आर्थिक विषयमा समाचार/टिप्पणी लेख्छन् ।

Link copied successfully