अहिले क्षेत्रीले किवी खेती गरेर राम्रो उत्पादन र आम्दानी गर्न थालेपछि छिमेकीहरु पनि जन्मथलो छाड्ने मनस्थितिमा छैनन् ।
What you should know
अर्घाखाँची — स्थायी शिक्षकको जागिर छाडेर राजनीतिसँगै सन्धिखर्कमा केही सयम होटल व्यवसाय गरेका गोखुंगाका पदम क्षेत्रीले चारवर्ष अघि मालारानी गाउँपालिका–९ गोखुंगास्थित कालुकाठे गाउँको ४१ रोपनी क्षेत्रफलको पाखोबारी र खर्यान किने ।
दोलखा पुगेर किवी खेतीको अध्ययनपछि काठमाडौंमा तालिम लिएका उनले किवी खेती गर्ने सोच बनाए । उनले स्थानीय सरस्वती आधारभूत विद्यालयका प्रधाध्यापक कृष्ण पौडेल र जीवलाल पौडेललाई साझेदार बनाए ।
दुर्गम गाउँ कालुकाठेमा मोटर पुगेको थिएन । उनैले बाटो खनेर गाउँमा मोटर पुर्याए । बाँझो जमिनलाई खनेर सम्याएपछि दोलखाबाट किवीका विरुवा ल्याएर लगाए । चार वर्षमै किवी लटरम्मै फल्यो ।
‘शुरुमा फलेका दानामा बाँदरले खान खोजेको थियो,’ क्षेत्रीले भने, ‘दानामा झुस भएकाले खानै सकेन । त्यसपछि हामी ढुक्क भयौं ।’ वन्यजन्तुले यसअघि अन्नबाली, तरकारी, फलफूल नोक्सान गरेर गाउँलेलाई हैरानी पारेको थियो । बाली जोगाउन नसक्दा केही गाउँले यहाँबाट बसाइँसराइ पनि गरेका थिए ।
अहिले किवी नोक्सान गर्न नसकेपछि बाँदर अन्यत्रै गयो । उनको मालारानी कृषि तथा पशुपक्षी फार्ममा ४ सय किवीका बोट भित्र थरीथरीका तरकारी, निउरो, काक्रा, फर्सी, घिरौला, बोडीसीमि, कुरिलो, तरुल, पीडालु, सख्खर लगायतका कन्दमुल र मसालाबाली पनि उत्पादन भएको छ ।
एउटै बारीमा किवीसँगै थरीथरीका उत्पादनले आम्दानी दोब्बर छ । मकै खेती पनि राम्रो छ । फार्मभित्र भैँसी, लोकल कुखुरा, खसीबोका पनि पालिएका छन् । पशुबाट किवी र अन्यबालीलाई मल र मासुजन्य पशु बिक्रीबाट पनि आम्दानी भएको छ ।
क्षेत्री २०७४ र ०७९ को स्थानीय तह निर्वाचनमा कांग्रेस, राष्ट्रिय जनमोर्चा, नेकपा एकीकृत समाजवादी लगायतका दलको सहयोगमा माओवादीबाट दुई पटकसम्म मालारानी गाउँपालिकाको अध्यक्ष पदमा उम्मेदवार थिए । अहिले उनी एमालेमा समाहित भएका छन् । एमाले जिल्ला सचिवालय सदस्य क्षेत्रीले राजनीति, सामाजिक कार्य र कृषिकर्मलाई सँगसँगै अगाडि बढाएका छन् ।
‘२०४७ सालमै म स्थायी शिक्षक थिएँ, जागिर छाडेर राजनीतिमा लागेँ,’ उनले भने, ‘अब मेरो पेन्सन यही किवी हो । एउटा बोटले ६० वर्षसम्म निरन्तर फल दिन्छ ।’ किवी गतवर्ष प्रतिकिलो दुई देखि तीन सय रुपैयाँमा सन्धिखर्क बजारमा बिक्री भएको थियो । बोटमा किवीका दाना लटरम्मै फलेका छन् । जति उत्पादन गरेपनि बिक्री नहुने भन्ने चिन्ता उनलाई छैन ।
वन्यजन्तुको हैरानीकै कारण घरजग्गा बिक्री गरेर र यत्तिकै छाडेर बसाइँसराइ गर्नेको लहर थियो । अहिले क्षेत्रीले किवी खेती गरेर उत्पादन गर्न थालेपछि छिमेकीहरु पनि जन्मथलो छाड्ने मनस्थितिमा छैनन् । उनीहरु पनि किवी खेती गर्ने सोचमा छन् ।
‘किवी नयाँ खेती हो,’ जीवलाल पौडेलले भने, ‘उत्पादन कस्तो हुन्छ भन्ने अन्योल थियो । अहिले लटरम्मै फल्यो र बजारमा माग धेरै छ, हामीलाई किवीले नै भविष्य बदल्छ भन्नेमा ढुक्क छौं ।’ किवी खेतीलाई थप व्यवस्थित गर्दै उत्पादनलाई वृद्धि गर्ने उनले सुनाए । बाँझो बारी खनेर किवी खेती राम्रो उत्पादन भएको देख्दा गाउँले दंग छन् ।
आफ्नो फार्मभित्र मात्रै नभएर सिंगो गाउँलाई किवी खेतीमा आवद्ध गर्ने र घरैपिच्छे आम्दानीको स्रोत बनाएर कृषि उद्यमबाटै युवालाई स्वरोजगार बनाउने लक्ष्य रहेको क्षेत्रीको भनाइ छ ।
