सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले चौलागाईं विज्ञ सदस्यमा नियुक्त गर्ने निर्णय गरेको हो ।
काठमाडौँ — सरकारले राष्ट्रिय सहकारी नियमन प्राधिकरणको विज्ञ सदस्यमा रमेश चौलागाईं नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले चौलागाईं विज्ञ सदस्यमा नियुक्त गर्ने निर्णय गरेको हो । चौलागाईं नेपाल राष्ट्र बैंकका उपनिर्देशक हुन् ।
लोकसेवा आयोगका अध्यक्ष माधव रेग्मीको अध्यक्षतामा प्राधिकरणका अध्यक्ष र विज्ञ सदस्य पदमा नियुक्तिका लागि गठित समितिले सीफारिस तीन जनामध्ये सरकारले चौलागाईंलाई नियुक्त गरेको हो । नवनियुक्त विज्ञ सदस्यलाई मंगलबार पत्र प्रदान गर्ने कार्यक्रम छ ।
समितिले विज्ञ सदस्यका लागि चौलागाईंसहित नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नारायणप्रसाद पौडेल र कानुन व्यवसायी शहदेव बस्नेतको नाम सिफारिस गरेको थियो ।
सरकारले यसअघि नै प्राधिकरणको अध्यक्षमा खगराज शर्मालाई नियुक्त गरिसकेको छ । अब प्राधिकरणको सञ्चालक समितिलाई पूर्ण बनाउन एक जना चार्टर्ड एकाउन्टेन्ट नियुक्त गर्न बाँकी छ ।
