धान गोड्ने बेला भएकाले किसानलाई भने मल आवश्यक छ । तर सहकारीले मल नलैजाँदा किसानले पाएका छैनन् ।
What you should know
परासी — किसानले मल नपाइरहेको समयमा कृषि सामग्री कम्पनी लिमिटेड परासीमा आएको मल गोदाममै थन्किएको छ । सहकारीमार्फत मल वितरण गर्दै आएकामा सहकारीले समयमै मल नलगेपछि गोदाममा मल थन्किएको हो ।
धान गोड्ने बेला भएकाले किसानलाई भने मल आवश्यक छ । तर सहकारीले मल नलैजाँदा किसानले पाएका छैनन् ।
भारतीय सीमासँग जोडिएका पालिकाका केही किसानले भारतीय बजार गएर मल ल्याए पनि अधिकांशले अभाव बेहोरिरहेका छन् । जिल्लामा ७७ वटा सहकारीमार्फत मल वितरण हुँदै आएको छ । तर अहिलेसम्म ३४ सहकारीले मात्र मल लगेका छन् । साउन १९ मा कृषि सामग्री लिमिटेडमा आएकोमध्ये १ सय ३६ टन गोदाममा छ ।
पालिकाले सिफारिस गरेअनुसार आफूहरूले मल वितरण गर्दै आएको कृषि सामग्री कम्पनीका शाखा परासीका प्रबन्धक ताराप्रसाद खनालको दाबी छ । मल आएको एक साता मात्र भएकाले केही सहकारीले मल लगेको र अन्यले पनि प्रक्रिया अगाडि बढाएको उनको भनाइ छ ।
सोमबारसम्म जिल्लाको सुस्ता गाउँपालिकाका १० वटा सहकारीमध्ये एउटाले मात्र मल वितरणका लागि लगेको छ । सुनवल नगरपालिकाका २० मध्ये ११, बर्दघाट नगरपालिकाका ८ मध्य ६, सरावल गाउँपालिकाका १३ मध्ये ८, पाल्हिनन्दन गाउँपालिकाका ४ मध्ये २, प्रतापपुर गाउँपालिकाका ८ मध्ये २ र रामग्राम नगरपालिकाका १६ मध्ये ४ वटा सहकारीले मात्र मल लगेका छन् ।
समयमा मल उपलब्ध नहुने र मल आए पनि पर्याप्त नहुँदा किसान समस्यामा परेको सुस्ता गाउँपालिका उपाध्यक्ष गीता चौधरीले बताइन् । पालिकाभित्रका सबै सहकारीले एक–दुई दिनभित्र नै मल ल्याएर वितरण गर्ने भन्दै आफ्नो पालिकालाई आवश्यक मल कृषि सामग्री कम्पनीले उपलब्ध गराउनुपर्ने उनको भनाइ छ । समयमा मल उपलब्ध नहुने र आए पनि पर्याप्त मल नपाउँदा सहकारीले मल वितरण गर्न आनाकानी गर्दै आएका छन् ।
