एकै दिनमा ४६ अर्बले खुम्चियो सेयर बजारको आकार

नेप्से २८ अंकले घट्यो, ३० कम्पनीको सेयर मूल्य बढ्दा २ सय २० को घट्यो

श्रावण २६, २०८२

कान्तिपुर संवाददाता

The size of the stock market shrank by 46 billion in one day

What you should know

काठमाडौँ — सेयर बजारको आकार (कुल बजार पुँजीकरण) बिहीबार मात्र करिब ४६ अर्बले खुम्चिएको छ ।

गत बिहीबार ४७ खर्ब ५७ अर्ब रुपैयाँ कायम रहेको कुल बजार पुँजीकरण सोमबार ४७ खर्ब ११ अर्ब रुपैयाँ कायम भएको छ । सूचीकृत कम्पनीहरूको सेयर संख्यालाई सोही दिनको सेयर मूल्यले गुणा गरेर कुल बजार पुँजीकरण गणना गरिन्छ ।

सेयर बजारको आकार घट्नुलाई लगानीकर्ताको सम्पत्तिको मूल्य घटेका रूपमा पनि विश्लेषण गरिन्छ । सो दिन कारोबारमा आएका मध्ये अधिकांशको सेयर मूल्य घटेपछि समग्र कुल बजार पुँजीकरण पनि घटेको हो । सोमबार ३० कम्पनीको सेयर मूल्य बढ्दा २२० वटाको घटेको नेप्सेले जनाएको छ ।

सेयर कारोबार मापक नेप्से परिसूचक सोमबार २७.९० अंकले घट्यो । अघिल्लो कारोबार दिनको तुलनामा ०.९७ प्रतिशतले घटेपछि समग्र नेप्से २ हजार ८ सय २२.४६ अंकमा ओर्लेर बन्द भएको छ । आइतबार सार्वजनिक बिदा भएकाले सोमबारदेखि मात्र बजार खुलेको हो । यस दिन कारोबारमा आएकामध्ये ३० कम्पनीको सेयर मूल्य बढ्दा २ सय २० वटाको घट्यो ।

सोमबार ९८ हजार ५ सय २५ पटकको कारोबारमा २ करोड ५० लाख ९२ हजार ४ सय ९० कित्ता सेयर किनबेच भए । ती किनबेचमा १० अर्ब २१ करोड रुपैयाँ बराबरको सेयर कारोबार भयो । अघिल्लो कारोबार दिनको तुलनामा कारोबार रकम बढेको हो । गत बिहीबार ८ अर्ब ५३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

सोमबार कारोबारमा आएका १३ उपसमूहमध्ये सामूहिक लगानी कोष र अन्यबाहेक सबैको परिसूचक घटेपछि समग्र नेप्से करिब २८ अंकले घटेको हो । सो दिन सामूहिक लगानी कोष र अन्य उपसमूहको परिसूचक भने सामान्य अंकले सकारात्मक बनेका छन् । तीमध्ये विकास बैंक उपसमूहको परिसूचक २.३१, लघुवित्तको २.३५, वित्त कम्पनीको १.२७, जलविद्युत्को १.४१, लगानीको १.१७, निर्जीवन बिमाको १.२४ र व्यापारको १.४४ प्रतिशतले घटे । बैंकिङ, होटल तथा पर्यटन, जीवन बिमा र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक भने एक प्रतिशतभन्दा कमले घटेको नेप्सेको तथ्यांक छ ।

कान्तिपुर संवाददाता

Link copied successfully