बैंकर्स संघ र भिसाबीच सहकार्यको सम्झौता

सम्झौताअन्तर्गत नेपालको वित्तीय क्षेत्रमा साइबर सुरक्षासम्बन्धी जनचेतना र क्षमता अभिवृद्धि गर्नका लागि विभिन्न कार्यक्रम र गतिविधि सञ्चालन गरिने छ ।

श्रावण २९, २०८२

कान्तिपुर संवाददाता

Cooperation agreement between Bankers Association and Visa

काठमाडौँ — नेपाल बैंकर्स एसोसिएसन (एनबीए) र भिसाबीच सहकार्यको सम्झौता भएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच यी निकायबीच सहकार्यको सम्झौता भएको हो ।

सम्झौताअन्तर्गत नेपालको वित्तीय क्षेत्रमा साइबर सुरक्षासम्बन्धी जनचेतना र क्षमता अभिवृद्धि गर्नका लागि विभिन्न कार्यक्रम र गतिविधि सञ्चालन गरिने छ ।

‘विश्वव्यापी डिजिटल भुक्तानीको अग्रणी कम्पनी भिसासँग बैंकर्स संघले लामो समयदेखि सहकार्य गर्दै आएको छ । नयाँ सम्झौतापछि भिसाले साइबर सुरक्षामा रणनीतिक ध्यानकेन्द्रित गर्दै विभिन्न कार्यक्रमहरु सञ्चालन गरिनेछ,’ नेपाल बैंकर्स संघका प्रमुख कार्यकारी अधिकृत अनिल शर्माले भने, ‘संयुक्त पहलअन्तर्गत प्रदेशस्तरीय गतिविधिहरू तथा सरोकारवालासँग केन्द्रित अन्तरक्रिया कार्यक्रमहरू सञ्चालन गरिनेछ ।’

सम्झौताअन्तर्गत मुख्य रूपमा, यो साझेदारीअन्तर्गत नेपालका सबै प्रदेशहरूमा साइबर सुरक्षासम्बन्धी विभिन्न तालिम, प्रशिक्षणलगायत जानकारी तथा चेतनामूलक कार्यक्रम सञ्चालन गरिने बताइएको छ । ‘प्रदेशस्तरीय सहभागितालाई थप मजबुत बनाउन, सरोकारवाला, बैंक तथा वित्तीय संस्था र नियामक निकायका प्रतिनिधिहरुलाई समेटेर विभिन्न कार्यक्रम पनि आयोजना गरिनेछ,’ विज्ञप्तिमा भनिएको छ, ‘कार्यक्रममा भिसाका अधिकारीहरुको पनि सहभागिता रहने छ । जसबाट नेपालमा विदेशी सिप, ज्ञान, प्रविधि, विदेशी अभ्यास भित्र्याउन सकिनेछ ।’ 

विश्वका करिब २ सयभन्दा बढी देशमा भिसाले सेवा दिँदै आएको छ । यी देशहरुमा प्रयोग हुँदै आएको प्रविधि, साइबर सुरक्षालगायतमा अन्तर्राष्ट्रिय अभ्यासलगायत कुरा आदानप्रदान हुनेछ । सम्झौताले नेपालको भुक्तानी प्रणालीलाई थप सुदृढ बनाउन, साइबर सुरक्षासम्बन्धी जनचेतना र क्षमता अभिवृद्धिमा योगदान पुर्‍याउने दाबी दुबै पक्षको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully