बजेट अभावले माग जति मल आयात गर्न सकिने अवस्था छैन : कृषिमन्त्री अधिकारी

प्रतिनिधिसभामा बोल्दै मन्त्री अधिकारीले चालु आर्थिक वर्षको बजेटले १३ लाख टन मलको माग धान्न नसकिने स्पष्ट पारे।

श्रावण २९, २०८२

कान्तिपुर संवाददाता

Due to lack of budget, it is not possible to import as much fertilizer as required: Agriculture Minister Adhikari

काठमाडौँ — कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले वार्षिक मलको माग १३ लाख टन भए पनि चालु आर्थिक वर्षमा ६ लाख टन मात्र आपूर्ति गर्ने सरकारको योजना रहेको जानकारी दिएका छन् । 

प्रतिनिधिसभाको बिहीबारको बैठकमा सभाको आकस्मिक र शून्य समयमा उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री अधिकारीले चालु आर्थिक वर्षमा मलको लागि उपलब्ध बजेटले माग धान्न नसकिने बताएका हुन्  ।

'हाल वार्षिक मलको माग १३ लाख टन रहेको मन्त्रालयको प्रक्षेपण रहेको छ । चालु आर्थिक वर्षमा ६ लाख टन आपूर्ति गर्ने सरकारको योजना छ । मलमा अत्यधिक अनुदान रहेको कारण पनि उपलब्ध बजेटले माग सम्बोधन गर्ने गरी मल ल्याउन सकिएको छैन । अहिले युरियामा ८२ प्रतिशत, डिएपीमा ६४ प्रतिशत र पोटास मलमा ४९ प्रतिशत मल अनुदान रहेको म निवेदन गर्न चाहन्छु,' मन्त्री अधिकारीले भने ।  

खरिद गरी ल्याइने ९० प्रतिशत मल वैज्ञानिक आधारमा जहाँ बढी खपत हुन्छ,  त्यहाँ नै प्रदेश सरकारमार्फत वितरण गर्ने व्यवस्था मिलाइएको पनि उनले बताए ।

प्रदेशको कोटाअनुसार पालिकालाई मल वितरण गरिने र पालिकाले सहकारी तथा सहकारी नभएका स्थानमा एग्रोभेट वा निजी फर्ममार्फत कार्यक्षेत्रअनुसार वितरण गर्ने व्यवस्था मिलाइएको मन्त्री अधिकारीको भनाइ छ । उनले मल वितरण प्रक्रियालाई वैज्ञानिक र पारदर्शी बनाइएको समेत दाबी गरे । 

कान्तिपुर संवाददाता

Link copied successfully