संघीय सरकारले बेलहिया नाकामा उठाइने रुट इजाजत दस्तुर खारेज गरे पनि प्रदेश सरकारले असुली जारी राख्दा विवाद चुलिएको हो ।
What you should know
भैरहवा — संघीय सरकारले चालु बजेट वक्तव्यमार्फत खारेज गरेको भारत हुँदै अस्थायी रुपमा मुलुक प्रवेश गर्ने सवारीसाधनबाट असुलिने रुट इजाजत दस्तुरको संकलन प्रदेशले कायम राखेपछि विवाद सिर्जना भएको छ । पर्यटक बोक्ने गाडीबाट दस्तुर असुलउपर गरेर असुविधा बढाएको जनाउँदै सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खाँले रुपन्देहीको बेलहिया नाकास्थित एकीकृत जाँच चौकीमा रहेको दस्तुर असुली केन्द्र हटाउन निर्देशन दिएपछि विवाद चर्किएको हो ।
पर्यटकको सहजताका लागि निर्माण गरिएको एकीकृत जाँच चौकीमै बसेर यातायात व्यवस्था कार्यालय भैरहवाका कर्मचारीले रुट इजाजत दस्तुर संकलन गर्दै आएका थिए । शुक्रबार बेलहियास्थित चौकीमा पुगेर नगर प्रमुख खाँले पर्यटकलाई सुविधा प्रदान गर्न नगरपालिकाले निर्माण गरेको संरचनामा बसेर रकम असुली नगर्न निर्देशन दिएका थिए । ‘अहिले रुपन्देहीदेखि लिएर मुलुकका प्रमुख गन्तव्यमा यही नाका भएर पर्यटक गइरहेका छन्,’ नगर प्रमुख खाँले भने, ‘संघीय सरकारले खारेज गरेको शुल्क असुल्नु हुँदैन भन्ने हो ।’ पर्यटकलाई सम्पूर्ण सुविधा भन्सार बिन्दुमै उपलब्ध गराउन नगरपालिकाले निर्माण गरेको संरचनामा बसेर रुट इजाजात दस्तुर नउठाउनुस् भनेको उनले बताए ।
सरकारले आर्थिक वर्ष २०८२/२०८३ का लागि प्रस्तुत बजेटमा अस्थायी रुपमा मुलुक प्रवेश गर्ने यातायातका साधन सहजीकरण तथा सेवा प्रवाहमा सुधारअन्तर्गत ‘भन्सार बिन्दुमा महसुल संकलन गरेपश्चात् मुलुकभित्र यात्रा गर्दा संघ, प्रदेश वा स्थानीय तहबाट प्रवेश शुल्क, रुट दस्तुर वा अन्य कुनै महसुल उपर गर्न नपाइने व्यवस्था मिलाएको’ उल्लेख छ । पहिले भन्सार कार्यालय मातहत रहेर रुट इजाजत प्रदान गरिन्थ्यो । संघीय कानुन आइसकेपछि भन्सारले असुली रोकेर मातहत निकायमा जानकारी गराइसकेको जनाएको छ । 
भैरहवास्थित यातायात व्यवस्था कार्यालयका निमित्त प्रमुख नरबहादुर अर्यालले रसिद भण्डारण गरिएको कक्षमा ताला लगाइएकाले आइतबारबाट असुली प्रभावित भएको दाबी गरे । आइतबार बिहानैदेखि कर्मचारी एकीकृत जाँच चौकीमा तैनाथ भए पनि रसिद राखिएको कोठामा ताला लगाइएकाले रुट इजाजत दस्तुर संकलन रोकिएको उनले बताए । ‘चौकीमा रहेको कोठामा इलाका प्रहरी कार्यालयले ताला लगाएको रहेछ,’ उनले भने, ‘रसिद त्यहीँ कोठाभित्र रहेकाले काम प्रभावित बनेको हो ।’ समस्याबारे प्रदेशस्थित उद्योग, पर्यटन तथा यातायातमन्त्री र सचिवलाई जानकारी गराइसकेको उनले बताए । प्रदेशले यस्तो दस्तुर सडक सवारी, यातायात तथा परिवहन ऐन २०७६ को दफा ११ सँग सम्बन्धित रहेको जनाएको छ ।
प्रदेश मातहतको यातायात व्यवस्था कार्यालयमार्फत दस्तुर असुली भइरहेको छ । चालु वर्षको प्रदेश आर्थिक ऐनमा सवारीका साधन वर्गीककरण गरेर मोटरसाइकल वा स्कुटरको दुई सय, साता सवारीसाधनको तीन सय, मझौलाको ७ सय र ठूला सवारीसाधन प्रवेश गरेबापत १ हजार रुपैयाँ संकलन गरिरहेको छ । प्रदेश सरकाले चालु वर्षको आर्थिक ऐनमा व्यवस्था गरेर रुट दस्तुर उठाइरहेको हो । प्रदेशभित्रका बाटो प्रयोग गरे बापतको शुल्क संकलन गरिएको यातायात कार्यालयको भनाइ छ ।
प्रदेशस्थित उद्योग, पर्यटन तथा यातायातका सचिव नारद गौतमले केन्द्रले चालु वर्षको बजेटमा पटके शुल्क खारेज गरे पनि कार्यान्वनका लागि आर्थिक विधेयकमा नदेखिएको बताए । ‘प्रदेशको क्षेत्राधिकार प्रयोग गरेर हामीले दस्तुर उठाइरहेका हौं,’ गौतमले भने, ‘मेयर साबलाई अप्ठ्यारो लाग्दैमा रोकिँदैन, संविधानको एकल अधिकारको विषय हो ।’ संकलन रोकिनका लागि प्रदेश सरकारले निर्णय गर्नुपर्ने उनको भनाइ छ । बेलहिया नाकाबाट वार्षिक १५/१६ करोड राजस्व संकलन भइरहेको उनले बताए । ‘कि यति रकम केन्द्रले दिनुपर्यो,’ उनले भने, ‘प्रदेश सरकारको राजस्वका स्रोत सीमित छन्, यो राजस्व पनि गुमाउँदा प्रदेश सरकारलाई मर्का पर्ने हो ।’ चालु वर्षको आर्थिक ऐनमा व्यवस्था गरेर संकलन भइरहेकाले प्रदेश मन्त्रिपरिषदले निर्णय लिएपछि मात्र रोकिने उनको भनाइ छ ।
यहाँका पर्यटन व्यवसायीले दोहोरो शुल्क असुलीले पर्यटन प्रभावित भएको र चहलपहल घटेको गुनासो गरेपछि संघीय सरकारले दस्तुर खारेज गर्ने निर्णय गरेको थियो । उक्त निर्णयविपरीत प्रदेश सरकारले साबिककै स्थानमा कर्मचारी खटाएर दस्तुल असुलउपर कायम राखेपछि रुपन्देहीका उद्योगी व्यवसायीले विरोध जनाइरहेका छन् । सीमा नाका बेलहियामा रहेको एकीकृत जाँच चौकीमा सशस्त्र प्रहरीको निगरानीमा यातायात कर्मचारीले शुल्क संकलन गर्दै आएका छन् । पर्यटन व्यवसायीका अनुसार रुट इजाजत असुलीका कारण रुपन्देहीको बेलहिया नाका हुँदै मुलुक प्रवेश गर्ने सवारीका साधन अहिले ‘डाइभर्ट’ भएका छन् ।
