क्षतिग्रस्त आयोजना मर्मतसम्भारपछि आयोजनाले पहिलो चरणमा क्षमताको ५० प्रतिशत मात्र विद्युत् उत्पादन गरिरहेको छ ।
What you should know
हेटौंडा — गत असोज ११ र १२ को अविरल वर्षाले बागमतीमा आएको बाढीले क्षतिग्रस्त मान्डु हाइड्रोपावरले विद्युत् उत्पादन पुनः सुरु गरेको छ । पुनर्निर्माण सकेर मान्डु हाइड्रोपावरले विद्युत् पुनः उत्पादन सुरु गरेको हो ।
आयोजनाले पहिलो चरणमा क्षमताको ५० प्रतिशत मात्र विद्युत् उत्पादन गरेको छ । मान्डु हाइड्रोपावरको विद्युत् उत्पादन क्षमता २२ मेगावाट हो । ‘पुनर्निर्माण सकेर पहिलो चरणमा ११ मेगावाट विद्युत् उत्पादन गरिरहेका छौं,’ मान्डु हाइड्रोपावरका वरिष्ठ प्राविधिक मनोज सिंहले भने, ‘अब छिट्टै नै पूर्ण क्षमताका साथ विद्युत् उत्पादन गर्नेछौं । केही प्राविधिक समस्या भएकाले क्षमताको ५० प्रतिशत मात्र विद्युत् उत्पादन गरेका हौं ।’
बागमतीमा आएको बाढीले क्षतिग्रस्त हाइड्रोपावर पुनर्निर्माण गत मंसिरमा सुरु गरिएको थियो । बागमती खोलाको बाढीपहिरोले मकवानपुरस्थित भीमफेदी गाउँपालिका–८ बागमती दोभानमा उत्पादन गृह राखेर विद्युत् उत्पादन गर्दै आएको मान्डु हाइड्रोपावरको हेडवर्क्स, पावरहाउस, पेनस्टक पाइप र विद्युत्को टावर क्षतिग्रस्त बनाएको थियो । २०७५ सालदेखि २२ मेगावाट विद्युत् उत्पादन गर्दै आएको हाइड्रोपावरमा बाढीले एक अर्बभन्दा बढी क्षति पुर्याएको प्रमुख सञ्चालक अधिकृत सुन्दर श्रेष्ठले बताए ।
‘बागमतीमा आएको बाढीले हाइड्रोपावरलाई कल्पनै नगरेको क्षति पुर्यायो, त्यसको मर्मतसम्भार गरेर पुनः विद्युत् उत्पादन सुरु गरेका छौं,’ श्रेष्ठले भने । सिस्नेरी बजारदेखि आयोजनास्थल पुग्ने सडक नै बाढीले क्षतविक्षत बनाएको थियो ।
निजी क्षेत्रको मान्डु हाइड्रोपावर कम्पनी र चिनियाँ कम्पनीको संयुक्त लगानीमा बागमतीको पानीबाट विद्युत् उत्पादन गरिएको छ । सिइच्वाङ हेइच्वाङ कम्पनीको सहयोगमा मान्डु हाइड्रोपावर कम्पनीले चार अर्ब लगानीमा २०७२ जेठबाट बागमती साना जलविद्युत् आयोजनाको निर्माण सुरु गरेको थियो । २०७५ चैत १९ मा उक्त आयोजनाको उद्घाटन गरिएको थियो । उत्पादित विद्युत् मान्डु हाइड्रोपावर कम्पनीले नेपाल विद्युत् प्राधिकरणसँग वर्षायाममा प्रतियुनिट ४ रुपैयाँ ४० पैसामा र हिउँदमा ८ रुपैया ४० पैसामा बिक्री गर्ने सम्झौता गरेको थियो ।
आयोजनाको पावरहाउसबाट कुलेखानी प्रथमको सबस्टेसन साढे १३ किलोमिटरको दूरीमा छ । कुलेखानी प्रथमको सबस्टेसनसम्म उत्पादित विद्युत् पुर्याउन ४२ वटा टावर निर्माण गरिएको छ । त्यसमध्ये दुई टावरलाई बाढीले क्षतिग्रस्त बनाएको थियो ।
